राजनीति

तीन तहको सरकारलाई व्यवस्थित गर्ने हो भने अधिकारसहितको स्थानीय तह हुनुपर्छ, नत्र संघीयता टिक्दैन

नेपाली कांग्रेस ओखलढुंगाका उपसभापतिसमेत रहेका कमल तामाङ विद्यार्थी राजनीतिबाट आएका हुन् ।

राजनीतिसँगै सामाजिक काममा समेत क्रियाशील रहँदै आएका तामाङले स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई पराजित गरेर अध्यक्ष निर्वाचित भएका हुन् । जनप्रतिनिधि बनेको डेढ वर्षमा आफूले चुनावमा गरेका बाचा र घोषणा पूरा गर्ने बाटोमा आइपुगेको उनको भनाइ छ ।

कोभिडकालमा समाजसेवा गरेकै कारण नेल्सन मण्डेला लिडरसिप अवार्ड प्राप्त गरेका तामाङ २०८४ को निर्वाचनमा कांग्रेसले संकल्प, विचार, अनुभव, क्षमता र इमान्दार युवालाई तयार पारेर गएमा ठूलो दल बनेर सरकार चलाउन सक्ने ठोकुवा गर्छन् । सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङसँग संकल्प खबरले गरेको कुराकानीको सम्पादित अंशः

२०७४ को निर्वाचनको तुलनामा २०७९ मा कांग्रेसले ओखलढुंगामा निकै प्रगति ग¥यो । धेरै स्थानीय तह जित्न सफल भयो, कारण के होला ?
स्थानीय निर्वाचन २०७९ मा समग्रमा पाँचवटा गाउँपालिका एब्सुलेट जितेको हो । दुईवटा गठबन्धमा गरी सातवटैमा जितेजस्तो हो । एउटामा एमालेले जितेको थियो । हामी माओवादीसँग गठबन्धनमा थियौँ । पहिलो कुरा त, ओखलढुंगा सहिदको जिल्ला हो । लोकतन्त्रका लागि ५७ जनाले सहादत प्राप्त गरेको जिल्ला हो । बलबहादुर राई जन्मेको जिल्ला पनि हो । निश्चित रूपमा कांग्रेसको भूमि नै होे । पछिल्लो समय अलिकति नेतृत्व र कार्यकर्ताका कारण संगठन कमजोर थियो । तर २०७९ मा सबै एकजुट भए । एकजुट हुँदा सधैं ओखलढुंगा कांग्रेसले जित्ने जिल्ला हो ।

कांग्रेसभित्र अन्तर्घात नहुने हो भने ओखलढुंगा कांग्रेसका लागि पूर्वको उर्वरभूमि हो । २०७४ मा प्रदेश १ को १४ जिल्लामध्ये जिल्ला समन्वय समिति ओखलढुंगा कांग्रेसले बनाएको थियो । अहिले पनि कांग्रेसले नै बनाएको छ । अहिले हामीले दुईवटै प्रदेश र संघ पनि जित्यौँ । स्थानीय तहमा निर्वाचित भएका वडाध्यक्ष, वडा सदस्य, पालिका प्रमुख, उपप्रमुख, समन्वय समिति पनि हाम्रै छ ।

स्थानीय तहमा निर्वाचित साथीहरूले राम्रोसँग काम गरे भने, जनतालाई वेसमा राखेर काम गरे भने, तलब सुविधा डेलिभरीको राम्रो काम गरे भने, भ्रष्टाचार गरेनन् भने ओखलढुंगा सधैंका लागि कांग्रेसको किल्ला हुन्छ । समग्रमा सबै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले राम्रो काम गर्न सकेको अवस्थामा भोलिका लागि गाह्रो हुन सक्दैन ।
डेढ वर्षे कार्यकाललाई कसरी हेर्नुभएको छ ?
यो अरुले मूल्यांकन गर्ने विषय हो । मलाई आफ्नो पालिकामा राम्रै काम गरेजस्तो लाग्छ । हिजो निर्वाचनको समयमा जनताका माझमा घोषणापत्र लिएर भोट माग्दा जुन बचनबद्धता गरेका थियौँ, सबै कुरालाई सम्बोधन गर्न नसके पनि केही सम्बोधन गर्ने पक्षमा रहेको र केहीको सकारात्मक विकास पनि भएको छ । पालिकालाई चाहिने भनेको सुशासन हो ।

स्वास्थ्य, शिक्षा, खानेपानी, विकास, रोजगारी, महिला सशक्तीकरण, कृषिसँग जोड्ने, बजारीकरणका विषय भए । यी सबैमा स्थानीय तहले काम गर्नसकेको अवस्थामा जनता खुसी हुन्छन् । जनता निराश होइन, आशावादी छन् ।

समृद्ध सुनकोशी बनाउन निर्वाचन हुनुभन्दा अगाडि के प्रतिवद्धता जाहेर भएको थियो, यो डेढ वर्षमा कति पूरा गर्नुभयो ?
यो डेढ वर्षको अवधिमा सकेजति काम गर्दै आएको हो । कृषिको स्रोतसाधनको अभाव, भौगोलिक कठिनाइले इच्छा गरेजति सम्भव भएको छैन । तर पनि जे जति स्रोतसाधन छ, जुन हामीले प्राप्त गरेका छौँ । त्यसलाई शिरोधार्य गरेर बचनवद्धताका साथ काम गर्दै गएका छौं ।

जस्तो, अहिले पालिका भवन निर्माण अन्तिम चरणमा छ । पाँच सय शैयाको अस्पतालको ढलान भइसक्यो । केही विद्यालयको हिजोका दिनमा बिग्रिएको अवस्थामा सुधार आएको छ । हिजोका दिनमा शिक्षकहरू समयमा उपस्थिति नहुने र राम्रोसँग अध्ययन अध्यापन नगर्ने परम्परामा सुधार आएको छ ।

स्वास्थ्य संस्थामा औषधिको अभाव थियो, अहिले सुधार भएको छ । अहिले १० वटै वडामा राष्ट्रिय प्रसारण युनिटको बिजुली पु¥याइसकेको छु । अहिले एक घर एक धारा पानी, २०० घरलाई समृद्धि बनाउन आर्थिकसँग जोड्नका लागि केही मेरा प्याकेज छन् ।

कम्तीमा पनि एउटा चिस्यान घर खोलेर सिजनअनुसारको त्यहाँ उत्पादन हुने खाद्यान्नलाई भण्डारण गर्नसकियो र बजारीकरण गर्नसकेमा कृषकले घरमै बसेर भए पनि धेरथोरै आर्थिक उपार्जन गर्न सक्छन् । त्यसैले गाउँ छाडेर सहर बस्ने जनसंख्याको पनि नियन्त्रण हुन्छ ।

गाउँमा रोजगारी भएपछि विद्यालयलाई व्यवस्थित गरेर बोर्डिङ स्कुल खोल्न सक्यो भने लाखौँ खर्च गरेर धरान, पोखरा, विराटनगर, काठमाडौंमा रहेका दिदीबहिनी दाजुभाइहरू आफ्ना बालबच्चालाई पढाउन गाउँ फर्कन सक्छन् । सहरमा आफ्ना बालबालिका पढाउन बसेकालाई गाउँमै शिक्षा दिन सकिने वातावरण बनाएर सहर केन्द्रित भएकाहरूलाई गाउँ फर्काउने अभियान चलाउन खोजिरहेको छु ।

त्यसबाट हिजो बाँझो रहेका जमिनमा खेती हुने, बालबालिकाले परिवार र समाजबाट सुुसंस्कार प्राप्त गर्न सक्छन् । विभिन्न कारणले गर्दा गाउँमा बसेका मान्छे आन्तरिक र बाह्य बसाइसराईका साथै विदेश पलायन हुने गरेका छन् । स्वास्थ्य शिक्षा, रोजगार यी कारणले गर्दा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा स्थान्तरण भइरहेका छन् । यी तीन कुरामा स्थानीय तहले ध्यान पु¥याउन सक्यो भने नागरिकहरू गाउँ छाडेर अन्य ठाउँमा जाँदैनन् ।

