काठमाडौ । ६० किलो र नौ किलो सुन तस्करी प्रकरणमा संलग्नता देखिएका माओवादी नेता कार्यकर्ताले उन्मुक्ति पाउने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।
अनुसन्धानका क्रममा सिआईबीले सुन तस्करीको घटना सत्तारुढ माओवादीका केही नेता र कार्यकर्ता वरपर घुमिरहेको संकेत देखापरेको, तर पुष्टि गर्न नसकेको बताउँदै आएको थियो । सिआईबीले यसअघि माओवादी नेता र कार्यकर्ता गरी ६० जना सुन तस्करी प्रकरणमा जोडिएको पाइएको जनएको थियो ।
तर जब प्रतिवेदन तयार गरियो, त्यसमा सुरुमा भनिए जस्तो कुनै ठूलो तस्करको नाम आएन । माओवादीका नेता र कार्यकर्ताको नाम पनि कतै देखिएन । तस्करीको प्रमुख भूमिकामा बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिकहरूलाई प्रस्तुत गरियो । स–सानो भूमिकामा नेपाली नागरिक संलग्न भएको तथ्य खोजेर प्रतिवादीहरू तयार गरियो ।
सिआइबीले आफ्नो प्रतिवेदनमा काठमाडौँ ठमेलको होटेल भियनाका सञ्चालक दावा छिरिङलाई नै सुन तस्करीको मूल बिचौलिया बनाएको छ । उनीसँग जोडिएका माओवादीका उच्च नेताहरूबारे केही पनि खुलाइएको छैन । दावा छिरिङसँग बिहे गरेकी माओवादीनिकट अमल रोकालाई प्रतिवादी बनाइएको छ । उनी फरार छिन् ।
अनुसन्धानका क्रममा दुवै घटनामा कतै न कतैबाट माओवादीका नेता र कार्यकर्ता जोडिएको पाइएको समाचार बाहिरिएका थिए । बेल्जियन नागरिक दावा छिरिङले रोल्पाका माओवादी नेताको सहयोगमा काम गरेको समाचार आएका थिए । उनको माओवादीका नेताहरूसँग सम्पर्क भए÷नभएको विषयमा पनि सिआइबीले अनुसन्धान गरिरहेको थियो ।
सिआइबीले छिरिङको सम्पर्क माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको उल्लेख गरेको थियो । उनीहरूसँग किन छिरिङले सम्पर्क गरे भन्नेबारे केही खुलेको थिएन र प्रतिवेदन बुझाउने बेलासम्म पनि यो तथ्य बाहिर ल्याउन सिआइबी असफल भएको छ ।
छिरिङले ठमेलमा सञ्चालन गर्दै आएको होटेल भियनामा माओवादी उपमहासचिव वर्षमान पुनका भाइ प्रनिससमेत साझेदार रहेको तथ्य बाहिर ल्याइएको थियो । होटेलमा छिरिङ, अमला रोका, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ र प्रनिस पुन साझेदार छन् । प्रहरीले सोधपुछका लागि कृष्णबहादुर महरा, वर्षमान पुन, राहुल महरा, दिपेश पुन, प्रनिस पुन, अमला रोका, बिन्दु मगरलगायत २५ जनाको सूची बनाएर केहीसँग बयान पनि लियो ।
सिआइबीले तस्करीका दुईवटा घटनाको सँगसँगै अनुसन्धान गरेको थियो । तीमध्ये पछिल्लो ६० किलो र अर्को नौ किलो सुन तस्करीको घटना । यी दुवै घटनाका प्रकृति मिल्दाजुल्दा थिए। त्यही भएर सिआइबीले एकैपटक अनुसन्धान गरेको हो । तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङको पनि माओवादीका केही नेता–कार्यकर्तासँग सम्पर्क रहेको पाइएको थियो । चिनियाँ तस्करहरूले पछिल्लोपटक माओवादीका नेता–कार्यकर्तासँग ह्वाट्स एपमार्फत कुराकानी गरेको पाइएको छ । यसले गर्दा पनि सबै कुरा बाहिर आउन नसकेको हो ।
६० किलो सुन तस्करीमा रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टियान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याक पुचोङ, ली वेन सुङ, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका छन् । यी सबै सुन व्यवस्थापन गर्ने कारिन्दा मात्रै हुन् ।
सुन ल्याउने मुख्य तस्कर को भन्ने खुलेन । सिआईबीको यो प्रतिवेदनका कारण अब एमालेले भन्दै आएको उच्चस्तरीय छानबिन समिति गठनको कुनै औचित्य देखिन्न । सरकारले असोज ६ भित्र उच्चस्तरीय छानबिन समिति बनाउने एमालेसँग सहमति गरेको छ । तर अनुसन्धानमै माओवादी नेता कार्यकर्तालाई सात खुन माफ दिइएकाले अब सुनकाण्ड पनि ढुस हुने खतरा बढेको छ ।




