काठमाडौं । सत्तारुढ माओवादी अहिले चरम संकटमा परेको छ । गत मंसिरमा निर्वाचन भएलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलछाम गरेर प्रधानमन्त्री पद हत्याए । संसदको तेस्रो ठूलो दलका अध्यक्ष प्रचण्डले सरकार चलाएको नौ महिना बितिसकेको छ । तर यबीचमा सरकारले कुनै राम्रो काम गर्न सकेको छैन ।
कांग्रेस र एमाले जस्ता संसदका पहिलो र दोस्रो ठूलो दललाई घुमाएर प्रचण्ड प्रधानमन्त्री बने पनि उनको पार्टीको हविगत इतिहासमै सबैभन्दा कमजोर बन्न पुगेको छ । केही आश गरिएका नेता एमाले प्रवेश गरे । केही बाँकी भएका नेता पनि विभिन्न काण्डमा मुछिएपछि पार्टी विघटनको अवस्थामा पुगेको छ । झन् सुनकाण्ड र नेत्रविक्रम चन्द विप्लव फोबियाले त माओवादीभित्र भुसको आगोझैं विवाद फैलिएको छ ।
पार्टी अध्यक्ष प्रचण्डले वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतलाई साइजमा राख्न देव गुरुङलाई महासचिव बनाएपछि माओवादी जीवन्त बन्न सकेको छैन । गुरुङ हार्डकोर माओवादी भए पनि उनमा संगठन गर्ने क्षमता शून्य छ । माओवादीमा महासचिवका दाबेदार पुन, शर्मा र बस्नेत नै हुन् । तर तीनैजनालाई उपमहासचिवमा थन्काइएको छ । जसकारण तीनैजना नेता त्यति सक्रिय छैनन् ।
अहिले प्रचण्डले पुन, बस्नेत र शर्मालाई हाबी हुन नदिन नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भित्र्याएर महासचिव दिने तयारी गरेका छन् । यो घटनाले त माओवादीभित्र ठूलै असन्तुष्टि सिर्जना हुने देखिएको छ । सोही कारण अहिले पुन र शर्माले अध्यक्ष प्रचण्डको कार्यशैलीको तीव्र आलोचना गर्न थालेका छन् ।
विप्लव भने माओवादीमा भित्रिन खुट्टा उचालेर बसेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जनमत पार्टीका सिके राउत, स्वतन्त्र मेयर बालेन्द्र साह बालेन, हर्कराज साम्पाङ राई जस्ता युवा राजनीतिमा उदाएपछि विप्लवको औचित्य सकिँदै गएको छ । सोही कारण अहिले उनी माओवादी जतिसक्दो चाँडो भित्रिन खोजिरहेका छन् ।
सोमबार आयोजित एक कार्यक्रममा विप्लवले त्यसको संकेत गरेका छन् । ‘माओवादी पार्टीहरूबीचको एकता वस्तुगत रूपले बन्न जरुरी भएको छ । त्यसका लागि छलफलहरू चलेका छन् । तर सुव्यवस्थित तरिकाले विषयमा प्रवेश गरेका छैनौँ । एकता हुने विषय मुख्य भएपछि त्यसमा छलफल गरेर संगठनात्मक क्षेत्रमा नीति, विचार र कार्यक्रमले माग गरेअनुसार पदमा बस्न हामी जोकोही जहाँ पनि तयार छौँ,’ विप्लवले भने । विप्लव माओवादीमा प्रवेश गरे क–कसले पार्टी छाड्लान् यसै भन्न सकिने अवस्था छैन ।
अर्कोतिर भएका केही नेता पनि परिवारसहित सुनकाण्डमा डामिएपछि माओवादीमा चरम निराशा छाएको छ । नेपालमा सुन तस्करी गर्नेमा सत्तारुढ माओवादीकै नेताहरूको संलग्नता रहेको खुल्दै गएको छ । एकपछि अर्को व्यक्ति अनुसन्धानको दायरामा आउँदै गर्दा सानादेखि ठूला माओवादी नेता सबै तानिन थालेका छन् । साढे ६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वअर्थमन्त्री एवं सत्तारूढ दल माओवादीका उपमहासचिव वर्षमान पुन परिवारको भूमिका सन्दिग्ध देखिएको छ ।
दुई रोल्पाली पुन परिवारको तस्कर गिरोहसँग व्यापारिक साझेदारीदेखि बिचौलियाको भूमिकासम्म संलग्नता भेटिएको हो । पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनलाई सिआईबीले बयान लिएर कागज गरिसकेको छ ।माओवादी नेता वर्षमानका सहोदर भाइ प्रनिस पुन मगरले सुन तस्करीमा हालै पक्राउ परेका बेल्जियन नागरिककी दावा छिरिङकी श्रीमती अमला पुन मगरसँग मिलेर सुन उत्खनन् तथा प्रशोधन गर्न सरकारी लाइसेन्स लिएको खुलासा भएको छ ।
सुन तस्करीमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको पूरै परिवारको संलग्नता देखिएको छ । महराका छोरा राहुल अहिले सिआईबीको हिरासतमा छन् । नौ किलो र ६० किलो सुन तस्करीमा राहुलको भूमिका शंकास्पद देखिएको छ ।




