रिबन

सर्वसाधारणको यसपालिको दशैं : न नयाँ कपडा न त माछामासु

दशैं सुरु भइसकेको छ । दशैं मनाउन आफ्नो गाउँघर जाने मानिसहरूको नयाँ बसपार्क, कलंकी, बल्खु, सूर्यविनायक, बनेपालगायतमा भीड छ । घर जानेहरूको संख्या बढेको झन्डै पन्ध्र दिन हुन लागिसकेको छ । उपत्यकाबाट दिनहुँ लाखौंको संख्यामा मानिसहरू बाहिरिएका छन् । दशैं मनाउन आफ्नो जन्मथलो फर्किएकाहरूमा पहिलाजस्तो खुसी देखिएको छैन ।

अहिले सार्वजनिक यातायातमा होस् या निजी प्लेटको सवारीसाधनमा आफ्नो गाउँघर जानेहरू पहिलाजस्तो नयाँ कपडा र भरिपूर्ण झोलाहरू बोकेर गइरहेको देखिँदैन । पुराना कपडा लगाएर मानिसहरू दशैं मनाउन गाउँघर फर्किएका छन् । कतिपयको साथमा झोला देखेपनि पहिलाजस्ता सामानले भरिभराउ हुँदैन । खुट्टामा लगाएको जुत्ता, चप्पल पनि पुरानै देखिन्छन् । मानिसहरूले अनावश्यक रूपमा खर्च गरेको देखिँदैन । बरु खर्च कटौती गर्नतिर लागिपरेका छन् । यो अवस्था आउनुको प्रमुख कारण एकातिर काम गरेको ठाउँबाट तलब नपाउनु हो त अर्कोतिर जसोतसो बचत गरेको रकम पनि सहकारीले खाइदिनु हो ।

पैसा नभएपछि दशैं मनाउन आफन्त, साथीभाइसँग सरसापटी माग्दा उनीहरू आफ्नै समस्या सुनाउँछन् । कोही घरजग्गामा लगानी गर्दा डुबियो भन्छन् त, कोही सेयर र गाडीमा । यसपालिको दशैं मनाउन धेरै सर्वसाधारणलाई गाह्रो भएको छ । ९५ प्रतिशत जनतालाई दशैं दशा बनेको छ । ५ प्रतिशत सरकारी कर्मचारीहरू भने खुसीका साथ दशैं मनाइरहेका छन् । दशैं आए पनि मानिसहरूले घरमा आवश्यक पर्ने जिरामसलाबाहेक अरु केही किनेनन् । न त नयाँ कपडा किने, न त अनावश्यक खर्च नै गरे । जिरामसलासमेत पाउमा किनेको मानिसहरू बताउँछन् ।

अहिले गाउँघर जान बसपार्कमा बसेका अधिंकाश मानिसहरू अब नफर्किने बताउँछन् । काठमाडौंमा एकातिर कोठा, सटर, फ्ल्याट भाडा महँगो, अर्कातिर रोजगारी र व्यापार छैन । त्यसकारण धेरैै मानिसहरू नफर्किने बताउँछन् । करिब दुई वर्षअघि दशैं आउन तीन महिना बाँकी हँुदै मानिसहरू नयाँ कपडा, नयाँ झोला, जुत्तालगायत सम्पूर्ण सामान किन्थे । एक लाखले दशैं मनाउन पुग्नेमा मानिसहरू तीन लाखसम्म खर्च गर्थे । किनकि त्यसबेला रोजगारीका अवसर पर्याप्त थियो, काम गरेको ठाउँबाट महिना महिनामा तलब आउँथ्यो, व्यापारव्यवसाय पनि उत्तिकै चलेको थियो । तर, अहिले महँगी, मन्दी र रोजगारीको अभावका कारण मानिसहरू दशैं मनाउन एक लाख लागे पनि २० हजारमा पुर्याउन खोजिरहेका छन् । जसरी भए पनि उनीहरू खर्च कटौती गर्नतर्फ लागेका छन् ।

गाउँघर जान बसपार्कमा आफ्ना अभिभावकसँग बसिरहेका बच्चाहरू चाउचाउ, बिस्कुटलगायत अन्य खानेकुरा मागिरहेका हुन्छन् । तर, अभिभावकहरू सुने पनि नसुनेझैं बसेका हुन्छन् । बुढोपाकाले भन्थे, बच्चा रोइदिए पुग्छ, पाहुना आइदिए पुग्छ । अभिभावकसँग पैसा होस् या नहोस्, तर बालबच्चा रोएपछि जसरी भए पनि उसले भनेको सामान किनिदिनु नै पर्छ । त्यस्तै, घरमा सामान होस् या नहोस् पाहुना आएपछि जहाँबाट भए पनि जोहो गरेर खुवाउनु नै पर्छ ।

मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्यो भनेर अहिले पनि प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनर स्वीकार गर्न तयार छैनन् । तर, बजारको हालको अवस्थाले मुलुकको अर्थतन्त्र जटिल बन्दै गएको प्रमाणित गर्छ । नेपालीहरू घुम्न तथा सामान किनमेल गर्न जाने भनेको काठमाडौंको न्यूरोड, ठमेल, महाबौद्ध, इन्द्रचोक, दरबारमार्ग हो । यहाँ स्वदेशी मात्र नभई विदेशी पनि त्यत्तिकै आइरहेका हुन्छन् । पछिल्लो समय यी ठाउँमा पनि धेरै सटर खाली भएको देखिन्छ । पसलहरूमा पनि एकजना पनि मान्छे सामान किन्न छिरेको देखिँदैन । अहिले सुनचाँदी पसलमा मानिसहरूको भीड देखिन्छ । तर, नयाँ सुन किन्न नभई आफूसँग भएको पुरानो सुन धितो राखेर पैसा लिनेको लर्को छ ।

अधिकांशले आफूसँग भएको सुन धितो राखेर वा बेचेर त्यसबाट आएको पैसाले दशैं खर्चको जोहो गरेको देखिन्छ । हिजो ब्याजको प्रलोभनमा परेर मानिसहरूले सहकारीमा लाखदेखि करोडसम्म जम्मा गरेका थिए । अहिले भने सहकारी ब्याज र साँवा नै फिर्ता नगरी भागेको छ । बैंकमा पनि ५० हजारभन्दा बढीको चेक लिएर गएमा एकबाट अर्को शाखामा पठाइन्छ । तर, चेक भने साटिँदैन । बुढापाकाले भन्थे, बलेको आगो सबैले ताप्छ, निभेर खरानी भएको आगो कसैले ताप्दैन । अहिले कि त पैसा सरकारी कर्मचारी, राजनीतिक दलका नेतासँग छ, कि त आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया हुनेसँग छ ।

घरजग्गा, गाडी र सेयरमा लगानी डुबेको तथा व्यापार व्यवसाय चुर्लुम्मै भएको कुरा थाहा पाएपछि दशैं मनाउन दश हजार माग्दासमेत आफन्त, साथीभाइले नदिएको पनि सुनिन्छ । अहिले न त व्यापार व्यवसाय नै छ, न त रोजगारी नै छ । दशैं सुरु भइसकेको छ । राष्ट्रपति र प्रधानमन्त्रीले दशैंमा सर्वसाधारणलाई दिने भनेको शुभकामना मात्र हो । उल्टै उनीहरू जनताले तिरेको करबाट दशैं मनाउँछन् । उनीहरूलाई जनताको केही मतलब छैन ।

जनता भोकै बस्दा वा उपचार नपाएर रोग पालेर बस्दासमेत यो उनीहरूको चासोको विषय बन्दैन । अन्य मुलुकका नेता, खेलाडी तथा कलाकारले आफ्ना देशका नागरिक भोकै बसेको वा उपचार नपाएर रोग पालेर बसेको थाहा पाएमा आफुले कमाएको सम्पत्तिसमेत दान गर्छन् । तर, हाम्रो देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने साढे दुई करोडको घडी हातमा बाँध्छन्, राष्ट्रपति रामचन्द्र पौडेल पेट दुख्नेबित्तिकै जनताले तिरेको करबाट उपचार गर्न विदेश पुग्छन् ।

अन्य मुलुकका प्रधानमन्त्री, राष्ट्रपति सुरक्षाकर्मी नलिई सर्वसाधारण जसरी बजारको कुरा बुझ्छन्, हाम्रा देशका प्रधानमन्त्री र राष्ट्रपति भने शौचालय जाँदासमेत चारैतिर सुरक्षाकर्मी राख्छन् । सुरक्षाकर्मीहरूले पनि जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । तर, उनीहरू मुलुकको भूमि संरक्षण गर्नतर्फ नलागी प्रधानमन्त्री, राष्ट्रपतिहरूको अघिपछि लागेर हिँड्छन् ।
नेपालको अधिकांश भूमि छिमेकी मुलुक भनिने भारत र चीनले नै कब्जा गरिसकेको छ । तर, यसतर्फ कसैको ध्यान गएको छैन । सुरक्षाकर्मीले जागिर खाँदा देशको लागि मर्न तयार हुन्छु र जनताको सुरक्षा गर्छु भनेर कसम खाएको हुन्छ । छिमेकी मुलुकहरूले रातारात नेपालको भूमि कब्जा गरिसक्दा राष्ट्रको संरक्षण गर्न बसेका आर्मीहरू भने ब्यारेकभित्र जनताले तिरेको करबाट तलबभत्ता खाएर बसेका छन् । कि त राजनीतिक दलका नेताहरूको अघिपछि घुमेर बस्छन् ।

पूर्वप्रधानमन्त्री नै होस्, पूर्वराष्ट्रपति वा पूर्वराजा नै किन नहोस् सुरक्षाकर्मी नलिई एक्लै हिँडेको अहिलेसम्म सर्वसाधारण जनताले देख्न पाएका छैनन् । जो जनताले तिरेको करबाट पालिएको छ उही जनतामाथि सुरक्षाकर्मी लाठी प्रहार गर्छ । राम्रो बोलीबचन गर्दैन । जो जनताले तिरेको करमा मोजमस्ती गर्छ, भ्रष्टाचार गर्छ, उसलाई नै सुरक्षाकर्मीलाई सलाम ठोक्छ ।
विद्यालय गएपछि ज्ञान हासिल हुन्छ । राम्रो, नराम्रो कुराबारे थाहा पाइन्छ । अर्काेतर्फ विद्यालय जाँदा हिँड्नुपर्छ । बाटोमा हिँडे पनि सर्वसाधारणको जीवनबारे थाहा हुन्छ । तर, यहाँ प्रधानमन्त्री र राष्ट्रपति त कहिल्यै जनतासँग घुलमिल नै हँुदैनन्, अनि कसरी उनीहरूले जनताको अवस्थाबारे थाहा पाउँछन् । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनताको घरमा एक रात बिताउँथे । जनताको घरमा जे पाक्यो त्यही खान्थे । उनी हप्तामा एकपटक जनतासँग प्रत्यक्ष रूपमा कुराकानी गर्थे । जनताको गुनासो सुन्थे । अहिलेका राष्ट्रपति, प्रधानमन्त्रीलाई त जनताको घरमा जान लाज लाग्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *