विचार

कमल थापा ‘पुनः मुसिको भवः’ को बाटो

काठमाडौं । एकजना ऋषिले आफ्नो कुटीमा एउटा मुसो पालेका थिए । मुसालाई बिरालोको सधैं डर रहने । आँखा चिम्ल्यो कि बिरालोको सिकार भइहाल्नुपर्ने । यस्तो त्राहीमाम जीवनदेखि आजित भएर उसले ऋषिको तपस्या गर्ने निधो गरेछ, बिरालो बनाइदेऊ भनेर । उसको कडा तपस्या देखेर ऋषि खुसी भएछन् र आफ्नो अलोकिक शक्ति प्रयोग गरेर उसलाई बिरालो बनाइदिएछन् । बिरालोलाई कुकुरको सधैँ भय हुने । भेट्यो कि झम्टीहाल्ने । बिरालोको भयाक्रान्त जिन्दगीदेखि वाक्क लागेपछि उसले ऋषिको कठोर तपस्या गरेछ–कुकुर बनाइदेऊ भनेर । ऋषिले यसपल्ट पनि उसको तपस्या देखेर खुसी हुँदै तथास्तु गरिदिएछन् ।

कुकुरलाई पो हाइसञ्चो कहाँ थियो र ? कुकुरहरू पनि सिंहबाट पीडित थिए । हरबखत सचेत रहनुपर्ने । केही स¥याक्क ग¥यो कि झस्किनुपर्ने चैनसँग सुत्न त पाइँदै नपाइने । उसलाई कुकुरको जीवनसँग पनि चित्त बुझेन । उसले फेरि तपस्या सुुरू ग¥यो– सिंह बनाइदेऊ भनेर । यसपल्ट पनि ऋषिले उसको पुकार सुने र उसलाई सिंह बनाइदिए । अब चाहिँ उसलाई ढुक्क होला भन्ठानेको किन त्यस्तो हुँदो हो ।

असन्तुष्ट मन न हो, अब उसमा ऋषिप्रति ईष्र्या जागेर आयो । संसारमा अब उसलाई कसैको डर थियो त खालि मुसोबाट सिंह बनाइदिने तिनै ऋषिको मात्र । उसको मनमा एउटा कलुसित विचारले जन्म लियो । उसले ऋषिलाई नै सिध्याइदिने योजना ग¥यो । न रहेगा बाँस नबजेगी बाँसुरी भन्ने सोचेर ऋषिछेऊ उपस्थित भएर उसले भन्यो– ‘माफ गर्नु मालिक अब म तिमीलाई खान्छु ।’ ऋषि झल्याँस्स भए र आफूबाट ठूलो भूल भएको महसुस गरी तुरून्तै मुसोलाई श्राप दिए– ‘पुनः मुसिको भवः ।’ अर्थात् फेरि मुसो नै भइजा । क्षणभरमै गर्जिरहेको सिंह निर्धो मुसोमै परिणत भयो र चिँ–चिँ गर्दै कुटीको दुलोभित्र पस्यो ।

राप्रपाको अध्यक्ष हुन नपाएपछि राजा नमान्ने घोषणा गरेर एमालेबाट चुनाव लडेका कमल थापा पुनः राजसंस्था पुनस्र्थापनाको बाटोमा फर्किएका छन् । चुनावमा देशैभरबाट १० हजार भोट कटाउन नसकेपछि त्यतिबेलै पुरानै बाटोमा फर्किने मन बनाएका उनी क्रमशः खुल्न थालेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई राप्रपाको अध्यक्ष हुन नदिएको आरोप लगाएर राप्रपा नेपाल ब्युँताएका उनी अहिले आन्दोलनमा छन् । राप्रपा नेपाल ब्युँताएपछि एमालेसँग हिमचिम बढाएका उनी सूर्यअंकित झन्डा बोकेर ‘अब लोकतन्त्रको विकल्प छैन’ भन्दै चुनावमा भोट माग्न हिँडेका थिए ।

त्यसबेला सार्वजनिक रूपमै दर्जनौंपटक आफू राजतन्त्रको पक्षमा नलाग्ने घोषणा गरेका थापा राजेन्द्र लिङ्देनको राप्रपाले राजा फर्काउने एजेन्डा बिकाएर चुनाव जितेपछि अन्ततः पुरानै बाटोमा मोडिएका उनी अहिले ‘भ्रष्ट गणतन्त्रको विकल्प खोज्ने’ भन्दै आन्दोलनमा लागेका हुन् । राप्रपा नेपालले राजसंस्थालाई कार्यनीति बनाउने निर्णय केन्द्रीय समितिबाट गरिसकेको छ । थापाले पूर्वराजालक्षित विगतका आफ्ना टिप्पणीप्रति पछिल्ला दिनमा घुमाउरो प्रायश्चित गर्ने गरेका छन् ।

बिहीबार बिहानै सामाजिक सञ्जाल ट्विटरबाट आफ्नो भावना व्यक्त गर्दै उनले राजाप्रतिको गुनासो आफ्नो ठाउँमा रहने, तर त्यसलाई गौण रूपमा नलिने अभिव्यक्ति सार्वजनिक गरे । सबै गुनासा र चित्त दुखाईलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको व्यवस्थाको विकल्प खोज्नेसमेत बताएका थापा शीर्ष नेता र सञ्चारमाध्यममाथि बेसरी खनिएका छन् । नेता र सञ्चारमाध्यमले विदेशीको पैसा खाएर राष्ट्रियता बेचेको उनको गम्भीर आरोप छ ।

‘राजाप्रतिको मेरो गुनासो, असन्तुष्टि आफ्नो ठाउँमा छ । तर, जब देशका प्रमुख राजनीतिक दलका शीर्षनेताहरू र कतिपय चल्तिका आमसञ्चारमाध्यमहरूसमेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई विदेशीको पैसासँग साटिरहेको देख्छु, म अत्यन्त चिन्तित हुन्छु’, उनले लेखेका छन्, ‘अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।’ उनको भनाइले अब उनी ‘पुनः मुसिको भवः’ को बाटोमा लागेको देखिन्छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *