काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्टन्ट गर्न माहिर छन् । कहाँ जाँदा आफ्नो भोट बढ्छ, चिच्याइ चिच्याइ के बोल्दा ताली र प्रशंसा बटुलिन्छ भन्ने उनलाई राम्रो ज्ञात छ । न्युज २४ टेलिभिजनमा काम गर्दा नेताहरूलाई आमचकारी गाली गरेकै भरमा उनले चर्चा बटुले । त्यही भएर पार्टी गठन भएको ६ महिनामै रास्वपाले २० सिट जित्न सफल भएको थियो ।
दोहोरो नागरिकता काण्डले उनको सांसद पद नै खारेज भयो । फेरि उपनिर्वाचनबाट सांसद जिते । ४० दिन गृहमन्त्री बन्दा रविले गरेका निर्णय विवादमा मात्र परेन, उनी भ्रष्टाचारमा समेत मुछिए । दोहोरो राहदानीको विषयमा उनीविरुद्धको मुद्दाको छिनोफानो हुन बाँकी नै छ । रास्वपामा विभिन्न काण्ड सार्वजनिक भए । त्यसले रविको लोकप्रियतामा ह्रास ल्याउने काम गरेको छ । तर पनि उनले स्टन्ट गर्न छाडेका छैनन् ।
पछिल्लो समय उनले सरकारको विरोध गर्ने कुनै मुद्दा पाएका छैनन् । केही दिनअघि आममाफी पाएर छुटेका योगराज ढकाल रिगललाई दिएकोप्रति असन्तुष्टि जनाउन रवि पार्टीका केही नेता बोकेर शीतल निवास पुगे । राष्ट्रपतिले स्वविवेक प्रयोग गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए । लगत्तै फर्केर आममाफीविरुद्ध संसदमा संकल्प प्रस्ताव दर्ता गराउन लगाए ।
मंगलबार बझाङलगायतका जिल्लामा भूकम्प गयो । भूकम्पले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पबाट घाइते भएकाको उपचार प्रदेश सरकारले बेहोर्ने निर्णय भइसकेको छ । सरकारले राहत र उद्धारको काम गरिरहेको छ । तर पनि रवि लामिछाने चर्चा बटुल्न र सहानुभूति पाउन बझाङ पुगेका छन् । त्यो पनि खाली हात । एउटा दलको सभापति जस्तो व्यक्ति खाली हात भूकम्पपीडितको घरमा पुग्दासमेत उनलाई कुनै संकोच लागेको छैन ।
विपदमा परेकालाई सबैभन्दा पहिले राहतको जरुरी हुन्छ । रास्वपाले अहिलेसम्म एक किलो चामल राहत दिन सकेको छैन । तर पीडितको घरघरमा खाली हात पुगेको फोटो र भिडियो रविले सामाजिक सञ्जालमा हाल्न छाडेका छैनन् । भूकम्पपीडितको घरमा पुग्दा सहानुभूति बटुल्न सकिन्छ कि भन्ने उनलाई लागेको हुनुपर्छ । रास्वपा अहिले संगठन विस्तारको अभियानमा छ । संगठन विस्तारकै क्रममा उनी सुदूरपश्चिम भ्रमणमा थिए । त्यही बेला भूकम्प गयो । उनी दौडेर पीडितको घरमा पुगिहाले । अनि सामाजिक सञ्जालमा तस्बिर राखेर प्रचार गर्न थाले । सामाजिक सञ्जाल चलाउन माहिर रास्वपाका समर्थकले लेख्न थाले– ‘भूकम्पपीडितलाई राज्य र अन्य दलले बेवास्ता गरे पनि रास्वपा भने उद्धारमा खटियो ।’ भूकम्पपीडितको घरघर, ओछ्यान ओछ्यान पुगेको रविको तस्बिर अहिले सामाजिक सञ्जालमा यत्रतत्र पारिएको छ । जसलाई लिएर आगामी निर्वाचनमा भोट बटुल्न सकिने उनले मनोकांक्षा राखेको देखिन्छ ।
बझाङलगायतका जिल्लामा भूकम्पबाट पीडितको राहत र उद्धारमा प्रदेश सरकारसँगै केन्द्र सरकार पनि गम्भीर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक बैठक राखेर भूकम्पपीडितको पक्षमा निर्णय गराएका छन् । उनी शुक्रबार राहत लिएर बझाङ जाँदैछन् । तर सरकारभन्दा पनि अघि हामी भूकम्पपीडितकहाँ पुगेका थियौं भन्ने ठाउँ रविले पाएका छन् । रास्वपाबाट कुनै राहत र सहयोग नपाए पनि सभापति नै आएका थिए है भन्ने भान पार्न रवि सफल देखिएका छन् । रास्वपाको कुनै ठोस आदर्श र सिद्धान्त नभए पनि लोकरिझ्याइँमा चल्ने भएकाले यस्तै स्टन्ट गरेर रविले कतिञ्जेल राजनीतिको रोटी सेक्ने हो ? त्यो भने हेर्न बाँकी छ ।