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई गाउँमै रोकेर रोजगारी दिने विषयमा गाउँपालिकाले के गरिरहेको छ ?
नेपालमा युवा स्वरोजगार कार्यक्रम छ । युवाहरूलाई तालिम दिने, र सीपयुक्त बनाउन सुनकोशी गाउँपालिकाले सीमित व्यक्तिहरूलाई कम्प्युटर तालिम, प्लम्बर, मेसिनको तालिम दिइरहेको छ ।

कृषि क्षेत्रमा उनीहरूले के गरिरहेका छन् ? उनीहरूको चाहना भावनाअनुरूप हामीले बंगुरपालन, गाईपालनलगायतका कार्यक्रम युवा स्वरोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहमा ल्याउन सक्यौँ भने युवाहरू उत्साहित पनि हुन्छन् । स्थानीय तहमा बजारको अभावका कारण उत्पादन गरिएको वस्तुहरूको खपत हुन सक्दैन ।

स्थानीय तहमा फर्ममा एकपटक एक हजार कुखुरा उत्पादन ग¥यो भने खपत हुँदैन । जसकारण कृषकहरू निरास हुन्छन् । उत्पादन गरेर अन्य ठाउँमा लैजानुप¥यो भने पनि सवारी भाडा बढी लाग्ने र लगानी डुबेको मैले धेरै देखेको छु ।

स्थानीय तहमा उत्पादन गरिएका फलफूल, तरकारी, धान, कोदो, मकै, आलुको बजारको अभावका कारण किसानहरू मारमा छन् । जसकारण युवाहरू विदेश जानुपरेको छ । कृषकहरूका लागि बजारीकरण महत्वपूर्ण विषय हो । स्थानीय तहमा उत्पादन भएका सामानहरूको जिम्मा स्थानीय तहले लिन सक्नुपर्छ ।

सुनकोशी गाउँपालिकामा उत्पादन गरिएका वस्तुहरूको बजारीकरणका लागि प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरेको छु । स्थानीय तहमा उत्पादन भएका वस्तुको स्थानीय तहमै खपत गर्न बार मिलाएर हाट बजार राख्न सक्यौँ भने किसानहरूले खुर्सानी बेचेर भए पनि आफ्ना बालबालिकालाई शिक्षादीक्षा दिन सक्छन् ।

जस्तै, आँप, सुन्तला, मेवा, आलुको स्थानीय तहमै खपत गर्न सक्यो भने स्थानीयको आर्थिक अवस्थामा पनि सुधार आउँछ । यसका लागि मैले ५० लाख बजेट छुट्याएको छु । डिपीआर पनि बनाउँदैछु । अब म टेन्डरमा जाँदैछु ।

आफूले पालेका भाले, बंगुर, उत्पादन गरेका गोलभेँडा बेच्न पाए भने युवाहरूलाई विदेश जानबाट रोक्न सकिन्छ । शिक्षालाई गुणात्मक बनाउन सकेमा विदेश जानबाट रोक्न सकिन्छ । तर हामीसँग स्रोतसाधनको अभाव हुन्छ ।

संघीयताको मर्मअनुसार केन्द्र सरकारले स्थानीय सरकारलाई बेवास्ता गरेको जनगुनासो आएको छ, तपाईलाई के लाग्छ ?
नेपालको संविधान २०७२ को परिकल्पना के थियो भने मुलुकमा तीन तहको सरकार हुन्छ । संघ, प्रदेश र स्थानीय तह । त्यो एकदम स्वायत्ता हुन्छ । अधिकारसहितको हुन्छ । तर सबै अधिकार संघले नै होल्ड गर्यो । आज शिक्षकको आन्दोलन छ ।

शिक्षा नीति प्रस्ट छैन । स्वास्थ्य नीति प्रस्ट छैन । विकासका आधार प्रस्ट छैनन् । त्यसैले स्थानीय तहमा अन्योलता छ । यदि नेपाललाई सुन्दर र समृद्धियुक्त बनाउनु छ भने स्थानीय तहलाई बलियो बनाउनुपर्छ । स्थानीय तहलाई अधिकारसहितको संकल्पसहितको पूरा गर्न सक्ने बनाउन सकिएन भने संघीयता सफल हुन सक्दैन ।

अहिले प्रदेश र केन्द्रभन्दा पनि स्थानीय तहलाई नै जोड दिनुपर्छ । स्थानीय सरकारसँग जनता प्रत्यक्ष संलग्न हुन्छन् । बोल्दा सुनिने, छाम्दा थाहा हुने, जतिखेर घरमै भेट्न सकिने । आफ्ना गुनासा राख्न सक्ने । २५ सयसम्मको पाइप माग्न आउँछन् समूह । संघ र प्रदेशमा त्यस्तो छैन । तर स्थानीय तहमा सुतेको ठाउँमा भेट्न सक्छन् जनताले ।

जनताका हरेक समस्या प्रत्यक्ष रूपमा सम्बोधन गर्ने स्थानीय सरकार हो । त्यसैले केही ऐनको अस्पष्टताका हिसाबले स्थानीय तहहरू सहज ढंगले चल्न सकिरहेका छैनन् ।

मैले केही फोरममा बोल्ने अवसर पाउँदा स्थानीय तहलाई अधिकार र कानुनसहितको बलियो बनाएनौं भने संघीयताको कुनै अर्थ छैन भन्ने गरेको छु । अहिले प्रदेश चाहिँदैन भन्ने धेरैको आवाज सुनिएको छ । तीन तहको सरकारलाई व्यवस्थित गर्ने हो भने अधिकारसहितको स्थानीय तह हुनुपर्छ ।

तपाई राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ, समयलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
अहिले एउटा अवार्ड थाप्न लन्डन पुगें । सात दिन बसें । म त्यहाँ घुम्न सक्थें । धेरै आफन्त थिए । कसैलाई भेटिनँ । समयलाई आफैंले व्यवस्थापन गर्नुपर्छ । समयले तपाईलाई गर्ने होइन । समय एकदमै महत्वपूर्ण विषय हो । त्यसैले समाजमा जसले सामाजिक काम गर्न सक्दैन, त्यसले राजनीतिक हासिल गर्न सक्दैन । यी दुवै अन्तर्सम्बन्धित विषय हुन् ।

राजनीति गर्न सामाजिक उत्तरदायित्व हुनैपर्छ । आज धेरै साथीहरू सामाजिक अभियन्ता भन्छन् । केही साथीहरू माननीय पनि भएका छन् । जसले समाजका लागि केही दिन सक्दैन, त्यसलाई सामाजिक अभियन्ता भन्न मिल्दैन । समाजका लागि बलिदान दिने व्यक्तिलाई सामाजिक अभियन्ता भनिन्छ ।

कसैलाई छक्याएर समाजलाई दिएको कुरा सामाजिक अभियन्ता होइन । अहिले विभिन्न दलहरू निस्किएका छन् । अहिले संसद् बैठकमा बोल्ने केही साथीहरूले सामाजिक अभियान्ताको परिभाषा बुझेकै छैनन् । एउटा पढेको विद्यालयलाई एउटा कापी बाँडेको छैन सामाजिक अभियन्ता भन्छन् । मेरो २५ प्रतिशत समय समाजसेवाका लागि लगानी गर्छु ।

तपाईलाई नेल्सल मण्डेला अवार्ड केका आधारमा मूल्यांकन गरेर प्रदान गरियो ?
त्यो त मलाई पनि थाहा भएन । उहाँहरूसँग खोज तथा अनुसन्धान गर्ने निकाय थियो होला । यो अवार्ड पाउने व्यक्ति नेपालमै म पहिलो रहेछु ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा प्रदान गर्ने नेल्सन मण्डेला लिडरसिप अवार्ड नोबेल पुरस्कारपछिको दोस्रोमा गणना हुँदो रहेछ । यो अहिले मेरो पालिका, मेरो जिल्लाका लागि गौरवको विषय पनि हो । यसले मलाई समाजप्रतिको उत्तरदायित्व बहन गर्ने हौसला बढाएको छ र जिम्मेवारी पनि थपिएको छ । कोभिडको समयमा मैले गरेको समाजसेवालाई आधार बनाएर यो अवार्ड दिइएको होला भन्ने लाग्छ ।

यस्तो महत्वपूर्ण अवार्ड पाएपछि के सोच्नुभएको छ ?
अवार्ड थाप्ने बेलामै एउटा मोटिभेसनल टिमले टे«निङ कक्षा सञ्चालन गरेको थियो । उक्त कक्षामा उनीहरूले अब काँधमा समाजका लागि थप काम गर्ने जिम्मेवारी थपिएको बताएका थिए ।

संसारका सबै विज्ञहरूको उपस्थिति थियो । उहाँहरूले भन्नुभयो– आफ्ना लागि सबैले गर्छन्, तर समाजका लागि सेवा गर्नु महत्वपूर्ण कुरा हो । समाजका लागि जिम्मेवारी थपिएको छ । म त्यो गर्छु पनि । असम्भव भन्ने कुरा केही पनि छैन ।

सकारात्मक सोच राख्यो भने सबै सम्भव हुन्छ । मैले अन्तर्राष्ट्रिय फोरममा केही नयाँ टिप्स पाएको छु । जनतालाई सेवासुविधा दिने विषयमा सबै कुरा उत्कृष्ट थिए । त्यो कक्षाबाट तीनवटा डी अर्थात् अनटाइम डिसिजन, डिसिपिलिन र डेडिकेशन मैले जानेको छु । त्यो गर्छु ।

तपाई कांग्रेस ओखलढुंगाको उपसभापति पनि हुनुहुन्छ । अहिले जिल्लामा कांग्रेसको अवस्था कस्तो छ ?
अहिले संगठन राम्रै छ । हामी लागिपरेका छौँ । माइकमा बोलेर मात्र हुन्न, पाएको जिम्मेवारीका बारेमा ध्यान दिनु आवश्यक छ । अहिले जनतालाई खुसी पार्ने कुरा र कांग्रेसलाई सफल बनाउने जिम्मा मेरै हातमा छ ।

अहिले कांग्रेस जुन ढंगले चल्नुपर्ने हो, त्यो हुन सकेन भन्ने गुनासो पार्टीभित्र र बाहिरबाट पनि आएको छ । तपाईलाई के लाग्छ ?
नेपाली कांग्रेस विश्वले मानेको पुरानो पार्टी, ठूलो लोकतान्त्रिक पार्टी हो । त्यसभित्र केही कमीकमजोरी छन् । आफन्तवादले गर्दा मात्र कांग्रेसको अवस्था केही खस्केको हो । जसकारण कतिपय कांग्रेसी भोट नै हाल्न गएनन् । कांग्रेस नभएर होइन ।

३६४ दिन कांग्रेस बन्ने एक दिन कांग्रेस नबन्ने रोग छ नि । यसको अन्त्य कसरी हुन्छ ?
३६५ दिन नै कांग्रेस बनाउन प्रधानमन्त्री, मन्त्री भइसकेकाले के गरे ? जिल्लाको सभापति भएर के गरे ? भन्ने पत्ता लगाउनुपर्छ । यो हाम्रै नेताहरूले बनाएका हुन् । म चाहन्छु कांग्रेस जीवनभर एक र कांग्रेस नै हुनुपर्छ ।

निर्वाचनको समयमा साथीहरूले त्यो गर्नु हुँदैन । पार्टीभित्रको गुटउपगुटका कारणले पनि यस्तो नतिजा आउने गर्छ । केन्द्रमा बस्ने नेताहरूले स्थानीय तहमा रहेका साथीहरूले पाएको दुःख बुझ्नुपर्छ । कांग्रेसमा देखिएको समस्या केन्द्रबाट सुधार गर्दै तलतिर झर्नुपर्छ । तल्ला तहमा हुनेहरू सधैं इमान्दार छन् ।

आगामी दिनमा नयाँ भिजन लिएर जनतामाझ जाने आधार के–के छन् ?
नयाँ भिजन कांग्रेससँग पर्याप्त मात्रामा छन् । कांग्रेससँग अन्तर्राष्ट्रिय टिप्स छन् । अबको कांग्रेसले भाषणमा भन्दा बढी जनतामुखी काम गर्नुपर्छ । केन्द्रदेखि स्थानीय तहसम्मै जनताका लागि आर्थिक समृद्धिका काम गर्नुपर्छ ।

कांग्रेसप्रतिको विश्वास जनतामा कहिल्यै पनि टुट्न दिनुहँुदैन । जनताले नै कांग्रेसलाई भोट यो यो कारणले दिने भनेर दावी गर्ने बनाउनुपर्छ । भ्रष्टाचार काण्डमा कांग्रेस आउनु भएन । सुनकाण्ड, भुटानी शरणार्थी काण्डमा आउनु भएन । बरु सरकार छोड्ने, चार वर्षका लागि कांग्रेसहरू ७७ वटै जिल्लामा जानुपर्छ । नयाँ पुस्तालाई केही कुरा सिकाउनुप¥यो ।

कांग्रेसले अब नयाँ पुस्तालाई जिम्मेवारी दिन्छ । नयाँ पुस्ताका भिजनहरू जनतालाई बुझाउनुप¥यो । अहिले आएका नयाँ पार्टीको घोषणापत्र नै स्पष्ट छैन । विधि, सिद्धान्त र भिजन छैन । यो जनतालाई बुझाउन सक्नुप¥यो ।

२०८४ को निर्वाचनमा कांग्रेसले कस्तो खालको एजेन्डा लिएर जानुपर्छ ?
धेरैपटक मन्त्री भएकालाई मौका दिनुहुन्न । नयाँ भिजन भएका, नयाँ विचार र जनताका लागि दिगो विकास गर्ने विश्वास भएको मान्छेलाई जनताले रुचाउँछन् । युवालाई जिम्मेवारी दिनुपर्छ । नयाँ पुस्तालाई जिम्मेवारी दिएर पुराना नेता सल्लाहकार बनेर बस्नुपर्छ । तनहँु र चितवनमा उपनिर्वाचनबाट हार्नुप¥यो ।

अब कांग्रेसले बोलेर मात्र हुँदैन, केही काम गरेर देखाउनुप¥यो । कांग्रेसले स्पष्ट विचार राख्नुपर्छ । कांग्रेसले समसामयिक देशमा घटिरहेका घटनाका बारेमा स्पष्ट धारणा राख्नुपर्छ । २०८४ का लागि कांग्रेसले शक्तिशाली, संकल्प, विचार, अनुभव, क्षमता र इमान्दार युवालाई तयार पार्नुपर्छ । त्यसो गरेमा मात्र कांग्रेसले विजय हासिल गर्न सक्छ ।

जबसम्म गठबन्धनरहित पार्टी रहन सक्दैन, कांग्रेसमा सुधार आउन सक्दैन । देशमा शुसासन कायम हुन सक्दैन । देशमा सुशासन, आर्थिक समृद्धि र सधैँ जनताको विश्वासको पात्रको रूपमा दुःख–सुखको साथी बन्न नेपाली कांग्रेसले गठबन्धन छाडेर निर्वाचनमा एक्लै लडेर बहुमत ल्याएर सरकार चलाउन सक्नुपर्छ ।

गठबन्धनको नाममा कांग्रेसमा रोग लागेको छ । कांग्रेसमा लागेको रोग हटाउन गठबन्धन छोड्नुपर्छ । अहिले हामी कांग्रेस जोगाउन स्थानीय तहमा गएर बसिरहेका छौँ । २०८४ को निर्वाचनमा कांग्रेसले एक्लै लडेर ठूलो पार्टी भई सरकार बनाउँछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *