राजनीति

शिवभक्त प्रचण्ड, एकै वर्ष उज्जैनको महांकाल, पशुपति र कैलाशको दर्शन

काठमाडौं । देशमा अहिले विभिन्न समस्या देखिएको छ । दुई सातादेखि संघीय संसद् ठप्प छ । जनताका दुःख र पीडाबारे जनप्रतिनिधिले संसदमा बोल्न पाएका छैनन् । शिक्षक, कर्मचारी, चिकित्सक सडक आन्दोलनमा छन् । तर सरकार प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई सातादेखि विदेश भ्रमणमा छन् ।

भारत, अमेरिका र चीनको भ्रमण गर्दा प्रचण्डले तीन साता विदेशमै गुजारिसकेका छन् । तर, कुनै देशको भ्रमणबाट पनि प्रचण्डले सफलता हात पार्न सकिरहेका छैनन् । बरु यसबीचमा प्रचण्डको चोला फेरिएको छ । वैशाखयता उनी कट्टर धर्मभिरु बनेर देखापरेका छन् । आफूलाई नास्तिक भन्न रुचाउने प्रचण्डले यसबीचमा चर्चित तीनवटा महादेवको मन्दिरको दर्शन गर्न सफल भएका छन् ।

वैशाख तेस्रो साता भारतको औपचारिक भ्रमणमा गएमा प्रधानमन्त्री प्रचण्ड उज्जैन पुगेर चर्चित महांकालको दर्शन गरेका थिए । त्यसका लागि उनले पाँच करोड भन्दा बढी मूल्यको रुद्राक्ष सँगै लगेर चढाएका थिए । उज्जैनको महांकाल मन्दिरमा भव्य रूपमा पूजाअर्चना गर्दा उनको शरीर गेरुवस्त्रधारीमा परिणत भएको थियो । भारतबाट फर्केर भ्रमणको उपलब्धि सुनाउने बेला प्रचण्डले महांकाल मन्दिरमा पूजाअर्चना गर्न पाउनु आफ्नो अहोभाग्य भएको संसदमै बेलिविस्तार लगाएका थिए ।

भारतबाट फर्केको केही दिनमै उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । प्रधानमन्त्री भएकै बेला पशुपतिनाथको मन्दिर दर्शन गर्नेमा प्रचण्डले आफ्नो नाम राखेका छन् । यसअघि एमाले अध्यक्ष केपी ओलीले पशुपतिनाथको पूजाअर्चना गरेका थिए । ओली र प्रचण्ड दुवै कम्युनिस्ट नेता हुन् । तर दुवैले जनसमर्थन बटुल्न धर्मलाई प्रयोग गर्दै आएका छन् । उज्जैनको महांकालमा पूजाअर्चना गरेपछि पशुपतिनाथको दर्शन नगरे सिद्धि नहुने किंवदन्ती रहेकाले पनि प्रचण्डले पशुपतिनाथ मन्दिरमा पुगेर तामझामका साथ पूजाअर्चना गरेका थिए ।

ओलीले भने पशुपतिको जलहरीमा सुन राख्ने प्रयोजनका लागि मन्दिरको दर्शन गरेका थिए । पशुपतिनाथको दर्शन गरेको केही समयपछि नै ओलीको प्रधानमन्त्री पद खुस्किएको थियो । जलहरीमा राखिएको सुन घोटाला काण्डलाई लिएर उनको व्यापक आलोचना भएको थियो । जलहरी काण्डमा मुछिएका सबैमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । ओलीले भने जलहरीमा राखिएको सुनमा भ्रष्टाचार नभएको दाबी गर्दै आएका छन् । अख्तियारले छानबिन थालेपछि पशुपति विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपति मन्दिरमै आत्महत्या गर्ने चेतावनीसमेत दिइसकेका छन् ।

अहिले प्रचण्ड पनि ओलीकै बाटोमा छन् । दशैंलगत्तै नयाँ गठबन्धन बन्ने र प्रचण्ड प्रधानमन्त्रीबाट विस्थापित हुने चर्चा सुरु भइसकेको छ । यतिबेला प्रधानमन्त्री प्रचण्ड कैलाश मानसरोवरको तीर्थयात्रामा छन् । उनी बिहीबार मानसरोवर पुगेर कैलाश पर्वतको दर्शन गरेका थिए । राज्यको करोडौं खर्च गरेर प्रधानमन्त्री प्रचण्ड लावालस्करसहित तीर्थाटनमा निस्केका हुन् । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए ।

उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ । देशमा यति धेरै तमाम समस्या छ, तर प्रधानमन्त्री प्रचण्ड भने रमाइलोमा व्यस्त रहेको भन्दै उनको आलोचना भइरहेको छ । चीन भ्रमण अपेक्षित सफल नभएपछि प्रचण्ड तीर्थाटनमा निस्केका हुन् । एकै वर्ष उज्जैनको महांकाल, पशुपतिनाथ र तिब्बतको कैलाश पर्वतको दर्शन गरेर प्रचण्डले आफूलाई कट्टर शिवभक्त भएको प्रमाणित गरेका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड तीर्थाटनमा रहेका बेला माओवादीले भने देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेको निष्कर्ष निकाल्दै यसप्रति सचेत रहन सबैलाई अपिलसमेत गरेको छ । उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखापरेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *