काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली कामदार विदेश पठाउने नाममा चक्रपथस्थित नमस्ते नेपाल म्यानपावरले ठगी धन्दा चलाउँदै आएको छ । सरकारको कालोसूचीमा परिसकेको यो म्यानपावरले सरकारले तोकेकोभन्दा कयौं गुणा बढी नेपाली कामदारहरुबाट पैसा असुलिरहेको छ । तर वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उसको लूटमा आँखा चिम्लिने गरेका छन् ।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै कम्पनीले दश हजारको बिल बनाएर न्यूनतम एक लाखदेखि तीन लाखसम्म रुपैयाँ असुल्ने गरेको छ । महाराजगञ्ज चक्रपथस्थित अस्ट्रेलियन दूतावासको अपोजिट साइटमा रहेको नमस्ते नेपालको म्यानेजिङ डाइरेक्टर कञ्चन खकोली र एकाउन्टेन्ट म्यानेजर अनिल खकोली छन् ।
नमस्ते नेपाल म्यानपावरले खोटाङका बाबुराम विष्टलाई दुबईमा राम्रो कम्पनीमा काम लगाइदिने भन्दै झन्डै दुई लाखमा पठाएका थिए । तर यतिबेला विष्ट न रोजगारीमा छन्, न उनले आफूले तिरेको पैसा नै फिर्ता पाएका छन् । उनलाई कम्पनीले १० महिनादेखि झुलाएर काठमाडौंमा राखी अहिले जे सकेको गर भनेर धम्की दिने गरेको विष्टले गुनासो गरे ।
केही अघिसम्म कम्पनीका सञ्चालक खकोलीले विष्टलाई अर्कै देशमा रोजगारीमा पठाउने आश्वास दिँदै आएका थिए । तर झन्डै एक वर्ष बितिसक्दा पनि उनलाई विदेश पठाउन सकेको छैन । विष्टले बारम्बार म्यानपावर कम्पनीलाई विदेश पठाइदिन आग्रह गरे पनि बेवास्ता गरेपछि उनले आफूले कम्पनीलाई तिरेको एक लाख ८० रुपैयाँ फिर्ता गरिदिन माग गरेका छन् । उनी झन्डै एक वर्षदेखि काठमाडौंको एक होटलमा बसेर विदेश जाने प्रतीक्षामा छन् ।
‘होटल साहुले पैसा मागेर हैरान बनाइसके । न म्यानपावर कम्पनीले मलाई विदेश उडाउँछ, न त पैसा नै फिर्ता दिन्छ । दशैं आइसक्यो, घर जाने पैसासमेत छैन,’ उनले भने ।२०७९ चैत ७ गते नमस्ते नेपालले विष्टलाई ट्याक्सी ड्राइभरको रुपमा १५ सय बेसिक तलब निर्धारण गरेर दुबईको तावासुल ट्रान्सपोर्ट कम्पनीमा पठाएको थियो । म्यानपावरले त्यसबापत विष्टबाट एकमुस्ट एक लाख ८० हजार रुपैयाँ लिएको थियो ।
सम्झौताअनुसार दुवईको तावासुल कम्पनीमा गएर तीन महिनासम्म आठ सय रुपैयाँ र खान बस्नको सुविधा दिने र तीन महिनापछि ट्याक्सी ड्राइभिङ लाइसेन्स लिएपछि १५ सयदेखि तीन हजार दिरामसम्म पाउने सम्झौतामा उल्लेख थियो । गएको तीन महिनामै विष्टले ड्राइभिङ लाइसेन्स प्राप्त गरे । तर उनले गएको सुरुको महिनादेखि नेपाली ६ सय रुपैयाँभन्दा बढी तलब पाउन सकेनन् ।
सम्झौताबमोजिमको काम र निर्धारण गरेको तलब नपाएपछि आफू गएको म्यानपावर कम्पनीलाई सम्झौताबमोजिमको काम र सेवासुविधा नपाएको भन्दै सम्पर्क गर्दा नमस्ते नेपाल म्पानपावरकी म्यानेजिङ डाइरेक्टर कञ्चन खकोलीले सम्झौताअनुसार गरिदिने बताएकी थिइन् । तर त्यसपछि उनी सम्पर्कमै आउन चाहिनन् ।
म्यानपावर कम्पनीले बेवास्ता गरेपछि विष्टले दुबईस्थित तावासुल कम्पनीलाई सम्झौताबमोजिम सेवासुविधा उपलब्ध गराइदिन अनुरोध गर्दा कम्पनीले रातको १२ बजे जबर्जस्ती निकालिदिएर अलपत्र पारेको उनले दुःखेसो पोखे । रोजगार कम्पनीले सडकमा अलपत्र पारिदिएपछि विष्टले नेपालस्थित आफन्तलाई आग्रह गरेर झिकाइदिन भने । कम्पनीले निकालिदिएपछि विष्ट २०७९ मंसिर १८ गते साथीसँग ऋणसापट लिएर नेपाल फर्केका थिए ।
नेपाल आएलगत्तै विष्टले म्यानपावर कम्पनीमा गएर आफूले दुःख पाएको गुनासो सुनाए । उनले अब आफू विदेश नजाने भन्दै पैसा फिर्ता माग गरे । तर कम्पनीले पैसा कुनै पनि हातलमा फिर्ता नदिने, बरु पुनः तीन महिनाभित्र रोजगारीमा पठाइदिने भन्दै विष्टलाई आश्वास दियो । तर १० महिना बितिसक्दा समेत म्यानपावर कम्पनी रोजगारीमा पठाउन वा पैसा फिर्ता गर्नबाट पन्छिँदै आएको विष्टले सुनाए ।
उनले म्यानपावर कम्पनीको ज्यादतीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिने बताउँदा म्यानपावर सञ्चालकले उजुरी दिए जे पनि हुने धम्की दिएको विष्टको भनाइ छ । असोज २९ गते नमस्ते नेपालकी डाइरेक्टर कञ्चन खकोली र एकाउन्टेन्ट अनिल खकोलीले अब आफूहरूले केही गर्न नसक्ने भन्दै पन्छिएको उनको गुनासो छ ।
काठमाडौँको होटलमा बसेको १० महिनासम्मको खर्च, दुबईबाट नेपाल आउँदा लागेको टिकट खर्च, दुबई जाँदा नमस्ते नेपाल म्यानपावरलाई तिरेको एक लाख ८० हजार रुपैयाँकोे साउँव्याजले आफू उठ्नै नसक्ने अवस्थामा रहेको उनको भनाइ छ ।







