राजनीति

रविको धम्कीयुक्त विज्ञप्तिपछि पनि रास्वपा चार वर्ष सरकार बाहिरै बस्ला ?

काठमाडौं । गत मंसिरको निर्वाचनलगत्तै संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल भयो । पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बने । तर, दोहोरो नागरिकताका कारण उनको सांसद पद खारेज भयो । आफ्नो सांसद पद खारेज भए पनि उनले सरकारमै टिकिराख्न अनेक प्रयत्न गरेको जगजाहेर छ ।

आफ्नो सांसद पद खारेज भएपछि उनले पार्टीका मन्त्रीहरूलाई सरकारमा रहन दिएनन् । आफूसँगै राजीनामा दिन लगाए । वैशाखमा भएको चितवन २ को उपनिर्वाचनमा रवि लामिछाने पुनः विजयी भए । रास्वपाका नेताहरू अहिले जनगुनासो सुन्ने भन्दै देश दौडाहामा लागेका छन् । यही क्रममा रवि लामिछानेले शुक्रबार बिहान आगामी निर्वाचनमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन भन्दै पुराना दलप्रति व्यंग्य गरेका छन् । उनले चार वर्ष मिलेर काम गर्न र त्यसपछि २०८४ को चुनावमा आफूलाई राजनीतिबाट विस्थापन गराइदिन आग्रह गरेका हुन् ।

‘यो चार वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याइँवाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस् । चार÷चार वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस्, आफ्नो अपार क्षमता’, उनले भनेका छन् ‘जनताले तपाईँहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् ।’

उनले देशका तमाम समस्या सुल्झाउन रास्वपाबाहेकको सर्वदलीय सरकार गठन गरेर काम गर्न अपिल पनि गरेका छन् । ‘देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रूपमा अब यो चार वर्ष तपाईहरू सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामीबाहेकको सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ’, उनले लेखेका छन् । चार वर्षअघि नै ‘एड्भान्स’मा घण्टी बजाएर सचेत गराएको भन्दै उनले त्यसपछि कि पुराना दल रहने कि आफूहरू रहने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर, कि तपाईको कि हाम्रो ।’

रविको यस्तो धम्कीयुक्त स्टाटसपछि रास्वपाका लागि सरकारको ढोका बन्द भएको विश्लेषण गर्न थालिएको छ । रविले सहमतीय सरकार बनाउन अरु दललाई आग्रह गर्दै आफूले प्रतिपक्षी मोर्चा सम्हाल्ने उल्लेख गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दशैंलगत्तै विस्थापित हुने गरी राजनीति भित्रभित्रै गर्माइरहेको छ ।

एमाले अध्यक्ष केपी ओलीले शुक्रबार विराटनगर पुगेर सरकारको आलोचना गर्दै नेपाली कांग्रेसविरुद्ध आक्रोश पोखे । उनले कांग्रेस जिम्मेवार बने संयुक्त सरकार बन्न सक्ने संकेत पनि गरे । कांग्रेस र एमालेबीच दशैंपछि सहमतीय सरकार बन्ने चर्चाकै बीचमा रविले धम्कीयुक्त स्टाटस लेखेको राजनीतिक वृत्तमा चर्चा छ । उनले अहिले नै अरु सबै दल एकातिर, आफ्नो दल अर्कोतिर जसरी जुन विश्लेषण गरेका छन्, त्यो निकै हतारमा लेखेको बताइन्छ । भोलिका दिनमा काठमाडौंका मेयर बालेन्द्र साह बालेनले पार्टी मात्रै खोले पनि रास्वपाको हविगत के होला भन्ने अनुमान लगाउनसमेत गाह्रो छ ।

यदि कांग्रेस र एमाले मिलेर सरकार बनाएमा पूरै अवधि टिकाउ हुने मात्र होइन, अहिले देखिएका सबै समस्या समाधान हुने एकथरी राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । एमालेले कोशी प्रदेशबाटै कांग्रेससँग मिलेर सरकार बनाउने रणनीति अख्तियार गरेको छ । आगामी असोज २० गतेपछि त्यसले मूर्तता पाउने बताइन्छ । एमालेले कोशीमा कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाए आफ्नो दलले समर्थन गर्ने प्रस्ताव राखिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *