काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजनीति गर्दा अर्थतन्त्रमा देखिएको समस्या बढिरहेको देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भएर आएपछि गभर्नर अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको छ भन्ने भाषण गरेका थिए । उनले पौडेल अर्थमन्त्री भएलगत्तै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन पनि संशोधन गरे । तर पौडेल अर्थमन्त्रीबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा उनले गर्ने भाषण फेरियो । मौद्रिक नीतिको आफ्नै सीमा छ भन्न थाले । उनले सेयर बजार र घरजग्गालाई चाहिनेभन्दा धेरै पेलेकाले बजार सुस्त भएको अर्थविद्हरू बताउँछन् ।
सेयर लगानीकर्ताका संगठन मात्रै होइन, उच्चपदस्थ प्रशासक र आमनागरिकसमेत सेयर बजार र घरजग्गा चलायमान बनाउन राष्ट्र बैंकले सहयोग नगर्दा अर्थतन्त्र समस्यामा परेको बताउन थालेका छन् ।अर्थतन्त्रको संरचनात्मक सुधार गर्न सक्ने हैसियत भएका प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका उच्च अधिकारीले विशिष्ठ श्रेणीका कर्मचारी (गभर्नर) ले बनाउने मौद्रिक नीतिबाट अर्थतन्त्रको कार्यदिशा फेरिनुपर्ने अपेक्षा गरिरहेका छन् ।
अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिले नेतृत्व लिनुपर्ने धारणा प्रधानमन्त्री र अर्थमन्त्रीमात्रै नभई उद्यमी, व्यवसायी र सर्वसाधारणले समेत राखिरहेका छन् । समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने वित्त नीतिमा सुधार गर्दै बजारमा माग बढाउन असफल भएका सरकारी अधिकारी मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान र बलियो बनाउनुपर्ने गलत अपेक्षा गरिरहेका छन् । अझ केही व्यक्ति त राष्ट्र बैंकले अर्थतन्त्र बिगारेको भन्दै राष्ट्र बैंकले नै सुधार गर्नुपर्ने माग गर्छन् ।
अर्थमन्त्री डा। प्रकाशशरण महतले पनि विभिन्न सार्वजनिक कार्यक्रममा मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउन सहयोग गर्नुपर्ने धारणा राख्दै आएका छन् । अर्थमन्त्रीले अर्थतन्त्र चलायमान बनाउन ब्याजदर घट्नुपर्ने, सेयर बजारमा लिइएको १२ करोड रुपैयाँको सीमा हट्नुपर्ने र त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने बताउने गरेका छन् । तर गभर्नर अधिकारी टसमस देखिएका छैनन् ।
गभर्नर अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच सोमबार सेयर बजार सुधारका विषयमा छलफल भएको छ । भेटमा दुवैबीच १२ करोडको सीमासहित विभिन्न विषयमा छलफल भएको छ । हमालले १२ करोडको सीमा हटाउने विषयमा प्रसंग उठाएका थिए । यस विषयमा गभर्नर अधिकारी सकारात्मक रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच १२ करोड रहेको सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ २० करोडसम्म पुर्याउने छलफल भएको छ । छलफलमा संस्थागतर्फ भने कति सीमा निर्धारण गर्ने भन्ने विषयको टुंगो नलागेको स्रोतले बताएको छ । यद्यपि संस्थागततर्फको सीमा व्यक्तिगतको भन्दा दोब्बर वा त्यो भन्दा धेरै हुनसक्ने सम्भावना देखिएको छ ।
मंगलबार पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले एमाले अध्यक्ष केपी ओलीलाई भेटेकी छन् । उनले सेयर बजारमा लिइएको १२ करोड रुपैयाँको सीमा हट्नुपर्ने विषयमा लबिइङ गरिदिन ओलीलाई आग्रह गरेकी छन् । यस विषयमा ओली सकारात्मक भएको उनको भनाइ छ ।




