काठमाडौं । भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धीको सम्झनामा र सम्मानमा संयुक्त राष्ट्रसंघले यता केही वर्षदेखि अक्टुबर २ लाई विश्व अहिंसा दिवसको रुपमा मनाउन थालेको छ । जब जब हामीहरु हिंसाबाट प्रताडित हुन्छौँ, तबतब हामी अहिंसाका पुजारी महात्मा बुद्धको याद गर्दछौँ र पछिल्लो पटक अहिंसाका लागि आफ्नो ज्यान नै विसर्जन गरेका भारतका राष्ट्रपिता महात्मा गान्धीको याद गर्दछौँ । नेपाललाई जहानियाँ शासनमा सदैव जकेडेर राख्न अंग्रेजहरुको पनि सहयोग रहेकोले धेरै नेपालीहरुले गान्धीको अंग्रेजलाई भारतबाट हटाउने आन्दोलनमा भाग लिएका थिए । त्यसैले नेपालको प्रजातन्त्र प्राप्तिका लागि पनि उहाँ एक प्रेरणाका श्रोत हुनुहुन्थ्यो ।
नेपालमा आज एउटा निःस्वार्थरुपमा अहिंसाकालागि सहादत दिन पनि पछि नपर्ने तर सत्यका पक्षमा अडिग रहने गान्धीको आवश्यकता परिरहेको छ । राजतन्त्रको अन्त्यपछि र गणतन्त्रको स्थापनापछि नेपालको राजनीतिले केके न कोल्टे फेर्ला र आमूल परिवर्तनको मेवा खान पाइएला भनेको त स्थिति पहिलेको भन्दा पनि झन् झन् बिग्रँदै गएको आभास हुन्छ । झन शान्तिप्रक्रियाका सहयात्रीहरूमै अद्भूत प्रकारको विभाजन पैदा भएको छ । हिजो सँगै बसेर र लडेर शान्तिप्रक्रियामा लाग्नेहरुमा नयाँ विभाजन देखिएको छ । एउटै शान्तिप्रक्रियालाई हेर्ने दृष्टिकोणमा फरक फरक प्रक्रिया र परिणामको अनुमान गर्नेहरू अहिले सत्ताका लागि एउटै डुङ्गामा सबार भएका छन् ।
सत्तामा रहने र विपक्षमा रहनेहरु पहिले एउटै सिक्काका दुई पाटा बनेका थिए तर अहिले अविश्वासको बादल मडारिएको देखिँदैछ । सबैमा अविश्वास देखिएको छ र विश्वासको सङ्कट देखापरेको छ । एकअर्काका बीचमा विश्वासको सङ्कट यसरी गहिरिएको छ कि त्यसको पूर्वानुमान लगाउन पनि मुस्किल परिरहेको छ । दलहरु आन्तरिक विवादको भुमरीमा फसेका छन् , यसो हुनुमा राजनीतिलाई नैतिकताको धरातलमा भन्दा स्वार्थको तराजुमा जोख्नेहरुको बिगबिगी बढेको बेला छ ।
स्वर्गीय मोहनदास करमचन्द गान्धी हाम्रो छिमेकी देश भारतका राष्ट्रपिता हुनुहुन्छ । उहाँ भारतको राष्ट्रपति पनि बन्नुभएन, प्रधानमन्त्री पनि बन्नुभएन, गभर्नर जनरल पनि हुनुभएन तर भारतलाई औपनिवेशिक जन्जिरबाट स्वतन्त्र गराउन सक्षम हुनुभएकाले उहाँलाई कृतज्ञ भारतीयहरूले राष्ट्रपिता मान्दछन् । महान भारतीय जनतालाई औपनिवेशिकताको कठोर काराबासबाट उन्मुक्ति दिन गान्धीले अहिंसाको अत्यन्त धारिलो हतियार प्रयोग गर्नुभयो ।
महात्मा गान्धी बाणीविहीनको वाणी बन्नुभयो, करोडौँ— अरबौँ दुःखी—घरबारविहीन तर स्वतन्त्रताप्रेमी उन्नायकहरूका लागि ज्युँदो ईश्वरका रूपमा प्रेरणाका श्रोत बन्नुभयो । उहाँ भन्नुहुन्थ्यो— मलाई विश्वास छ, हिंसाको तुलनामा अहिंसा अनन्तरूपले माथि हुन्छ, दण्डको तुलनामा क्षमा नै धेरै मानवोचित वा मान्छेप्रति न्यायगर्ने एउटा सबल आधार हुन्छ । क्षमा र प्रार्थनाले जुन उर्जा दिन्छ, त्यही नै जीवनको लागि मार्ग दर्शक ज्योति हुन्छ ।
सातओटा सिद्धान्तको कुरा गर्नुभयो गान्धीेले जुन आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ सुशासनका लागि, राज्य नीतिका लागि र पारदर्शिताका लागि । विना परिश्रमबाट प्राप्त सम्पत्ति, विवेक विनाको सुख सयल, चरित्र विनाको ज्ञान, नैतिकता विनाको व्यापार, मानवता विनाको विज्ञान , त्याग विनाको धर्म र सिद्धान्त विनाको राजनीति ।
गान्धीको जीवन नै सबैका लागि आदर्शको रह्यो किनभने उहाँले आफ्नो जीवनभर आफ्ना सिद्धान्तमा, मानवीय स्वतन्त्रतामा र मानव अधिकारको पक्षमा कतै कहीँ कोहीसँग सम्झौता गर्नु भएन । त्यो सिद्धान्त भारतका लागि मात्र नभएर संसारका सबै न्यायप्रेमी, स्वतन्त्रताप्रेमी , प्रजातन्त्रप्रेमी , विकासप्रेमी र राष्ट्रप्रेमीका लागि उहाँ आदर्शका पात्र हुनुभयो । सीमाभन्दा बाहिर समेत श्रद्धाका पात्र महात्मा गान्धीको अहिंसाको महत्व झन अहिले टड्कारो रुपमा विश्वमा खट्किरहेको छ ।
हजारौँ ट्याङ्क, लाखौँ बन्दुक र करोडौँ गोलीसँग लड्न उहाँले सत्य र अहिंसाको दुईधारे हतियार प्रयोग गर्नुभयो । जुन उदारता र महानताका साथ अफ्रिका र भारतलाई गान्धीले नेतृत्व गर्नुभयो । त्यसैले पोरबन्दरको एउटा बालक एकदिन महान भारतको महात्मा गान्धी बन्नुभयो, राष्ट्रपिता बन्नुभयो । विशाल अफ्रिकाका उद्धारक बन्नुभयो, भूगोलको सीमा चिरेर संसारका उत्पीडित तथा स्वतन्त्रता चाहनेका लागि नै स्वाभिमानी , स्वतन्त्रताप्रेमी, लोकतान्त्रिक मूल्य र मान्यताको धरोहर र अहिंसाको ज्वलन्त द्योतक भएर विश्व समुदायमा अनुप्राणित हुन पुग्नुभयो ।
संसारभर चर्चित छ उहाँका ३ ओटा बाँदरहरुको कथा । एउटाले कान थुन्छ, एउटाले आँखा बन्द गर्छ र अर्कोले मुख थुनेर बस्छ । सांकेतिक अर्थ के लगाइएको छ भने मुख बन्द गरेर बस्नु भनेको खराब कुरा नगर, असत्य नबोल । नराम्रो कुरा नहेर्नका लागि आँखा बन्द गरेको संकेतले बताउँछ । अनि कान बन्द गर्नु भनेको नराम्रो कुरा सुन्नु नपरोस् या कसैले नभनोस् । सुन्नै नपरोस् ।
अहिले विश्वभर हिंसात्मक द्वन्द्वले अनावश्यक महत्व पाएको छ । हिंसा र द्वन्द्वका सहारामा विश्व जित्ने, राष्ट्र जित्ने, व्यक्ति तथा समुदायहरूलाई आतङ्कित बनाई आफ्नो अभीष्टता पूरा गर्ने लहर चलेको छ । हाम्रो दक्षिण एसिया एक प्रकारले आतङ्कवादद्वारा आक्रान्त छ । स्वयं गान्धीको देश भारत हिंसा—द्वन्द्व—आतङ्कबाट यत्ति प्रभावित छ कि त्यसबाट हुने क्षतिको पूर्ति हुनै सक्दैन ।
अहिले विश्वभर गान्धीको सम्झना सबैलाई आउन थालेको छ । विश्वसमुदायको प्रतिनिधि संस्था संयुक्त राष्ट्रसंघले पनि अन्तराष्ट्रियरूपमा अहिंसालाई संस्थागत संस्कृतिको स्वरुपमा आत्मसात गर्न अक्टुबर २ लाई गान्धी दिवस अथवा अहिंसा दिवस मनाउने निर्णय गरेको छ । यसले पनि अहिँसालाई विश्वसमुदायले महत्वपूर्ण रुपमा हेरेको प्रमाणित हुन्छ । यो अहिंसाको महत्व बढेको नै आजको हिंसात्मक प्रवृत्तिको विस्तारका कारणले हो ।
आज विश्वभर सामाजिक न्याय प्राप्तगर्नका लागि अहिंसाले मात्र सम्भव छ र अहिसाबाट प्राप्त उपलब्धि कहिल्यै गुम्दैन भन्ने विश्वास बढ्न थालेको छ । यो विश्वास गान्धीको देन हो र बिसौँ र एक्काइसौँ शताब्दीका लागि यो गान्धीको उपहार पनि हो । उत्तरआधुनिक कालका बुद्धका रुपमा गान्धीलाई नै लिन सकिन्छ । हाम्रा देशका प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादका पथप्रदर्शक नेता बीपी कोइराला पनि गान्धीबाट प्रभावित हुनुहुन्थ्यो र नेपालको विकासमा घरेलु उद्योगमार्फत् गाउँ गाउँ विकास गरेपछि नेपाल स्वतः विकास हुन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । बीपी तत्कालीन विश्व नेताहरुमा सबैभन्दा बढी गान्धीबाटै प्रभावित हुनुहुन्थ्यो र नेपालमा प्रजातन्त्रका लागि हुने सबे खालका आन्दोलनप्रति गान्धीको नैतिक समर्थन थियो भन्ने बुझ्न सकिन्छ ।
अब मोहनदास करमचन्द गान्धी—महात्मा गान्धी भारतको मात्र नेता , राष्ट्रपिता वा दार्शनिक रहनु भएन , उहाँ नेल्सन मन्डेलाका पनि प्रेरक व्यक्तित्व हुनुहुन्छ , जोन एफ. केनेडी ,मार्टिन लुथर किङ् जुनियर, बीपी कोइराला, गणेशमान सिंह, जवाहरलाल नेहरु, बिली ब्रान्ट,आङ साङ सुकी आदि अहिंसावादी हजारौँ—लाखौँ नेताहरूको, भोकले पीडित, द्वन्द्वपीडित, हिंसापीडित, रङ्गपीडितहरूको दुःख खप्ने प्रेरणाका स्रोत हुनुहुन्छ ।
एउटा महात्मा गान्धीले अफ्रिकालाई दासताबाट मुक्त गर्ने साहसको वीजारोपण गर्नुभयो, भारतलाई स्वतन्त्र बनाउन सक्नुभयो, विश्वका करोडौँ शोषित—पीडित—घरबारविहीन सर्वहाराहरूलाई मान्छे भएर बाँच्न सिकाउनु भयो—सत्य र अहिंसाको उच्चमूल्याङ्कन गर्ने प्रक्रिया सिकाएर जानुभयो । स्वाभिमानका साथ जीवन बाँच्ने अहिंसाको पाठ पढाएर जानुभयो, , जीवनको स्वतन्त्रता भन्दा ठूलो अर्को सत्य छैन भन्ने जीवन दर्शन घोकाएर जानुभयो ।
गान्धीको जनताप्रति अगाध आस्था र प्रेम थियो , सत्य र अहिंसाप्रतिको अविचल आस्थाले बरु सहिद हुन रुचाउनु भयो, तर कसैसँग असत्यको पक्षमा घुँडा टेक्नु भएन । आफ्नो आस्था विरुद्धमा । उहाँलाई एउटा ज्योतिर्मय अन्तर्दृष्टि भएछ —सहादत प्राप्त गर्नुभन्दा दुई दिन अघिमात्र भन्नुभएथ्यो—मलाई कसैले गोली हानेर मार्छ भने पनि म उसलाई छेक्ने पनि छैन, म उसलाई दण्डको भागी गराउन सिफारिस पनि गर्दिन र ऐया पनि भन्दिन । यो भनाई २८ जनबरी १९४८को थियो । ३० जनबरी १९४८मा जब उहाँलाई नाथुराम गोड्सेले गोली हान्दा—मात्र उहाँका मुखबाट अन्तिम शब्द ूहे राम१ हे राम११ हे राम१११ूमात्र निस्कियो । यो नै एउटा महात्माको महानिर्वाण थियो र गोलीको बदला क्षमा थियो ।
यो सुन्दा कुनै रोमाञ्चकारी दन्त्यकथा जस्तो लागे पनि यस्ता महापुरुष हाम्रै छिमेकमा अवतरित हुनुहुन्थ्यो र नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि पनि उहाँ एउटा प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो भन्दा हामीलाई झन उहाँप्रति श्रद्धा जागेर आउँछ । यसैलाई भन्नुपर्ने हुन्छ कि अहिँसाको महाबलले जुन उर्जा प्राप्त हुन्छ, त्यो उर्जाको श्रोत भनेको क्षमा र प्रार्थना हो भन्ने प्रमाणित हुन्छ गान्धीको जीवनबाट ।
एउटा गलत भूललाई हजारौँ पटक ठिक भएको भने पनि त्यो वास्तवमा सत्यमा परिणत हुन सक्दैन र एउटा सत्यलाई लाखौँ पटक तोडमरोड गरे पनि भूल वा असत्य सावित अन्ततः हुँदैन । सत्यका वरिपरि झुठको रक्षाकबच हुने गर्दछ भन्ने चर्चिलको चर्चित भनाइ यहाँ याद आउँछ । यसलाई भेदन गर्न पनि सत्यलाई राम्रोसँग पहिचान गर्नुपर्छ । यसका लागि महात्मा गान्धी सफल हुनुभयो र संसारका घाम नै नस्ताउने साम्राज्यलाई अहिंसाको हतियारले पराजित गर्नुभएको थियो । गान्धीले सत्यका पक्षमा जहिले पनि वकालत गर्नुभयो जुन धेरै कठिन छ भनेर गान्धी आफैँ बारम्बार भन्नुहुन्थ्यो ।
हाम्रा मित्र देश भारतका राष्ट्रपिताप्रति हामीले यसकारणले पनि नतमस्तक भएर अहिंंसाको पाठ सिक्नु पर्दछ कि कुनै पनि राज्यको जनताका आधारभूत आवश्यकताहरू अहिंसा र शान्तिबाट मात्र पूरा हुन सक्दछन् जसलाई आधुनिक राजनीतिमा ूशान्ति र अहिंसाका लागि जनताको मनोबल बढाउने संयन्त्रका रूपमा लिइन्छ ।
महामानव महात्मा गान्धीको आत्माले शान्ति पाइरहोस् र संसारभर संयुक्त राष्ट्रसंघमार्फत् अहिंसाको सुवास फैलिरहोस् , यस अन्तराष्ट्रिय अहिंसा दिवसले । नेपालको दिगो शान्ति भनेको अहिँसामा नै जोडिएको छ । गान्धीजीबाट हामीले सिक्ने पाठ भनेको पनि सम्भवतः यही हो । नेपालमा अहिले पनि पुरानो द्वन्द्वको घाउ चहराउँदै छ , संक्रमणकालीन न्याय अझै पीडितले पाएका छैनन् र पीडकहरु कोही सत्तामा छन् त कोही ढुक्कसँग अझ पीडितहरुलाई पीडा दिएर घुमिरहेका छन् । सबैले स्वार्थ छोडेर , प्रायश्चितको मनले जनतासँग , पीडितसँग माफी माग्दा र न्यायका लागि तत्काल पहल गर्दामात्र अहिंसाको मूलमर्म स्थापित हुनेछ ।




