काठमाडौं । आफ्नै कलहले कोशी प्रद्रेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री गुमाउने खतरा देखिएको छ । वैशाखयता एमालेका हिक्मत कार्की र कांग्रेसका उद्धव थापा दुई दुईपटक मुख्यमन्त्री बने पनि दुवै लामो समय पदमा टिकिरिहन सकेका छैनन् । कोशी प्रदेश सभामा रहेको अंकगणितका कारण सरकार अस्थिर देखिएको हो ।
कोशीमा कांग्रेसलाई एक्ल्याएर कम्युनिस्टहरूले नै सरकार चलाउने रणनीति अघि सारेका छन् । अहिले प्रदेश सभाको तेस्रो दल माओवादीले मुख्यमन्त्री पाउने सम्भावना धेरै देखिएको छ । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा र माओवादीका इन्द्रबहादुर आङ्बोको नाममा छलफल भए पनि सभामुख आफूले गुमाएकाले मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दै आएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको गठबन्धन दलको अनौपचारिक बैठकमा माओवादीले आङ्वोको नाम प्रस्ताव गरेको थियो । आङ्बोको नाममा कांग्रेस सकारात्मक भएको माओवादीका नेताहरूले प्रचार सुरु गरेका छन् । छलफलमा कांग्रेसले थापाको नामसमेत प्रस्ताव गरेको थियो । तर माओवादीले अस्वीकार गरेको बताइन्छ । अब बन्ने मुख्यमन्त्री नै चार वर्ष कायम रहने देखिएको छ । सोही कारण माओवादीले मुख्यमन्त्रीको अडान नछाडेको हो ।
सत्ता गठबन्धनले सरकार गठनका लागि आफूहरुको पक्षमा बहुमत रहे पनि मध्यावधिमा नजाने गरी राप्रपासहितका दलसँग छलफल भइरहेको जनाएको छ । कांग्रेसमा संस्थापन इतरका नेतालाई संसदीय दलको नेता परिवर्तन गरेर पार्टीबाटै मुख्यमन्त्री बनाउनुपर्ने छलफल चलिरहेका बेला सभापति शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री दिन सहमति गरिसकेको बुझिएको छ । बुधबार आफूलाई मुख्यमन्त्री बनाउन भनेर कांग्रेस सांसद भीम पराजुली सभापति देउवालाई भेट्न गएका थिए ।
देउवाले माओवादीलाई मुख्यमन्त्री बनाउनुपर्ने बाध्यता आइलागेको उनले सुनाएका थिए । माओवादीलाई मुख्यमन्त्री दिने विषयमा कांग्रेस नेता शेखर कोइराला असन्तुष्ट देखिएका छन् ।




