काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला संगठन विस्तारको अभियानमा लागेको छ । देशभर जनताको गुनासो सुन्ने कार्यक्रम लिएर हिँडेको रास्वपाको प्रमुख ध्यान कोशी प्रदेशमा केन्द्रित भएको छ । सत्ता संकटले कोशीमा सरकार अस्थिर बनिरहेको छ । वैशाखयता कुनै पनि सरकारले एक महिना कट्न पाएको छैन । २०–२५ दिनमा सत्ताको बागडोर परिवर्तन भइरहेकाले कोशीमा चाँडै मध्यावधि निर्वाचन घोषणा हुने अपेक्षा रास्वपाले गरेको छ ।
मध्यावधि निर्वाचनलाई ध्यान दिँदै रास्वपाले पार्टीको सम्पूर्ण तागत अहिले कोशीका विभिन्न जिल्लामा लगाएको छ । पार्टी सभापति लामिछानेदेखि महासचिव मुकुल ढकाल, केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ, निशा डाँगीलगायत सबै कोशीका इलाम, ताप्लेजुङ, पाँचथरलगायतका जिल्ला पुगेर कार्यक्रम गरिरहेका छन् ।
मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा रास्वपाले भाग लिएको थिएन । जसकारण सातै प्रदेश सरकार गठन र सञ्चालनमा रास्वपाको भूमिका शून्य छ । रास्वपा सभापति लामिछानेले प्रदेश सभाका कुनै उम्मेदवारलाई पनि भोट हालेका थिएनन् । त्यसैले रास्वपा संघीयता विरोधी पार्टीको रूपमा चित्रित हुँदै आएको छ । तर झन्डै एक वर्षको दौरानमा रास्वपाले आफूलाई संघीयताको पक्षधर पार्टीको रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ । त्यसका लागि कोशीमा मध्यावधि निर्वाचन भएमा भाग लिने र उम्मेदवार उठाउने रास्वपाको भित्री तयारी छ । यो तथ्यलाई सभापति लामिछानेले पनि भाषणमार्फत सार्वजनिक गरिरहेका छन् ।
कोशीमा अहिले एमाले नेतृत्वको अल्पमतको सरकार छ । एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । कार्की मुख्यमन्त्री बनेको २० दिन पुगिसकेको छ । अब उनले असोज २० गतेभित्र प्रदेश सभामा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ । तर एमालेसँग बहुमत पुग्ने सांसद छैनन् । ऊसँग ४० सांसद छन् । बहुमत ल्याउन ४७ सांसद चाहिन्छ ।
विपक्षीमा रहेको राप्रपाले पनि अहिले एमालेलाई साथ दिइरहेको छैन । विश्वासको मत लिने बेला राप्रपाले तठस्थ बस्ने नीति लिएको छ । यसअघि तीनवटा प्रदेशमा राप्रपा तठस्थ बसिकेको छ । त्यसैले कोशीमा एमाले नेतृत्वको सरकारको आयु अब १० दिन मात्र बाँकी रहेको आकलन गरिएको छ । यदि मुख्यमन्त्री कार्कीले मध्यावधि निर्वाचन घोषणा गरेमा त्यसको सबैभन्दा बढी फाइदा रास्वपालाई हुने बुझाई सभापति लामिछानेको छ । त्यसकारण अहिले उनी कोशी प्रदेशका विभिन्न जिल्लामा संगठन विस्तार अभियानमा केन्द्रित भएका हुन् ।
मंसिरको निर्वाचनमा जनताले रास्वपाका उम्मेदवार नै नहेरी चुनाव चिन्ह घन्टीमा भोट हालेका थिए । तर अबको निर्वाचनमा त्यो सम्भव देखिएको छैन । १० महिनाको अवधिमा रास्वपा र त्यस पार्टीको नेता कार्यकर्ता र समर्थकको नाडी जनताले छामिसकेका छन् ।
रास्वपाका नेताहरूमा कुनै पनि विषयमा प्रस्टता नभएको, लोकरिझ्याइँमा रमाउन चाहेको, अर्कालाई गाली गरेर आफू सुप्रिम बन्न खोजेको जनताले बुझिसकेका छन् । पार्टीको आदर्श र सिद्धान्तदेखि विदेश नीतिसमेत नभएपछि रास्वपालाई चुनावमा जान त्यत्तिकै सहज छैन । हिजो ठूला दलका केही नेताको रिसमा रास्वपाले सफलता पाएको थियो । अब त्यही स्तरको सफलता पाउन फलामको च्यूरा चपाउनुसरह हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।




