राजनीति

सुवास नेम्वाङको कद अग्लो बन्नुमा माधव नेपालको हात

काठमाडौं । दिवंगत एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राजनीतिको उत्तराद्र्धमा अध्यक्ष केपी ओली निकट हुन पुगे । एमाले र माओवादी मिलेर नेकपा बनेपछि तत्कालीन नेकपामा ध्रुवीकरण देखियो । हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड निकट हुन पुगे । नेम्वाङ, भीम रावलसहित १० भाइ नेता ओली निकट पुगे ।

माधव नेपाल एमालेमा रहँदा नेम्वाङ सधैं उनी निकट थिए । नेम्वाङले राजनीतिक जीवनमा जे जति अवसर र मौका पाए ती सबैमा माधव नेपालको हात रहेको छ । माधवले एमाले छाडेको दुई वर्ष मात्र भएको छ । उनले १५ वर्ष त एमालेको महासचिव भएर पार्टी सञ्चालन गरे । कानुन व्यवसायी नेम्वाङलाई राष्ट्रिय सभा सदस्यदेखि कानुनमन्त्री बनाउनसम्म माधवकै भूमिका थिए । माधवले उचित ठाउँमा दिएको भूमिकाकै कारण नेम्वाङले यो राजनीतिक उचाइ प्राप्त गरेको एमाले नेताहरू नै बताउँछन् ।

त्यही भएर नेम्वाङको निधन भएको खबर सुनेलगत्तै माधव नेपाल स्तब्ध बने । माधव नेपालले सामाजिक सञ्जालमा लेखे– ‘एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा विद्यार्थी राजनीति हँुदै को–अर्डिनेशन केन्द्र, माले र एमाले पार्टी निर्माण एवं विस्तारमा उहाँले लिनुभएको पहलकदमी, खेल्नुभएको भूमिका, दिनुभएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मेरो मानसपटलमा ताजै रहेका छन् ।

केवल पार्टी निर्माणमा मात्र नभई व्यवस्था परिवर्तन, समाज रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने दृढ मान्यतासहित सिंगो जीवन नै संघर्षमा होम्नुभएका कमरेड नेम्बाङसँग राजनीतिक र सामाजिक जीवनका अनेकौं सहज एवं असहज परिस्थितिमा भएका सहकार्यहरू सम्झिएको छु र उहाँको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दछु । कमरेड नेम्वाङको पार्थीव शरीर भएको स्थान त्रिवि शिक्षण अस्पतालमा पुगेर वास्तविकता बुझें र उहाँको निवासमा पुगेर परिवारजनलाई भेटेर भर्खर फर्किदै छु । जन्मपछि मुत्यु शास्वत सत्य भए पनि अकस्मात र अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मनसहित लेख्दैछु ‘हार्दिक श्रद्धान्जली कमरेड सुवास’ !’

नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन माधव नेपाल पहिलोचोटि एमाले पार्टी कार्यालय च्यासल पुगे । नत्र एकीकृत समाजवादी पार्टी स्थापना गरेयता माधवले एमालेको पार्टी कार्यालयमा पाइला टेकेका थिएनन् । तर नेम्वाङलाई श्रद्धाञ्जली दिन उनी आफ्नो कोटेश्वरस्थित निवासभन्दा ठीक पारिपट्टि च्यासल पुगे । श्रद्धाञ्जली दिएपछि उनले नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रूपमा चित्रण गरे । नेम्वाङले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरूबीच सहमति र सहकार्यको माध्यामबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोसमेत नेपालले सम्झे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *