काठमाडौं । कुनै समय नेपाली राजनीतिमा बाबुराम भट्टराई निकै आश गरिएका नेता थिए । माओवादी पार्टीबाट राजनीति गरे पनि उनलाई मन पराउनेमा इतर धेरै थिए । बरु सशस्त्र द्वन्द्वकालमै बाबुरामलाई उनकै पार्टीले कारबाही गर्दै श्रम शिविरमा राखेको थियो ।
पढेलेखेका, बौद्धिक र आफ्ना कुरा प्रस्टसँग राख्ने क्षमताकै कारण बाबुरामको लोकप्रियता गैरमाओवादी दलमा पनि धेरै थियो । छोटो समय अर्थमन्त्री र प्रधानमन्त्री बन्दा बाबुरामले गरेका कतिपय निर्णयले उनको क्षमता प्रमाणित नगरेको होइन । तर अस्थिर स्वभावका कारण बाबुराम आफैं संकटमा परे । पहिलो संविधानसभाबाट संविधान बन्न नदिन बाबुरामको पनि भूमिका धेरै भएको मानिन्छ । किनभने पहिलो संविधानसभा भंग हुनेबेला बाबुराम नै प्रधानमन्त्री थिए । दोस्रो संविधानसभाले विभिन्न दबाबका बाबजुद संविधान जारी गरेलगत्तै बाबुरामले माओवादी पार्टी नै त्यागिदिए । र, केही समयपछि नयाँ शक्ति पार्टी खोले । माओवादी पार्टी छाडेदेखि नै हो उनको राजनीतिक करियर समाप्त भएको ।
बाबुराम अहिले सांसद छैनन् । २०७४ को निर्वाचनमा कांग्रेसको समर्थनमा उनले गोरखा २ मा चुनाव जितेका थिए । तर गत मंसिरमा भएको निर्वाचनमा बाबुरामले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि गोरखा २ छाडिदिए । आफ्नी छोरी मानुषीलाई राजनीतिमा स्थापित गराउनकै लागि बाबुरामले माओवादीसँग सहकार्य गरे । संघीय समाजवादी, राजपा, जसपा हुँदै नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम अहिले लगभग किनारामा पारिएका छन् । आफैं जानीनजानी किनारा लाग्दै गएका छन् ।
हुन त बाबुराम अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष छन् । तर पार्टीमा उनको केही चल्दैन । पार्टीका अर्का अध्यक्ष महीन्द्र राय यादव बलियो देखिएका छन् । सोही कारण हुन सक्छ माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बाबुरामलाई बाइपास गर्दै नेसपा अध्यक्षको हैसियतमा यादवलाई पत्र लेखेर पार्टी एकताको प्रस्ताव राखे । यो विषयले समाजवादी पार्टी विभाजनको डिलमा पुगेको छ । यो पार्टी विभाजन भएमा सांसदहरु पनि विभाजित हुने छन् । खानेपानीमन्त्री यादव माओवादीसँग मिल्ने लाइनमा उभिए पनि बाबुराम भने विरोधमा देखिएका छन् । ६ महिना अघिसम्म बाबुराम पनि एकताको पक्षमा थिए । प्रचण्डले बाबुरामलाई कार्यबाहक अध्यक्ष वा राष्ट्रपति बनाउने आश्वासन दिएको र त्यो पूरा नभएपछि उनी रिसाएको पनि चर्चा गरिन्छ ।
बाबुरामको पार्टीमा बसिरहे अर्कोपटक चुनाव जित्न नसकिने र मन्त्री पद पनि खुस्किने भएपछि यादव माओवादीमा जाने मनस्थितिमा पुगेका छन् । यादवसँगै सांसद उमरादेवी पनि माओवादीमा जाने बुझिएको छ । बाबुरामकै पार्टीबाट प्रदेश सांसद रहेका गंगानारायण श्रेष्ठ र फणिन्द्र देवकोटा अन्योलमा छन् । श्रेष्ठ बागमती प्रदेशमा आन्तरिक मामिलामन्त्री छन् । सिन्धुलीमा राजनीतिक भविष्य सुरक्षित गर्न पनि श्रेष्ठ माओवादीमा फर्किन सक्ने विश्लेषण हुन थालेको छ । देवकोटा पनि गोरखामा बाबुरामको पछि लाग्दा अर्को चुनाव जित्न नसकिने भन्दै माओवादीमै फर्किने मनस्थितिमा पुगेको बताइन्छ । माओवादीमा फर्किनका लागि बाबुरामका पिए विश्वदीप पाण्डे पनि पछिल्लो समय प्रचण्ड नजिक भइरहेका छन् । त्यसैले अहिले बाबुराम निकै दबाबमा रहेको बताइन्छ ।
पार्टी एकता गर्न पनि नसकेको मात्र होइन, यादवसँगै पार्टीको ठूलो पंक्ति माओवादीमा जाने हो कि भन्ने चिन्ता उनमा देखिएको छ । बाबुरामको पार्टीमा राजनीतिक भविष्य नदेखेका नेताहरुजति एकताको पक्षमा देखिएका छन् । बाबुरामले पार्टी बनाउन नसक्ने भन्दै उनीहरु विकल्पको खोजीमा लागेका हुन् । नेसपाभित्र यादवसँग भन्दा छुट्टै जाने कि भन्ने समूह पनि रहेको बुझिएको छ । यादवसँगै जानेभन्दा अर्को टोली बनाएर माओवादीमा जान सकिने भन्दै केही नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । बाबुरामसँग एकता गर्दा नेकपा समाजवादी पार्टीको नाम राख्ने गरी माओवादीले पहिले नै सहमति गरिसकेको छ । तर अहिले बाबुरामसँग एकजना पनि कार्यकर्ता नभएको निचोडमा पुगेपछि प्रचण्डले भाउ नदिएको चर्चा छ ।




