काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई माओवादीकरण र एमालेकरण हुन नदिइने बताइरहँदा कांग्रेसकै अर्का नेताले भने प्रतिनिधिसभा बैठकमै प्रचण्ड सरकारको विकल्प खोजिरहेका थिए । थापाले शुक्रबार कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनमा कांग्रेसलाई कांग्रेसजस्तै बनाइने बताएका हुन् ।
कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै थापाले कांग्रेसलाई एमाले वा माओवादीकरण हुन नदिइने बताए । ‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो,’ थापाले भने, ‘कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौं ।’
तर कांग्रेस सांसद सञ्जय गौतम गौतमले भने संसदबाटै कांग्रेसको नेतृत्वमा सर्वपक्षीय सरकार गठन
गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
जुन केही समयअघि एमाले अध्यक्ष केपी ओलीले संसदमा बोलेका थिए । त्यसबेला ओलीले वर्तमान सरकारको विकल्प खोज्न आह्वान गरेका थिए । ओलीले अभिव्यक्ति दिएको केही समयपछि कांग्रेस सांसदले नै प्रचण्ड नेतृत्वको सरकार असफल भएको र कांग्रेस नेतृत्वमा सर्वपक्षीय सरकार बनाउनुपर्ने बताउनुलाई अर्थपूर्ण मानिएको छ ।
गौतमले प्रचण्ड नेतृत्वको सरकारको गति र मति ठीक नभएको आरोप लगाए । उनले सरकारको अहिलेको कार्यशैलीले जनतामा निराशा छाएको र संविधान नै दुर्घटनामा पर्न सक्ने दाबी उनले गरे । ‘देश गम्भीर संकटमा छ । सरकार हामीले नै बनाएको हो । सरकार बनाउनका लागि मात्र बनाएको होइन, मुलुकलाई स्थिरता देओस्, आमजनतामा छाएको निराशा चिरोस् र आशाको सञ्चार गरोस् भनेका थियौं,’ गौतमले भने, ‘यो सरकारबाट जे अपेक्षा थिए, केही पूरा भएनन्, भ्रष्टाचार व्याप्त छ, अराजकता भइरहेको छ । यसले साह्रै ठूलो निराशा छ । यही गति र मतिबाट जाँदा लोकतन्त्र रहँदैन, देश संकटमा जान्छ ।’
देश आर्थिक संकटमा फस्दै गएको र जनतामा निराशा बढेको गौतमले बताए । ‘यही गति र मतिले राम्रो परिणाम ल्याउँदैन । यस्तै हो भने कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं समयमै । संविधानमा आवश्यक संशोधन गरौं र निर्वाचन प्रणालीमा सुधार गरौं,’ गौतमले भने, ‘होइन भने दुर्घटनालाई कसैले रोक्न सक्दैन, घण्टी बजेको मात्र होइन संकेत देखिइसक्यो । समयमै बुद्धि नपु¥याए पश्चातापबाहेक केही हुने छैन । सबै मिलेर एकपल्ट निकास दिन जाऔं, होइन भने यो संविधान सबै सिद्धिएर जान्छन् ।’
गौतम कांग्रेसमा शेखर कोइराला निकट सांसद मानिन्छन् । कोइराला पक्षका आठ सांसदले कोशी प्रदेशमा विद्रोह गरी केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव पेस गर्नु, महामन्त्री थापाले कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिने बताउनु, कोशी प्रदेशमा एमालेले कांग्रेसको एक पक्षलाई उचालेर सत्ता गठबन्धनमा खेल्न खोज्नु सामान्य घटना होइन । केही दिनदेखि ओली र कांग्रेस नेता शेखर कोइरालाबीच बाक्लो कुराकानी हुँदै आएको थियो । दुवैबीच दशैंलगत्तै नयाँ समीकरण बनाउने गरी छलफल भएको बुझिएको छ । ओली जुनसुकै मूल्यमा अहिलेको सरकार ढाल्न चाहिरहेका छन् । त्यसका लागि कांग्रेसभित्रै किचलो ल्याउन ओलीले खोजेको कोशी घटनाले प्रस्ट पारेको छ ।
यो सबै सूचना कांग्रेस सभापति शेरबहादुर देउवाले पाइसकेको बुझिएको छ । सोही कारण उनी पार्टीमा विवाद ल्याउनुभन्दा पनि उपयुक्त विकल्प खोजेर कोशी संकट पार लगाउने मनस्थितिमा देखिएका छन् । त्यसो भएमा केन्द्रको समीकरण पनि नभत्कने र कोशी प्रदेशमा नयाँ सरकार पनि बन्ने अवस्था आउनेछ ।




