राजनीति

महाधिवेशनमा रामचन्द्रले आफूलाई साथ नदिएको झोक शेखरले यसरी फेरे

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सकिएको झन्डै दुई वर्ष हुन लागेको छ । १३औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल भिडेका थिए । पौडेललाई पराजित गर्दै देउवा सभापति बने । १४औं महाधिवेशनमा पौडेल संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्न चाहन्थे ।

तर, डा. शेखर कोइराला बाधक बने । कोइरालाले इतर समूहबाट आफैं सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरे । पौडेलले अन्तिम समयसम्म पनि आफूलाई सभापतिको उम्मेदवार बनाउन गरेको आग्रह इतर समूहले मानेन । त्यसपछि पौडेल महाधिवेशन उदघाटनमा सहभागी भए । तर मतदानमा उपस्थित नै भइदिएनन् ।

पौडेल तठस्थ बसिदिँदा देउवालाई फाइदा भयो । देउवा र पौडेलबीच राजकीय अवसर पाउँदा लिने सहमति भयो । पौडेल मतदानमै नआइदिँदा त्यसको असर इतर समूहका शेखरले भोगे । हुन सभापतिको उम्मेदवार देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ थिए । तर मुख्य प्रतिस्पर्धा देउवा र कोइरालाबीच भयो । पौडेलले अन्तिम समयमा गुट परिवर्तन गरेकोमा शेखर असन्तुष्ट थिए ।

पौडेलसँग उनको राम्रो सम्बन्ध थिएन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिएपछि चुनावमा माओवादी एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग मिल्यो । पौडेल राष्ट्रपतिका उम्मेदवार बने । र, चुनाव जिते पनि । एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ थिए । उनी पराजित बने ।

पौडेल राष्ट्रपति भए पनि शेखरसँग सम्बन्ध सुध्रेको थिएन । महाधिवेशनको तुष बाँकी नै थियो । यो तुष कोशी प्रदेशमा सरकार गठनका बेला प्रकट भएको छ । त्यतिबेला आफूलाई धोका दिएको महसुस गरेका शेखरले राष्ट्रपति पौडेलले आफूलाई केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन र माओवादीका मुख्यमन्त्रीका प्रस्तावित नाम इन्द्र आङ्बोलाई सहयोग गर्न फोन गरेको कुरा मिडियालाई बताइदिए । जसकारण पौडेलको बदनामी भएको छ । राष्ट्रपतिको कुर्सीमा बसेर पनि पार्टी राजनीतिमा सक्रिय भएको, कांग्रेसमा एउटा गुटलाई बोकेको, माओवादीको पक्षमा लाग्न दबाब दिएको भन्दै पौडेलको सार्वजनिक हुर्मत लिइएको छ ।

खासमा पौडेलले कोशीको मुख्यमन्त्री यो बनाउ भनेर कसैको पक्षमा लाग्नै हुन्नथ्यो । शेखर कोइरालालाई फोन गर्नु हुन्नथ्यो । तर शेखरले पनि गोपनीयता र राष्ट्रपतिको गरिमाको ख्याल नगरी मिडियामा ल्याएर गद्दारी गरेको भन्दै अहिले उनको आलोचना भइरहेको छ । १४औं महाधिवेशनको तुष अहिले आएर पोखेको भन्दै शेखरको आलोचना भइरहेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *