काठमाडौं । एमाले कोशी प्रदेशको सरकार बचाउने विशेष रणनीतिमा लागेको छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० भित्र प्रदेश सभाबाट विश्वासको मत लिनैपर्ने बाध्यता छ । यदि सो दिन विश्वासको मत नपाएमा उनको मुख्यमन्त्री पद जाने छ । त्यही भएर अहिले ४७ मत कसरी जम्मा गर्ने भन्ने खेलमा एमालेको सिंगो नेतृत्व लागेको छ ।
प्रदेश सभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक सिट छ । अहिले सत्ता पक्षसँग ४० र विपक्षमा बहुमत छ । एमालेले राप्रपाको ६ र एकीकृत समाजवादीको दुई मत चोरेर आठ जोड्ने लक्ष्य लिएको छ । एमालेकी सिर्जना दनुवार उपसभामुख भएकाले उनले मत हाल्न पाउँदिनन् ।
त्यसकारण एमालेको ३९ मत हुने छ । त्यही भएर राप्रपालाई मनाउन सके र एकीकृत समाजवादीको दुई मत चोर्न सके सजिलै बहुमत पुग्ने एमालेको आकलन छ । त्यसका लागि एकीकृत समाजवादीका दुई सांसद कमलप्रसाद जबेगु र खिनु लङ्वालाई मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन लगाउन एमालेले पार्टी नेता झलनाथ खनाललाई उधारो टिकट दिने सहमति गरेको विशेष स्रोतले बताएको छ ।
इलाम २ मा गत निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङ नेकपा निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले जितेका थिए । त्यसैले अब हुने उपनिर्वाचनमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । एमालेले कोशी प्रदेश सरकार बचाउन एकीकृत समाजवादीका वरिष्ठ नेता खनाललाई इलाम–२ को उधारो टिकटको आश्वासन दिएको बुझिएको छ ।
एकीकृत समाजवादीले पार्टीगत निर्णय नगरेमा खनाल निकट सांसद जबेगु र लङ्वाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत हाल्न सक्ने अनुमान गरिएको छ । एकीकृत समाजवादी राष्ट्रिय पार्टी नभएकाले ह्विप उल्लंघन हुँदा दल विभाजनमा अर्थ राख्दैन । यदि एमाले पहिलो मिसनमा सफल भयो भने एकीकृत समाजवादी चोइटिने निश्चित छ । त्यसको असर संघीय सरकारमा पनि पर्ने छ ।
कांग्रेस माओवादी गठबन्धनको विरोध गर्दै आएका खनाल एमाले प्रवेश गर्ने चर्चा छ । तर उनले सार्वजनिक रूपमा आफू एमाले नजाने बताइसकेका छन् । तर पनि उनले सरकारविरुद्ध आक्रामक भाषण गर्न छाडेका छैनन् । उनले संघीयता नै धरापमा पर्नेसमेत चेतावनी दिइसकेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक्ल्याउन एमाले अध्यक्ष केपी ओली जुनसुकै अस्त्र चलाउन तयार छन् । यदि एकीकृत समाजवादीलाई चोइट्याए वा आफ्नो पार्टीमा विलय गराउन सकेमा संसदमा ठूलो दल बन्ने ओलीले सपना देख्न थालिसकेका छन् । अहिले ओलीले सरकारको कडा आलोचना गर्नु र कांग्रेसलाई फकाउन थाल्नुले धेरै अर्थ बोकेको विश्लेषण गर्न थालिएको छ ।




