नेपालमा कन्सलटेन्सीहरूले अमेरिका, अस्ट्रेलिया पठाइदिने नाममा ३० देखि ३५ लाख रुपैयाँ असुलिरहेका छन् । धितो नभएको तथा आयस्रोत नभएको व्यक्तिको समेत उनीहरूले एक लाखदेखि पाँच लाख रुपैयाँसम्म कमिसन खाएर बैंकमार्फत लाखौंको धितो देखाउने गरेका छन् । पछिल्लो समय नेपालबाट अमेरिका, अस्ट्रेलिया पुगेकामध्ये अधिकांश यसरी नै गएका छन् ।
नेपालबाट अमेरिका, अस्ट्रेलिया पढ्न तथा काम गर्न गएका विद्यार्थी तथा व्यक्तिहरूले देखाएको धितो त्यहाँको सरकारले चेकजाँच गर्दैन । यदि त्यहाँको सरकारले चेकजाँच गर्ने हो भने अधिकांश नेपाली स्वदेश फर्किनुपर्ने हुन्छ । एक आनासमेत जग्गा नभएका व्यक्तिले २५ देखि ३० लाख रुपैयाँसम्म दिएमा उसको सम्पूर्ण काम कन्सलटेन्सीले गरिदिन्छ । र, उनीहरू अमेरिका, अस्ट्रेलिया जान पाउँछन् ।
नेपालको पैसा बैंक तथा कन्सलटेन्सीका कारण विदेश गइरहेको छ । पढ्ने नाममा दक्ष, सीपयुक्त जनशक्ति पनि पलायन भइरहेका छन् । अहिले कन्सलटेन्सी तथा बैंकहरूले १२ पास भएका विद्यार्थी तथा युवाहरूलाई नेपालमा बसेर केही नहुने भन्दै अमेरिका, अस्ट्रेलिया जान फकाइरहेका छन् ।
एकातिर पढ्ने नाममा वर्षेपिच्छे खर्बौ नेपाली पैसा विदेश गइरहेको छ, अर्कातिर उनीहरू त्यहाँ पुगेपछि नेपाल फर्किंदैनन् । न त कमाएर नै यता पैसा पठाउँछन् । अमेरिका, अस्ट्रेलिया पुगेपछि मानिसहरू त्यहीँ कमाउँछन् र त्यँही रमाउँछन् । नेपालमा पैसा पठाउँदैनन् । आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलियामा सेटल भएपछि नेपालमा भएका आमाबुबा पनि यताको सम्पत्ति बेचेर उतैतिर लाग्छन् । मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा पुग्नुको कारण यो पनि हो ।
अहिले बजार मन्दीमा छ । व्यापार व्यवसाय पूरै ठप्प छ । खाडी मुलुकमा गएका नेपाली युवाहरू कमाएर नेपालमा पैसा पठाउँछन् । उनीहरू नेपालसमेत फर्किन्छन् । अहिले मुलुकको अर्थतन्त्र यिनै खाडी मुलुकमा गएका नेपाली जनताले पठाएको रेमिट्यान्सबाट चलिरहेको छ । तर, अमेरिका, अस्ट्रेलिया गएकाहरूले यहाँ पैसा त पठाउँदैनन् नै, यहाँ भएको पुख्र्यौली सम्पत्तिसमेत बेचेर उतै घर बसाउँछन् । यसले गर्दा आज दक्ष जनशक्ति विदेश पलायन हुनुका साथै नेपाल कंगाल भएको छ ।
अब सरकारले अमेरिका, अस्ट्रेलिया गएर त्यहाँको नागरिकता लिइसकेको व्यक्ति आफ्नो पुख्र्यौली सम्पत्तिबाट वञ्चित हुने भनेर कानुन बनाउनुपर्छ । सरकारले अब नेपाली विद्यार्थीहरूलाई अमेरिका, अस्ट्रेलिया जानबाट रोक्नै पर्छ । अमेरिका, अस्ट्रेलिया जाँदा खर्च हुने २५–३० लाख रुपैयाँले नेपालमै व्यापारव्यवसाय सञ्चालन गरेमा राज्यलाई पनि कर आउँछ र मुलुकमा रोजगारीका अवसर सिर्जना हुन्छ । अहिले सरकारी जागिर खाएका तथा व्यापार व्यवसाय, राजनीति गरेर कमाएकाहरूले आफ्ना छोराछोरी १२ पास हुनेबित्तिकै अमेरिका, अस्ट्रेलिया पठाउँछन् ।
पछिल्लो समय नेपालको शैक्षिक क्षेत्रमा निकै सुधार आएको छ । चाहे त्यो सरकारी विद्यालयमा होस् या निजीमा । अहिले विद्यार्थी तथा युवाहरूलाई कक्षा १२ नभएसम्म नेपाल मन पर्छ । यहाँको शिक्षा राम्रो लाग्छ । तर, १२ पास हुनेबित्तिकै उनीहरू यहाँको शिक्षा राम्रो नरहेको भन्दै पढ्न विदेश उडिहाल्छन् । अहिले मानिसहरूलाई नेपालमा व्यापार व्यवसाय गर्न लाज लाग्छ । तर, २५–३० लाख रुपैयाँ खर्च गरेर अमेरिका, अस्ट्रेलिया पुगेर त्यहाँ भाँडा माझ्न लाज लाग्दैन ।
अहिले मुलुकको अर्थतन्त्र धरायसी बनाउनुमा कन्सलटेन्सी र बैंकको ठूलो हात छ । आफ्नो फाइदाका लागि उनीहरूले पैसा खाएर सबै नेपाली विद्यार्थीलाई अमेरिका, अस्ट्रेलिया पठाइदिए । जनता जिम्मेवार भएनन् । कसैलाई पनि आफ्नो मातृभूमिको माया छैन । अनि राजनीतिक दलका नेतालाई मात्र किन दोष दिनू ? न त पढ्नका लागि अमेरिका, अस्ट्रेलिया गएका नेपाली विद्यार्थी तथा नागरिक स्वदेश फर्किन्छन् ।
विदेशी सरकार निकै बाठो छ । अहिले पढ्न भनेर काम गर्नकै लागि नेपाली युवाहरू अमेरिका, अस्ट्रेलिया गइरहेका छन् । तर, त्यहाँको सरकारले आम्दानी गरेको रकम त्यहीँ खर्च गर्न लगाउँछ । जसले गर्दा उनीहरूले नेपालमा एक सुकोसमेत पठाउँदैनन् । कतिपय अभिभावकहरूले त पुख्र्यौली सम्पत्ति बेचेर आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाएका हुन्छन् । तर, छोराछोरी भने उतै कमाएर उतै रमाउँछन् । विदेश पुगेका आफ्ना छोराछोरीले उनीहरूलाई हेर्दैनन् । बुढेसकालमा आफ्ना छोराछोरीको सबैभन्दा बढी आवश्यकता हुँदासमेत उनीहरू फर्किएर आउँदैनन् । कतिपय त अभिभावक मरेपछि पनि शव जलाउन फर्किंदैनन् ।
संविधानसभा अध्यक्ष, एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भयो । उनले मृत्युअघि आफ्ना छोराछोरीको मुखसमेत हेर्न पाएनन् । दुवै छोराहरू विदेश भएपछि उनको अन्त्येष्टिमा ढिलाइ भयो । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता थुप्रै घटना छन् । जहाँ अभिभावकको मृत्युपश्चात् पनि छोराछारीहरू शव जलाउन फर्किंदैनन् । सन्तान नआएपछि आफन्तजन र छिमेकीहरूले जलाउनुपर्छ ।
अहिले आँखाभरि सपना बोकेर नेपाली युवाहरू अमेरिका, अस्ट्रेलिया पुग्छन् । तर, आफ्नो देश र आफ्ना आमाबुबालाई बिर्सिन्छन् । छोराछोरी अमेरिका, अस्ट्रेलिया भएका अभिभावकहरू उमेर भएसम्म छरछिमेकसँग ठूल्ठूला कुरा गर्छन् । तर, बिरामी पर्दा उनीहरूलाई हेर्ने कोही हुँदैन । पैसा भए पनि उनीहरूको मनमा शान्ति हुँदैन । किनकि उनीहरूको अन्तिम इच्छा आफ्ना छोराछोरीसँग भेट्नु हुन्छ । तर, छोराछोरी नै नफर्किएपछि आशैआशमा उनीहरूले जीवन त्याग्छन् ।
जतिसुकै धनी भए पनि मर्नेबेलामा समेत आफ्ना छोराछोरी भेट्न नआएपछि पैसाको के काम ? दुई दशकअघिसम्म एउटै मान्छेको पाँचदेखि दशजनासम्म सन्तान हुन्थ्यो । आमाबुबा गरिब भएपछि सन्तानहरू कलिलै उमेरमा आफूले जानेको काम गर्न थाल्थे । जुनसुकै अप्ठ्यारो परिस्थितिमा समेत उनीहरू आत्तिँदैन थिए । तर, पछिल्लो समय मानिसहरू एउटा मात्र सन्तान जन्माउँछन् । सन्तानले जे भन्यो त्यही पूरा गरिदिन्छन् ।
उनीहरूलाई दुःख के हो भनेर महसुससमेत हुन दिँदैनन् । अनि जीवनमा अलिकति चुनौती आउनेबित्तिकै उनीहरू आत्तिएर वा सहन नसकेर आत्महत्या गर्छन् । यसरी भएको एउटा सन्तानले समेत आत्महत्या गरेपछि आमाबुबाको बुढेसकालको सहारा गुम्छ । उनीहरू एक्लो हुन्छन् । मरेपछि समेत आफन्तजनले शव जलाउनुपर्छ । कतिपय त सुखैसुखमा हुर्किएर १२ कक्षा पास भएपछि अमेरिका, अस्टे«लिया पुग्छन् । अनि काम गर्न नसकेर आत्महत्या गर्छन् । अहिले यस्ता घटना बढिरहेका छन् ।
यसले एकातिर पैसा गुम्नुका साथै अर्कातिर छोराछोरीसमेत गुमाउँछन् अभिभावकहरूले । अहिले सरकारमा बस्ने नेता तथा कर्मचारीहरू नै विवाह नगरी बसेका छन् । विवाह गरे पनि कतिपयको सन्तान छैन । सन्तान भए पनि कतिपयको एउटा मात्र छ । त्यसैले, सरकारले एउटा मात्र सन्तान जन्माउन प्रतिबन्ध लगाउनुपर्छ । अनिवार्य विवाह गर्नुपर्ने र दुईदेखि तीनजनासम्म सन्तान जन्माउनुपर्ने भनेर निर्णय गर्नुपर्छ । साथै, पढ्नका लागि अमेरिका, अस्ट्रेलिया जान रोक लगाउनुपर्छ ।




