कोशी प्रदेश

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने, बहुमत जुटाउन काठमाडौंमा

काठमाडौं । कोशी प्रदेशमा फेरि सत्ता संकट देखिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार उनले १९ गते नै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । त्यस दिन शनिबार परेकोले शुक्रबार नै प्रदेश सभाबाट विश्वासको मत लिने उनले तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना सभामा दर्ता गराउन भने बाँकी छ ।

यसअघि मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा विश्वासको मत लिँदा सभाध्यक्षसमेतको मत जोडेको विषयलाई गैरसंवैधानिक रहेको भन्दै सवोच्च अदालतले भदौ २१ गते बदर गरिदिएको थियो । त्यसपछि एमालेका कार्की मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा एमालेको ४० मत छ । उपसभामुखलाई आफ्नो कर्तव्य निभाउन सर्वोच्चले आदेश नै दिइसकेकाले अबको बैठकको सभाध्यक्ष सिर्जना दनुवारले नै गर्नुपर्ने हुन्छ । उनी एमालेकी सांसद हुन् ।

यदि दनुवारले सभाध्यक्षको भूमिका निभाएमा एमालेको मत ३९ मा झर्नेछ । सोही कारण मुख्यमन्त्री कार्की काठमाडौं आइपुगेका छन् । उनले पार्टी अध्यक्ष केपी ओलीसँग विश्वासको मत लिने बेला के गर्ने भन्ने छलफल गर्ने भएका छन् ।
एमालेका मुख्यमन्त्री कार्कीलाई राप्रपाले समेत मत दिने नदिने निश्चित छैन ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा मंगलबार कोशी प्रदेशमा राप्रपाले के गर्दा हुन्छ भनेर सुझाव लिएका छन् । उनी हाल कतारमा छन् । राप्रपाको प्रदेश सभामा ६ सांसद छन् । एमाले र राप्रपाको मतले पनि बहुमत पुग्दैन । त्यसैले हालको सत्ता गठबन्धनलाई नै फुटाउने रणनीतिमा एमाले अध्यक्ष ओली लागेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *