देश

इजरायलमा मारिएका १० नेपालीको घटनाले सम्झायो १९ वर्षअघिको इराक काण्ड

काठमाडौं । असोज २० गते इजरायलमा प्यालेस्टानी हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाए । कृषिसम्बन्धी उच्च शिक्षा हासिल गर्न इजरायल पुगेका उनीहरूले एक महिनाअघि मात्र त्यहाँ पुगेका थिए । एक महिनामै उनीहरूको मृत्युले देश नै शोकमा डुबेको छ । पीडित परिवारमा भरोसाको केन्द्र ढलेको छ ।

इजरायल घटनाले १९ वर्षअघिको इराक काण्डलाई सम्झाइदिएको छ । २०६१ भदौ १५ गते सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ नेपालीको विभत्स हत्या गरेको थियो । रोजगारीका लागि विभिन्न बाटो हुँदै त्यहाँ पुगेका नेपाली नागरिकको इहलीला समाप्त भएको थियो ।

इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानी काठमाडौंमा रहेका मेनपावरमा आक्रमण गरेका थिए । सोही घटनापछि नेपाल सरकारले इराक जान लगाएको प्रतिबन्ध फुकुवा गरेको छ्रैन । इराकमै रहेर काम गर्दै आएका ४० हजारभन्दा बढी नेपाली युवा कामदारलाई भने काम गर्ने अनुमति दिएको छ । अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना नागरिकलाई प्रतिवन्ध लगाएका देशका कामदार फिर्ता गर्न भनेपछि त्यहाँ कार्यरतलाई नेपाल सरकारले अनुमति दिएको हो । सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै रहेको वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीले बताएका छन् । सोही दिनको सम्झनामा वैदेशिक रोजगार व्यवसायी संघ–संस्थाले भदौ १६ लाई कालो दिनमा रूपमा मान्ने गरेका छन् ।

घटनाको समाचारसहितको फोटो युट्युवमा सार्वजनिक भएपछि राजधानीसहित देशभर आक्रोश सुरु भएको थियो । मुलुकमा रहेका म्यानपावर कम्पनी, मस्जिद र सञ्चारमाध्यमलाई आक्रोशित भिडले तारो बनाएका थिए । भदौ ४ गते आतंककारीको अपहरणमा परेका नेपालीहरूलाई जोर्डन लैजाने भनिए पनि भदौ १५ मा गोली हानेर विभत्स हत्या गरेको थियो । त्यो समयमा स्थितिलाई सामान्य बनाउन सरकारले कफ्र्यु नै लगाएको थियो । उक्त घटनामा मारिएका परिवारले जनही १६ लाख रूपैयाँको दरमा क्षतिपूर्ति रकम पाएका थिए ।

वैदेशिक रोजगारकै क्रममा त्यस्तै प्रकृतिको अर्काे घटना अफगानिस्तानमा पनि घटिसकेको छ । काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरत नेपाली सवार गाडीमा २०७३ असार ६ गते आतंकवादीहरूले आत्मघाती आक्रमण गरी १२ जना निर्दोष नेपालीको ज्यान लिएका थिए । एक बेलायती कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत नेपाली नागरिकको त्यो विभत्स हत्याको कसुर के थियो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । विश्व आतंकवादी संगठन तालिवानले उक्त घटना आफूले गराएको स्वीकार गरिसकेको छ । उनीहरु सबै क्यानेडियन दूतावासमा सुरक्षार्थ खटाइएका थिए । सुरक्षागार्ड चढेको दुईमध्ये एक गाडी निस्केपछि अर्कोमा आक्रमण गरिएको थियो । घटनामा मारिनेहरुको मृत शरीर ल्याउन सरकारले चार्टर्ड विमान नै पठाएको थियो ।

अहिले इजरायल घटनाले संसारको ध्यान केन्द्रित गरेको छ । विस्तारै यो घटना विश्व युद्धमा परिणत हुने हो कि भन्ने त्रास बढेको छ । इजरायलमा आधिकारिक रूपमा ४५ सय नेपाली रहेको बताइन्छ । तर अवैध रूपमा जाने पनि धेरै भएको हुन सक्ने अनुमान गरिएको छ । सरकारले अहिले त्यहाँ मारिएका नेपाली विद्यार्थी र स्वदेश फर्कन चाहेका नेपाली नागरिकलाई रजिस्ट्रेस फारम भर्न भनेको छ । सरकारले चाँडै चार्टर्ड विमान पठाउने तयारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *