राजनीति

यसकारण कोशीमा निहुँ खोज्ने पक्षमा छैन माओवादी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई माओवादीले विश्वासको मत दिने भएको छ । सोमबार बसेको माओवादी प्रदेश सचिवालय बैठकले केन्द्रीय समितिको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो । एमालेका ३९ सांसद र नेपाली कांग्रेसबाट विद्रोह गरेका आठजना सांसदको समर्थनमा शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भई आइतबार सपथ लिएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धनले दिँदै आएको दबाबबीच कार्कीले एमालेसहितको सरकार गठन गरेका छन् । एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेर सपथ लिएपछि विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचन रोक्न कांग्रेसका प्रदेश सांसदले गरेको विद्रोह र गठबन्धनका कारण सत्ताबाट बाहिरिनुपरेको अवस्थामा पनि कांग्रेस सांसद कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेले दिएको समर्थनलाई संस्थागत गर्न प्रदेश सांसदहरूले दबाब दिएपछि उनी तत्काल विश्वासको मत लिने पक्षमा पुगेका हुन् । प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई सोमबार दिएका हुन् । नियमअनुसार विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिन अगाडि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था छ ।

एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीको शपथ माओवादीले बहिष्कार गरेको थियो । आफ्नो पार्टीबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका इन्द्र आङ्बोलाई सरकार बनाउनबाट रोकेको भन्दै माओवादी सांसदहरू असन्तुष्ट बनेका थिए । सोही कारण उनीहरूले मुख्यमन्त्रीको शपथ कार्यक्रम नै बहिष्कार गरे । कार्कीको शपथमा कांग्रेसको संस्थापन पक्ष पनि उपस्थित भएन । यसरी सत्ता गठबन्धनले नै मैदान खाली गरिदिएपछि एमालेलाई खेल्न सजिलो भएको थियो । एमालेका सबै सांसद शपथमा पुगेका थिए ।

एमाले अध्यक्ष केपी ओलीले कांग्रेसबाट विद्रोह गरेका कार्कीलाई मुख्यमन्त्री बनाउँदा मध्यावधि निर्वाचन टर्ने भएकाले समर्थन गरेको अभिव्यक्ति दिएका थिए । अहिलेको परिवेशमा मध्यावधिमा जाँदा एमालेलाई फाइदा हुने बताउँदै उनले राज्यकोषलाई भने भार पर्ने बताएका थिए । बाहिर मध्यावधि निर्वाचन रोकियो भनेर ओलीले भने पनि एमालेले कोशीकै जस्तो गरी अन्य प्रदेशमा पनि खेल्न थालेपछि माओवादी सतर्क भएको छ । सोही कारण उसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको नेताहरू बताउँछन् । कोशीको बाछिटा बागमती प्रदेशमा पनि देखिसकेको छ । कांग्रेसका २० सांसदले विद्रोह गर्ने सम्भावना बढेको छ ।

बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् । यदि कोशीकै जस्तो दृश्य दोहोरिएमा बागमतीमा कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने बताइन्छ । सोही कारण बानियाँले अहिले कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र दलको नेताबाट उनलाई हटाउने अभियान सुरु गरेका छन् ।

दलको नेता लामाले मन्त्री भएर कुनै काम गर्न नसकेको, संसदमा प्रभावकारी भूमिका खेल्न नसकेको, आफ्नो पक्षका एकजनालाई पनि मन्त्री नबनाएको बानियाँ समूहको आरोप छ । सोही कारण उनले २० जना सांसदलाई विद्रोह गर्न तयार पारेका छन् । यदि कांग्रेसका २० र एमालेका २७ सांसद भएमा बागमतीमा सरकार गठन गर्न बहुमत पुग्ने भएको र त्यसमा एमालेले उक्साइरहेको सुइँको पाएपछि माओवादी कोशीमा ‘ब्याक’ भएको स्रोतले बतायो ।

कोशीमा यसै पनि नेपाली कांग्रेसकै भागमा मुख्यमन्त्री परेको थियो । कांग्रेसको आन्तरिक कलह मत्थर पार्न माओवादीलाई सत्ता गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेको थियो । तर कांग्रेसका शेखर कोइराला पक्षका आठ सांसदको विद्रोह र एमालेको रणनीतिका कारण माओवादीले मुख्यमन्त्री पाउन नसकेको हो । मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिए पनि तत्काल सरकारमा भने माओवादी सहभागी नहुने बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *