काठमाडौं । केहीअघिसम्म काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्युरोडलगायतका क्षेत्रमा फुटपाथ व्यापार खुबै मौलाएको थियो । जसकारण आर्थिक गतिविधि पनि तीव्र बनेको थियो । फुटपाथको व्यापारले धेरै मानिसले रोजगारीसँगै आम्दानी पनि राम्रै गर्थे । तर जब काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले फुटपाथ व्यापार रोक्ने नीति लिए, त्यसबेलादेखि मुख्य सहरी क्षेत्रमा आर्थिक कारोबार ठप्प जस्तै बनेको छ ।
साँझको समयमा फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय सञ्चालन गर्न नदिने निर्णय महानगरपालिकाले गरेको हो । दिउँसोको समयमा केही कडाइ गरे पनि महानगरपालिकाले साँझको समयमा भने फुटपाथमा व्यापार गर्न रोक लगाएको थिएन । तर सहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था आएको भन्दै महानगरपालिकाले साँझको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको हो ।
बेलुकी ६ देखि राति १० बजेसम्म फुटपाथ अतिक्रमण नियन्त्रण गर्न महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । फुटपाथमा व्यापार गर्नेको सामान जफत गरेपछि परिमाणअनुसार एकदेखि पाँच हजार रुपैयाँ जरिवाना तिराएर छोडिँदै आएकोमा अहिले सामान फिर्ता नगरेर लिलामी गर्ने गरी प्रक्रिया अघि बढाइएको छ ।
जहाँ बढी भिडभाड हुन्छ, त्यहीँ व्यापार व्यवसाय फस्टाउने हो । काठमाडौंका कोर र मुख्य मुख्य सहरी क्षेत्रमा हुने भिडभाडले अर्थतन्त्र पनि चलायमान बनाएको थियो । तर काठमाडौंलाई सुन्दर र सफा राख्ने नाममा पार्किङ क्षेत्रदेखि फुटपाथ व्यापारमा समेत रोक लगाइयो । फुटपाथमा मकै पोलेर बेच्ने, पानीपुरी बेच्ने, नाङ्ला पसल, रेडिमेड कपडा बेच्ने, सानातिना पसल सञ्चालन हुँदै आएको थियो । तर काठमाडौं महानगरको नीति तथा कार्यक्रममा मेयर साहले फुटपाथको व्यापारलाई रोक लगाई व्यापारिक कार्य व्यवस्थित गर्ने घोषणा गरे । जसकारण फुटपाथ त हटाइयो, तर व्यापारिक कार्य व्यवस्थित बनाइएन । अहिले फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका धेरैजसो पलायन भइसकेका छन् ।
फुटपाथ व्यापारकै कारण काठमाडौंमा धेरै सहकारी र फाइनान्स चलेका थिए । तर जबदेखि फुटपाथ हटाइयो, सहकारीहरूले दैनिक बचत गर्ने मान्छे फेला पार्न छाडे । अहिले अधिकांश सहकारी डुब्नु र समस्याग्रस्त हुनुमा फुटपाथको व्यापार हटाउनुलाई पनि अर्को कारण मानिएको छ । सहकारी सञ्चालकहरूले फुटपाथ व्यापारमा रोक नलगाउन भन्दै महानगर प्रमुख बालेनकहाँ डेलिगेसन नै गएका थिए । तर बालेनले कुनै चासो नै दिएनन् । नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुुलुकमा फुटपाथ व्यापारलाई समय छुट्याएर सञ्चालन गर्न दिनुपर्ने आमनेपालीको माग छ । तर काठमाडौंलाई सुन्दर र आकर्षक बनाउने नाममा आर्थिक गतिविधि नियन्त्रण गर्न बालेनले जसरी अभियान चालेका छन्, त्यो उनको गम्भीर गल्ती भएको देखिएको छ ।
काठमाडौंको न्युरोड, खिचापोखरी, असन, बागबजार, दरबारमार्गलगायतका क्षेत्रमा विगतमा सडकमै मिलाएर पार्किङ राख्ने गरिन्थ्यो । जसकारण किनमेल गर्न जाने सहजै पसलमा सामान किन्थे र फर्किन्थे । तर पछिल्लो समय मोटरसाइकल, कार हुनेहरू ती क्षेत्रमा किनमेल गर्न जानै चाहँदैनन् । जसकारण ती क्षेत्रमा व्यापार व्यवसाय चौपट बनेको छ । सहरका मुख्य क्षेत्रका सटर खाली हुनुको कारण पनि फुटपाथको व्यापारमा लगाइएको रोक भएको अर्थविद्हरूले बताउँदै आएका छन् ।




