राजनीति

अख्तियारको कार्यक्षमतामाथि गगन र रवि लामिछानेले उठाए प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापा र लामिछानेले अख्तियारको काम गराई ठीक नभएको भन्दै ठूलाकाण्डलाई उन्मुक्ति दिने, ढाकछोप गर्ने गरेको बताए ।

कांग्रेस महामन्त्री थापाले अख्तियारले भ्रष्टाचारका ठूला काण्डलाई मिलाइदिने र ढाकछोप गर्ने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै आयोगकै विश्वसनीयतामाथि प्रश्न उब्जेको बताए । ‘अख्तियारले भ्रष्टाचारका ठूला काण्डलाई मिलाइदिन्छ र ढाकछोप गर्छ भन्ने धारणा बनेको छ,’ महामन्त्री थापाले भने, ‘यसले अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।’
अख्तियारले लाख र करोडका भ्रष्टाचार मात्रै देख्ने तर अर्बौं भ्रष्टाचार नदेख्ने भन्दै नेपाली जनता नै आक्रोशित छन् । पछिल्लो समय अख्तियारले सय र हजार घुस, भ्रष्टाचारमा मात्र केन्द्रित भएको छ ।

महामन्त्री थापाले अख्तियारका प्रमुख आयुक्त र आयुक्त नियुक्तिको मापदण्ड नबदलेसम्म परिणाम नआउने स्पष्ट पारे । ‘जरामै समस्या छ । नियुक्तिको भागबन्डा छ । नियुक्तिको मापदण्ड नबदली परिणाम दिँदैन,’ उनले भने, ‘नियुक्तिमा सार्वजनिक सुनुवाइ हुनुपर्छ ।’

रास्वपा सभापति लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आममानिसलाई नरहेको बताए । अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटेको र त्यसमा पनि दोषी ठहर हुने प्रतिशत निकै कम रहेको तथ्यांक प्रस्तुत गर्दै लामिछानेले भने, ‘अख्तियारको न डर रहृयो न भर ।

सोझासाझा निमुखालाई राम्रै काम गर्दा पनि अख्तियार लाग्ला कि प्रहरीले समाउला कि, सरकार लाग्ला कि भन्ने डर छ । अरुलाई चाहिँ डर र भर गयो । अख्तियारको दाह्रा पनि रहेन, नङ्ग्रा पनि भएन ।’

नेतृत्व परिर्वतन भएपछि अख्तियारभित्रै हराएको भन्ने सुनेको भन्दै उनले छानबिन जारी छ भन्ने रेडिमेड जवाफ कहिलेसम्म सुन्नुपर्ने हो भनेर प्रश्न गरे । ‘वाइडबडी खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले २०७५ मै ४ अर्ब बढी अनियमितता भएको ठहर गर्दै कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको भन्दै उनले सोधे, ‘यसमा के भयो ?

’ २०७७ मा लेखा समितिले नै स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भनेर थप छानबिन गर्न अख्तियारलाई लेखेर पठाएको हो । यस (ओम्नी प्रकरण) बारे छानबिन भइरहेको छ कि फाइल क्लोज भइसक्यो कि केही थाहा भएको छैन ।’लामिछानेले नेपाल ट्रष्टको ऐन नै संशोधन गरेर गोकर्ण रिर्सोटको जग्गा यति समूहलाई दिएको विषयमा पनि छानबिन भए नभएको प्रष्ट पार्न आग्रह गरे ।

राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न विधेयकमाथि छलफल गर्न बुधबार आयोगका पदाधिकारीहरुलाई बोलाएको थियो। बैठकमा अख्तियार प्रमुख प्रेमकुमार राईसहित पदाधिकारी उपस्थित थिए । सांसदहरूले राखेको जिज्ञासाको उत्तर दिँदै राईले नापी, मालपोत कार्यालयमै घुस लेनदेन हुने गरेको बताए । उनले पछिल्लो समय विदेश बसेर भ्रष्टाचारका योजना बुन्ने गरेको दाबी पनि गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *