काठमाडौं । पछिल्लो समय नेपालमा राजनीतिप्रति वितृष्णाको तह उच्च देखिएको छ । दलका नेताहरूले आफूले बोलेको र पार्टीको नीतिअनुसार नचल्दा सर्वसाधारणप्रति वितृष्णा उब्जिएको हो । त्यति मात्र होइन, कसैलाई मनपरी गालीगलौज गर्ने र सांघातिक आक्रमण गर्ने प्रवृत्ति पनि बढेको छ । यसबाट शीर्ष नेताहरू नै आक्रमणको निसानामा परेका छन् ।
कसैलाई कोही मन नपर्नु सामान्य हो । तर अहिले स्वतन्त्र र अभियन्ताका नाममा शीर्ष नेतामाथि आक्रमण गर्ने क्रम बढेको छ । सोही कारण झन्डै एक दर्जन नेता सर्वसाधारणको आक्रमणमा परिसकेका छन् । कसैले थप्पड खाएका छन् भने कोही हतियारको निसानामा परेका छन् । अहिलेसम्म नेपालका शीर्ष नौजना नेतामाथि आक्रमण भएको छ ।
केही दिनअघि नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरे । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सापकोटाले रिस थाम्न नसकेको भन्दै यादवको ज्यानै लिने गरी सांघातिक आक्रमण भएको हो । आक्रमणपछि सापकोटाले एमसिसी खारेज गरे, हाम्रो राजा हाम्रो देश नारा लगाएका थिए । राजावादी सापकोटालाई मानसिक रूपमा विरामी भन्दै मुद्दा कमजोर बनाउने प्रयास गरिएको छ ।
केही दिनअघि काठमाडौंका मेयर बालेन्द्र साह बालेनले सिंहदरबारमा आगो लगाइदिन्छु भनेलगत्तै सापकोटाले दलका नेतामाथि आक्रमण गरेका हुन् । बालेनको अभिव्यक्तिले हिंसा र अराजकता निम्त्याएको विश्लेषण हुन थालेको छ । यो घटनाले नेपालका चर्चित नेताहरू जोसुकै पनि जहिलेसुकै आक्रमणमा पर्ने संकेत गरेको छ । जुम्लामा २०७६ फागुन १८ मा आयोजित कार्यक्रममा वर्तमान प्रधानमन्त्री एवं तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए । प्रचण्डमाथि त्यसरी प्रहार भएको यो पहिलो घटना भने थिएन ।
नेपाल संवत् ११३३ को अवसरमा तत्कालीन एमाओवादीले आयोजना गरेको चियापान कार्यक्रममा पदम कुँवर नाम गरेका एक युवाले प्रचण्डमाथि हातपातसमेत गरेका थिए । प्रचण्डले आफूलाई झापड हान्ने युवकलाई माफ गरेको बताएका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने २८ हजार धरौटीमा रिहा गरेको थियो । सार्वजनिक कार्यक्रममा प्रचण्डमाथि झापड हानिँदा प्रचण्ड नेतृत्वकै पार्टी सत्ता भएको बेला डा.बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।
२०७५ मंसिर २३ गते पोखरामा नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको थियो । पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको थियो । भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जीव भट्टराईले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाए । मञ्चमा बोलिरहेका बाबुरामले भने आफ्ना कार्यकर्तालाई कालो झण्डा देखाउनेलाई केही नगर्न निर्देशन दिए । जुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव थिए ।
एमाले कार्यकर्ता देवीप्रसाद रेग्मीले सुनसरीमा २०६७ माघ ७ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालमाथि झापड हानेका थिए । झापड खाएको १५ दिनछि खनाल प्रधानमन्त्रीसमेत बनेका थिए र २०६९ असोज १३ मा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ताले कुर्सी प्रहार गरे । कुर्सीले लागेर कोइरालाको शरीरको बायाँ भागमा सामान्य चोट पनि लागेको थियो । काठमाडौंको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा कांग्रेसको विद्यार्थी संगठन नेविसंघका प्रवेश बस्नेतले कोइरालामाथि कुर्सी प्रहार गरेका थिए ।
पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका माओवादी सभासद् झक्कु सुवेदीमाथि झापड प्रहार भएको थियो । २०६८ वैशाख १९ मा सुवेदीलाई तीनकुनेको एक चिया पसलमा प्रेमराज देवकोटाले चड्कन हानेका थिए । २०७४ चैत ३ गते नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि नुवाकोटमा आफ्नै कार्यकर्ताले बोतल प्रहार गरेका थिए
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दै गर्दा महतको टाउकोमा बोतल प्रहार भएको थियो । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा पक्की पुलको शिलान्यास कार्यक्रममा महतलाई बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्का थिए ।
शिलान्यास कार्यक्रम समारोह चलिरहेको समयमा करिब ५ बजेतिर अकस्मात महतलाई पानीले भरिएको बोतल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिएको थियो । २०६५ जेठ १५ मा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कामाथि पनि चप्पल प्रहार भएको थियो । खड्कामाथि तत्कालीन एमालेकी सभासद् कमला शर्माले चप्पल प्रहार गरेकी थिइन् ।




