कोशी प्रदेश

कोशी सरकारमा राप्रपा सहभागी हुने सम्भावना कति ?

काठमाडौं । प्रमुख राजनीतिक दलहरू कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न छलफलमा जुटेका छन् । सहमतीय सरकार नबने मध्यावधिमा जाने र अस्थिरताको सन्देश जाने भएकाले ठूला दल त्यसमा सतर्क देखिएका हुन् ।

मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले गठबन्धनभित्र र राप्रपासँग छलफल गरेर आफ्नै नेतृत्वमा सरकार गठनका लागि अघि बढ्ने निर्णय लिएको छ । राप्रपालाई पनि सरकारमा सामेल गराउने गरी पहिलो चरणमा वार्ता अगाडि बढेको कांग्रेस नेताहरूको भनाइ छ । सरकार गठन हुन नसके र उसले विश्वासको मत पाउने राजनीतिक वातावरण नबने मध्यावधितिर जाने अवस्था देखिएको छ । यसैलाई ध्यान दिँदै कोशीमा अस्थिरता रोक्ने पहिलो प्रयास राप्रपासँग सहकार्यबाहेकको विकल्प नरहेको कांग्रेसको ठहर छ ।

कांग्रेसका अनुसार कोशीमा सरकार गठनका तीन विकल्प छन् । पहिलो– अहिलेको गठबन्धनमा राप्रपा जोडिने । दोस्रो– एमाले र कांग्रेस मिलेर सरकार बनाउने । र, तेस्रो– कांग्रेस र एमालेका दुई–दुईपटक मुख्यमन्त्री बाहिरिएकाले माओवादी नेतृत्वमा सरकार बनाउने र त्यसमा एमालेले बाहिरबाट समर्थन जनाउने । गठबन्धनसँग सहकार्य गर्दा कोशीमा मध्यावधि रोक्न सक्ने शक्ति लिएको राप्रपाले कांग्रेस र माओवादीसँग सत्ता साझेदारीको ठोस प्रस्ताव मागेको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सहकार्यको प्रस्ताव गरेका छन् । कांग्रेसले औपचारिक रूपमै राप्रपासँग सहयोग माग्ने निर्णय गरेको छ । भेटवार्तामा प्रचण्डले सहयोगका लागि आग्रह गरेको लिङ्देनले बताएका छन् । पहिले कसरी जाने भन्नेमा सत्तागठबन्धनको ठोस दृष्टिकोण आओस् भन्ने पक्षमा राप्रपा देखिएको छ ।
कोशीमा उपसभामुखले अध्यक्षता गरेको अवस्थामा राप्रपा निर्णायक अवस्थामा हुनेछैन ।

कोशीमा मध्यावधिमा जानबाट रोक्न सक्ने तागत एमालेसँग मात्रै छ । यदि एमालेकी उपसभामुख सिर्जना दनुवारले प्रदेश सभाको अध्यक्षता गरेमा सत्ता गठबन्धनको ४७ मत आउने छ । जुन सरकार बनाउन पुग्नेछ । त्यसो भएमा कोशीमा मध्यावधि हुने छैन । यदि एमालेले पहिलेकै जस्तो उपसभामुखलाई अनुपस्थित गराएमा भने संकट निम्तिने अवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *