प्रविधि

आफ्नो फ्रड खुल्ने डरले फोन ट्यापिङको हल्ला चलाएर टेरामोक्सलाई विवादमा तानियो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामोक्स० जडान गर्न लागेको छ । प्राधिकरणले तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढी खर्च गरी त्यसका लागि आवश्यक उपकरणसमेत विदेशबाट आयात गरिसकेको छ । तर टेलिकम सेवाप्रदायक कम्पनीहरू टेरामोक्स प्रविधि जडान गर्न तयार नहुँदा यो प्रणाली कार्यान्वयनमा अझै आउन आउन सकेको छैन । आफ्नो फ्रड खुल्ने डरले फोन ट्यापिङको हल्ला मच्चाएर टेरामोक्स प्रविधिलाई विवादमा पारिएको छ ।

दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले प्राधिकरणले यो प्रविधि कार्यान्वयन गर्ने प्रस्ताव गरेको छ । तर यो प्रविधि असफल बनाउन ठूलो चलखेल भएको पाइएको छ । देश विदेशका शक्तिकेन्द्र टेरामोक्स रोक्ने अभियानमा लागेका छन् । सेवाको गुणस्तर र आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले टेरामोक्स प्रविधि जडान गर्न खोजिए पनि यसलाई त्यत्तिकै विवादमा पारिएको देखिँदै गएको छ । ‘सेवा प्रदायकले जस्तो जानकारी दियो, जति हिसाब किताब देखायो, त्यसमा नै भर परेर उनीहरुको सबै कुरा प्रमाणित गर्दिनुपरेको छु,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने ।

टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्ने लक्ष्यसहित यो प्रविधि ल्याइएको उनको भनाइ थियो । टेरामोक्सले व्यक्तिगत डेटा नराख्ने बताउँदै उनले कसैको पनि फोन ट्याप नगर्ने बताए । ‘टेलिकम कम्पनीहरूबाट राजश्व छली भएको बताउदै उनले सेवाग्राहीलाई सेवा दिएवापत् सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरूको अन्य गतिविधिमाथि निगरानी गर्न यो प्रविधि ल्याउन लागेको हो,’ उनले भने ।

टेरामोक्स प्रविधि निर्माता कम्पनी भेनराइज सोलुसन्सका प्रतिनिधि मोहम्मद हार्भले सेवा प्रदायकलाई निगरानी गर्न तयार पारिएको प्रविधि टेरामोक्स भएको बताए । लेबनानका नागरिक हार्भले यो प्रविधि के हो, कसरी काम गर्छ र के के विशेषता छन् भन्नेबारे आइतबार प्रस्तुति दिएका थिए । सो क्रममा उनले यो प्रविधिमा कहीँ कतै पनि फोन ट्यापिङ अर्थात् फोन रेकर्डको व्यवस्था नरहेको प्रस्ट पारे ।

सेवा प्रदायकले पठाएका सूचना यस प्रविधिमार्फत प्राधिकरणसमक्ष आउने उनले बताए । सेवा प्रदायकले कल रेकर्ड तथा व्यक्तिगत गोपनीयतासम्बन्धी सूचना नै नपठाउने भएकाले यस प्रविधिमार्फत कल ट्यापिङ नै नहुने उनले प्रस्ट पारे । मूल्यका विषयमा आएका जिज्ञासालाई पनि सम्बोधन गर्दै निर्माता कम्पनीका प्राविधिक हार्भले यो कम्प्युटर मात्र नभई विभिन्न सफ्टवेयर र हार्डवेयरसहितको एउटा पूर्ण प्रविधि भएकाले कम्प्युटरको मूल्यको तुलना गर्न नमिल्ने बताए ।

नेपाल टेलिकम र एनसेलसँग फोन ट्यापिङको सुविधा अहिले पनि छ । राज्यको सम्बन्धित निकायले चाहेको अवस्थामा अहिले पनि फोन ट्यापिङको सुविधा सम्बन्धित सेवा प्रदायकबाटै लिन सक्छ । प्राधिकरण र टेरामोक्स प्रविधि निर्माता कम्पनीले टेरामोक्स प्रविधिमा फोन ट्यापिङ हुने कुनै प्रणाली नै जडान छैन भनेर सार्वजनिक रुपमै स्पष्ट पारिसकेको छ ।

टेरामोक्स कार्यान्वयनमा आउँदा एनसेल र नेपाल टेलिकम जस्ता टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकलाई दिने सेवाको गुणस्तरबारे तथा उनीहरुको वास्तविक आर्थिक अवस्थाबारे प्राधिकरणलाई रियल टाइममा थाहा हुने भएपछि अहिले यसलाई पूर्ण असफल बनाउन लागिएको बताइन्छ । कुन सेवा प्रदायकले नेपाल तथा बाहिर ग्राहकलाई कस्तो सेवा दिएर कति पैसा लिएको छ भन्नेबारे यकिन जानकारी हुने प्रविधि नेपाल सरकारसँग छैन ।

एनसेल, नेपाल टेलिकम जस्ता संस्थाले ग्राहकलाई सेवा दिएर वर्षमा कति आम्दानी गरे भन्ने यकिन जानकारी हुने प्रविधि पनि सरकारसँग छैन । टेरामोक्स प्रविधि जडान हुँदा सेवा प्रदायकको वास्तविक हिसाब किताब पनि सरकारलाई जानकारी हुने भएपछि टेलिफोन तथा इन्टरनेट व्यवसायबाट अर्बौं कमाई गर्ने गिरोह यो प्रविधि असफल बनाउन लागेको बुझिएको छ । सेवाको गुणस्तरभन्दा आर्थिक पारदर्शिताका कारण टेरामोक्सलाई असफल बनाउन चलखेल भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *