विचार

नेम्वाङ नेपाली राजनीतिका एक शालीन र समन्वयकारी नेता

भाका, भूल, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।।
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ।”

सभार : लेखनाथ पौड्याल

जीवनको शाश्वत सत्य मृत्यु नै हो । त्यसैले मृत्युलाई कुनै न कुनै समयमा सहर्ष स्वीकार गर्नु नै पर्दछ । जीवनको स्वभाविक लक्ष्य मृत्युमै गएर अन्त्य हुन्छ । मृत्युको सत्यलाई मानवको जीवनले चाहेर होस् वा न चाहरेर अँगाल्दै आइरहेको छ तर मानिसको मृत्युभन्दा पनि उसले जीवनभर गरेको कर्मको आधारमा मृत्युको स्वभाविकतालाई मूल्याङ्कन गरेर हेरिन्छ । जीवनका समयहरूलाई कति सार्थक र कति विशिष्टतापूर्ण कर्महरूद्वारा सिञ्चित गर्न सकिएको छ । यस्तै विशिष्ट व्यक्तित्व थिए– संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ । उनको जीवन देश र जनताको सेवामा क्रियाशील रहँदै सार्थक रूपमा बित्यो ।

उनको निधनले आज सम्पूर्ण देश शोकमग्न बन्न पुगेको छ । बिहीबार उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेम्वाङ बालुवाटारस्थित आफ्नै निवासमा शौचालय जाँदा लडेर हृदयघात भएपछि उपचार गर्ने क्रममा त्रि.वि शिक्षण अस्पतालमा लाने क्रममा बाटोमा नै मङ्गलबार राति १ः५० बजे निधन भएको थियो । नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । मङ्गलबार नै बसेको नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले संविधान निर्माणमा योगदान पु¥याएको भनेर नेम्वाङलाई राजकीय अन्त्येष्टि गर्ने निर्णय गरेको हो । नेम्वाङको निधनमा शोक व्यक्त गर्दै बुधबारका लागि बोलाइएको संसद्को बैठकसमेत स्थगित गरियो । अन्त्येष्टिका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय ग¥यो ।

नेम्वाङका दुई छोराहरूले उहाँलाई दागबत्ती दिएका थिए । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।त्यस्तै नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले नेम्वाङको मृत आत्माको चीरशान्ति व्यक्त गर्दै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका थिए । राजदूत थम्पसनले लोकतान्त्रिक र समृद्ध नेपाल निर्माण गर्न नेम्वाङको प्रतिबद्वता धेरैको लागि प्रेरणादायी हुन सक्छ भनेका छन् ।

सुवास नेम्वाङ प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका उपाध्यक्ष समेत रहेका थिए । इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते पिता रामबहादुर नेम्वाङ र माता अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम जिल्लाको सुन्तलाबारीमा जन्मिएका थिए । उनका श्रीमती र ४ सन्तानमध्ये दुई छोरा र दुई छोरी छन् । उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका छन् । २०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद बनेका थिए । २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसद्मा समेत सभामुख बनेका थिए ।

नेपालमा पहिलो पटक गठन भएको ऐतिहासिक संविधानसभाका नेतृत्वकर्ता थिए । पहिलो र दोस्रो ऐतिहासिक संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । संविधानसभाको गठन र संविधान निर्माणमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । २०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समितिको सभापति बनेका थिए । उनकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो ।

नेम्वाङ वि.स. २०२८ देखि राजनीतिमा सव्रिmय भएका थिए । स्नातक अध्ययनका क्रममा २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ राजनीतिमा निरन्तर सक्रिय थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा सङ्गठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८मा एमालेको उपाध्यक्ष बनेका थिए ।

पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका नेम्वाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेलसमेत परेका थिए । वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले केही समय नेपाल ल क्याम्पसमा पढाएका थिए । प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिवसमेत रहेका थिए ।

नेपाली राजनीतिका एक अनुभवी र जिम्मेवार व्यक्तिका रूपमा चिनिएका सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि प्रस्तुत गरेका छन् । कानुनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका–ससद्को नेतृत्व सम्हाले । उनले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई संवादमार्फत् नै समस्या समाधानका लागि निरन्तर प्रेरणा दिंदै आएका थिए । जीवनको अन्तिम क्षणसम्म सङ्घीय ससद्मा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानुनी पाटोबाट आउने समस्या समाधान गर्न मुख्य सूत्रधारको भूमिका निर्वाह गर्दै आएका थिए ।

नेपालको संविधान बनाउने काममा संविधानसभाको अध्यक्ष भएर राम्रो भूमिका निर्वाह गरेपछि उनको छवि अन्तर्राष्ट्रिय बन्न पुगेको विश्लेषण धेरै राजनीतिज्ञहरूले गरेका छन् । संविधान निर्माणजस्तो ऐतिहासिक जिम्मेवारी पूरा गरेका कारण पनि उनलाई नेपाली जनताले कहिल्यै पनि बिर्सने छैनन् । संविधान जारी भएपछि यिनले संविधानको सबल पक्षका बारेमा प्रशिक्षणसमेत दिएका थिए ।

नेपालको सबै जाति, भाषा, धर्म, संस्कृति र भौगोलिक विविधतामा एकता खोज्ने नेताका रूपमा पनि उनलाई मानिन्छ । सबैको विविध पहिचानलाई सम्मान गर्दै बहुपहिचानको अविचलित हिमायतीका रूपमा आफूलाई उभ्याउन सफल साझा नेता पनि हुन् उनी । सभामुख भएर उनले गरेको काम र सदन सञ्चालनमा सबै दललाई गर्ने समन्वयात्मक भूमिकाका अनुकरणीय र अनुसरणीय रहेको छ ।

सुवास नेम्वाङ सरल स्वभावका मृदुभाषी नेता थिए । वैचारिक आलोचना गर्दा पनि सरल शब्दमा विषयगत र आदरार्थी शब्दको प्रयोग गर्ने विशेषता उनको थियो । आफूलाई मनमा लागेका कुराभन्दा पनि अरुलाई नबिझाउने शब्द चयन गर्ने कला प्रशंसनीय थियो । हाँसेर बोल्ने, कहिल्यै नरिसाउने सरल स्वभावका धनी उनलाई सबैले मन पराउँथे । कम्युनिष्ट आन्दोलनको विकास तथा समाजवादी आन्दोलनमा ठूलो योगदान पु¥याएका नेम्वाङ नेपाली राजनीतिका एक असल र सादगी नेता हुन् । देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समाजवाद उन्मुख गराउने वर्तमान संविधान निर्माणमा अहम् भूमिका निर्वाह गर्ने उनी यस संविधान जनताले–जनताका लागि बनाएको संविधानको रूपमा व्याख्या गर्ने व्याख्याता हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्ने कदम नउठाउन उनले सल्लाह दिएका थिए ।

यो विषयमा पार्टीबिचमा उनको केही आलोचना पनि भएको थियो तर उनी आफ्नो अडानमा अडिग देखिएका थिए । उनी फाल्गुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेवारसमेत बनेका थिए । राजनीतिक नेता र संवैधानिक ज्ञाता मात्र होइन; एक बहुआयामिक व्यक्तिका रूपमा देखिएका उनको निधनबाट नेपाली राजनीतिले अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएको छ । श्रद्धेय सुवास नेम्वाङ राष्ट्रको नेता, असल मानिस भएर सार्थक जीवन बाँचेर राष्ट्र र जनताका लागि सकेजति राम्रा काम गरेर बिदा भएका छन् । शालीन, सहज, मृदुभाषी र सादगी नेताका छवि बनाएका एक सफल व्यक्तित्व पनि हुन् नेम्वाङ । देश र जनताको शिर ठाडो पार्ने काम गरेर मृत्युलाई वरण गरेका सुवास नेम्वाङलाई आम नेपाली जनताले सदैव स्मरण गरिरहने छन् ।

हामी अजर र अमर छैनौ । मानिसको जन्मसँगसँगै मृत्यु आएको छ । हामी मृत्युलाई जीवनको विपरीत भाग हो भनेर स्वीकार्न बाध्य छौँ । मृत्यु भनेको अन्तिम सत्य हो । मृत्यु सबै सजीव जीवलाई आउँछ । केवल ढिलो र चाँडो भन्नेमात्र हो । असल मानिसलाई मृत्युले चाँडै लगेको दृष्टान्त धेरै छ । जति बाँचिन्छ अर्थपूर्ण जीवन बाँच्नुपर्छ भन्ने पाठ नेम्वाङको व्यक्तित्वले झल्काएको छ । अन्त्यमा सुवास नेम्वाङको आत्मशान्तिका लागि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्छु ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *