काठमाडौं । माओवादी युवा नेता रामप्रसाद सापकोटा दीपशिखालाई विगत २२ दिनदेखि दक्षिण कोरियास्थित नेपाली दूतावासमा ज्वाइँझै पालेर राखिएको छ । नेपालबाट अवैध औषधि कोरिया लैजाँदा गत भदौमा उनी पक्राउ परेका थिए ।
सियोलस्थित नेपाली दूतावास जमानी बसेर उनलाई निकालियो । आजसम्म उनलाई घरज्वाइँ पालेझैं पालिएको छ । दूतावासले अवैध औषधि बोक्ने मान्छेलाई पालेर राख्दा देशकै इज्जत बढ्छ लिलाम भएको छ । माओवादीको नेतालाई एक एक महिनासम्म दूतावासमा पालेको विषयले राजदूत ज्योति प्याकुरेलको आलोचना हुन थालेको छ ।
माओवादी भ्रातृसंगठन वाईसीएलका इन्चार्ज दीपशिखा अहिले दक्षिण कोरियाली प्रहरीको अनुसन्धानमा छन् । चिकित्सकको प्रेस्किप्सनविनाको औषधि बोकेर कोरिया पुगेका दीपशिखालाई कोरियाली भन्सार अधिकारीले अनुसन्धान गरिरहेका छन् । नेपाली राजदूत प्याकुरेलका लागि दीपशिखा औषधि बोकेर गएका थिए । दूतावासले राजदूत प्याकुरेलले दीपशिखासँग मगाएको औषधि चिकित्सकको प्रेस्क्रिप्सनविना भएकाले उनीमाथि कोरियाली अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएको विज्ञप्ति नै जारी गरेर जानकारी दिएको छ ।
गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सनविनाको औषधि भेटिएपछि कोरियाली प्रहरीले इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नियन्त्रणमा लिएको थियो । उनी नियन्त्रणमा परेपछि दूतावासले छुटाउन सहयोग गरेको थियो । दूतावासको अनुरोधपछि दीपशिखा औषधि अध्यागमनमै छाडेर विमानस्थलबाट बाहिर निस्किन पाए पनि उनीमाथि अनुसन्धान भने जारी छ ।
उनीमाथि अनुसन्धान नसकिएसम्म उनले कोरिया छाड्न पाउने छैनन् । राजदूत प्याकुरेलमा एन्जाइटीको समस्या देखिएको र पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधि खाइरहेका कारण उनले दीपशिखासँग सो औषधि मगाएकी थिइन् । औषधी लानेक्रममा केही कागजात नपुगेकाले दीपशिखा कोरियामै रहेको दूतावासले जनाएको छ । दूतावासले आवश्यक कागजात कोरियाली अधिकारीलाई बुझाइसकेको र अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए पनि उनी दशैंमा स्वदेश फर्किने नफर्किने केही बताइएको छैन ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनकट मानिने दीपशिखालाई छुटाउन कूटनीतिक पहल भइरहेको बुझिएको छ । नेपालमा रहँदा बेलाबेलामा विवादमा तानिरहने दीपशिखा विदेशकै पक्राउ परेपछि माओवादीमा सन्नाटा छाएको छ । दीपशिखा कोरियामा पक्राउ पर्नेवित्तिकै धेरै माओवादीको सात्तो गएको थियो ।
दश वर्षे सशस्त्र द्वन्द्वकालमा निर्दोष नेपालीमाथि अमानवीय हर्कत गरेको भन्दै धेरै देशले माओवादी नेतालाई आफ्नो देशमा आउनेवित्तिकै पक्राउ गर्ने चेतावनी दिएका थिए । त्यही कारण दीपशिखालाई कोरियाली प्रहरी पक्राउ गरेको हो कि भन्ने अनुमान गरिएको थियो ।
माओवादी अहिले बाँकी रहेको शान्ति प्रक्रियाको काम छिटो टुंगोमा पुर्याउन लागिपरेको छ । प्रधानमन्त्री प्रचण्ड स्वयं अमेरिका जानुअघि नै टीआरसी विधेयक पारित गराउन चाहन्थे । तर प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सहयोग नगर्दा प्रचण्डको इच्छा पूरा हुन सकेन ।




