राजनीति

माधवलाई साइजमा ल्याउन झलनाथ ‘तुरुप’ प्रयोग गर्दै ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले दशैंलगत्तै वर्तमान सरकार विस्थापित गर्ने रणनीतिमा लागेको छ । जसकारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने देखिएको छ ।

वर्तमान सत्ता गठबन्धनमै तीव्र असन्तुष्टि देखिएकाले यो सरकार दशैंलगत्तै विस्थापित गर्ने गरी राजनीतिक घटनाक्रम अघि बढेको छ ।स्रोतका अनुसार एमाले र माओवादीको दोस्रो तहका नेता फेरि वाम गठबन्धन बनाउने अभियानमा लागेका छन् । त्यसका लागि एकीकृत समाजवादीलाई चोइट्याउने गरी नेताहरू अघि बढेका छन् ।

माधवकुमार नेपाललाई एक्ल्याउने गरी एमाले अध्यक्ष केपी ओलीले झलनाथ खनाललाई नयाँ शिखण्डी बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेताहरुका अनुसार ओलीले खनाललाई एमाले प्रवेश गराउने गरी छलफल अघि बढाएका छन् । जसअनुसार मंगलबार पहिलोपल्ट खनालले एमाले पार्टी कार्यालयमा पाइला टेकेका छन् । आगामी ६ महिनाभित्र इलाम २ मा हुने उपचुनावमा खनाललाई जिताउने आश्वासन दिएको बताइन्छ ।

इलाम २ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि सो क्षेत्र रिक्त भएको छ । सोही कारण अहिले खनालले एकीकृत समाजवादीमा बबण्डर मच्चाउन थालिसकेका छन् । उनले अध्यक्ष माधव नेपालले गरेका हरेक निर्णयमा आपत्ति जनाउँदै नमान्ने घोषणा गरिसकेका छन् । उनले पार्टीका हरेक निर्णयमा चुनौती दिँदै आएका छन् । एमालेलाई इलाममा नेम्वाङको रिक्तता झलनाथले पूरा गर्नसक्ने विश्वास छ ।

निर्वाचन आउन अझै तीन वर्ष बाँकी रहेकाले वाम गठबन्धन बनाएर पूरै अवधि सरकार चलाउन सकिने भन्दै माओवादी नेताहरूले एमालेलाई कन्भिन्स गराउन खोजिरहेका छन् । तर एमाले भने सरकारको नेतृत्व आफैंले पाएमा मात्रै गठबन्धन बनाउन सकिने मनस्थितिमा देखिएको छ । सकेसम्म एकीकृत समाजवादीलाई सिंगै एमालेमा विलय गर्ने, नसके माधवबाहेक अरुलाई एमालेमा समाहित गर्ने ओली–खनालको रणनीति भएको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्ड अहिले अमेरिका भ्रमणमा छन् । उनी न्युयोर्कबाटै चीन जाँदैछन् । असोज १३ गते नेपाल फर्केलगत्तै एमालेसँग नयाँ समीकरणको विषयमा फाइनल वार्ता गर्ने प्रचण्डको तयारी छ ।एमालेको गठबन्धन छाडेर कांग्रेससँग समीकरण बनाएपछि प्रचण्डले संसदमा सम्बोधन गर्दै भनेका थिए– ‘मैले केपी ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएँ । उहाँले मलाई एकपटक प्रधानमन्त्री बनाउनुभयो ।

अझै एकपटक उहाँले मलाई गुण लगाउन बाँकी छ ।’ प्रचण्डले पहिले नै कांग्रेससँग समीकरण टुटाएर फेरि एमालेको फेर समाउने र प्रधानमन्त्रीको कुर्सीमा टिकिरहने रणनीति अख्तियार गरेको बुझ्न सकिन्छ । स्वदेश फर्केलगत्तै चीनले कम्युनिस्ट एकता देख्न खोजेको भन्दै प्रचण्डले एमालेलाई वाम गठबन्धनका लागि मनाउन वार्ता गर्ने बुझिएको छ । त्यसका लागि उनले माधव नेपाललाई पनि सँगै लिएर अघि बढ्ने सोच बनाएको स्रोतले बतायो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *