काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १५ दिन विदेशमा रहने भएका छन् । प्रचण्ड भदौ ३० देखि असोज १३ गतेसम्म विदेशमा रहने भएका हुन् ।
प्रचण्ड शनिबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् । उनी अमेरिकामा असोज ५ गतेसम्म रहनेछन् । उनी असोज ५ गते त्यतैबाट चीनतर्फ प्रस्थान गर्नेछन् । उनी चीनमा आठ दिनसम्म रहनेछन् ।उनले दुई दिन आकाशमै समय बिताउनेछन् । अमेरिकाभन्दा बढी महत्व प्रचण्डले चीनलाई दिएका छन् ।
सोही कारण उनी आठ दिनसम्म चीनमा रहनेछन् । तर चीन भ्रमणमा जाने एजेन्डा उनले केही पनि बनाएका छैनन् । राष्ट्रसंघमा उठाउने एजेन्डा उनले दुईवटा बनाएका छन् । चीन जाँदा भने शून्य एजेन्डा छ ।प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका उनले ६ गते चीनका राष्ट्रपति सीसँग भेट्ने र सोही दिन हुने एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको हो । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्डले चीनका प्रधानमन्त्री लि छ्याङलाई भने बेइजिङमा भेट्ने बताए । ‘
चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘चिनियाँ समकक्षी लि छ्याङसँग असोज ८ गते बेइजिङमा भेट हुनेछ ।’प्रचण्डको अमेरिका प्रस्थान गर्ने र चीनबाट नेपाल फर्कने बेलाको अन्तिम तयारी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय गौचरको मिटिङ हलमा बसेको बैठकले सम्पूर्ण सुरक्षाको समीक्षा गरेको छ ।
शनिबार बेलुकी ६ः४० देखि सवा ६ बजेसम्म काठमाडौं विमानस्थलबाट हुने सम्पूर्ण उडान र अवतरण रोकिने छ । उनी चीनको औपचारिक भ्रमणपछि फर्कने असोज १३ गते बिहान १०ः५५ देखि साढे ११ बजेसम्म पनि काठमाडौंको आकाशमा उडान निषेधित गरिनेछ ।
प्रधानमन्त्री अमेरिकाको न्युयोर्कमा हुन लागेको राष्ट्रसंघको ७८औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि बेलुकी कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ ६ बजे दोहा प्रस्थान गर्ने कार्यक्रम छ । दोहामा केहीबेरको ट्रान्जिटपछि प्रधानमन्त्री र उनको टोली अमेरिकन एअरलाइन्सको उडानमा न्युयोर्क जाने कार्यक्रम रहेको बैठकमा जानकारी गराइएको छ ।
न्युयोर्कबाट उनी असोज पहिलो साता चीनको औपचारिक भ्रमणका लागि हाङ्चौ सहर पुग्नेछन् । एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिएपछि उनी बेइजिङ जाने कार्यक्रम छ । चीन भ्रमणपछि उनी असोज १३ गते शनिबारका दिन बिहान सिचुआन प्रान्तको राजधानी छन्तुबाट एअर चाइनाको उडानमा स्वदेश फर्कनेछन् ।




