राणा शासन, पञ्चायती व्यवस्था, बहुदल र निर्दल, राजतन्त्र, दश वर्षे जनआन्दोलन हुँदै शान्ति प्रक्रियामार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा आइपुगेको छ । नेपाललाई यहाँसम्म आइपुग्न निकै लामो समय लाग्यो । देशको रूपान्तरणमा विभिन्न कालखण्डमा भएका घटनाले नेपालले नयाँ पाठ सिकिसकेको छ । रूपान्तरणका लागि सबैको सहमति र ऐक्यबद्धता आवश्यक छ ।
१०४ वर्षे राणा शासनका कारण नेपालीले लामो समयसम्म अन्धकारमा बस्नु पर्यो । माओवादी दश वर्षे हिंसाका कारण हजारौँले ज्यान गुमाउन पुगे । सयौंले अपांगता, शरणार्थी बन्नुपर्यो । अहिलेसम्म नेपाली जनताको छातीमा लागेको द्वन्द्वको दाग मेटिएकै छैन । द्वन्द्वपीडित, अपांगता भएका व्यक्तिले न्याय पाउन सकेका छैनन् । राज्यले उनीहरूका लागि कुनै सुविधा दिनसकेको छैन ।
विभिन्न घटनाक्रमले नेपालको विकासमा ठूलो बाधा पुग्यो । त्यसकारण नेपालको सामाजिक, आर्थिक, शैक्षिकलगायतका अन्य विकासका पूर्वाधार समयमा निर्माण हुन नसकेपछि विकसित देशको तुलनामा नेपाल पछि नै परिरह्यो । नेपाल सानो देश भएका कारण बाह्य छिमेकी राष्ट्रसँग वैदेशिक व्यापार, अनुदान सहायताको खोजीमा लाग्दालाग्दै अहिले बाह्य देशको हस्तक्षेपमा परिसकेको छ । देशमा राजनीतिक दलहरूको बहुमत नभएको र दलहरूबीच बढेको असन्तुष्टि, आन्तरिक र बाह्य द्वन्द्वका कारण शक्तिशाली देशहरूले नेपालको मनोविज्ञान बुझेर विदेशी एजेन्डाहरू नेपालमा लागू गर्न दबाब दिन थालेका छन् ।
कुनै पनि दलसँग स्पष्ट बहुमत नभएकाले द्वन्द्वको अवस्था सिर्जना हुँदै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै विगतमा जस्तै सडक आन्दोलनमा जान सकिने अभिव्यक्ति दिएपछि यसको नकारात्मक असर परेको छ । दलका नेता तथा कार्यकर्तामाथि आक्रमणको अवस्था सिर्जना हुन थालेको छ । जातीय, धार्मिक तथा राजनीतिक हिसाबले नेपालमा दिनप्रतिदिन द्वन्द्वका घटना बढिरहेका छन् ।
सरकारले यस्ता समस्या आउन नदिन केही नयाँ रणनीति ल्याउन सकेको छैन । शक्ति र सत्ता, धनी र गरिब, बहुमत र अल्पमतका कारण दिनप्रतिदिन विभेदको अवस्था सिर्जना भएपछि द्वन्द्व बढ्नु स्वाभाविकै हो । सरकारले यस्ता गतिविधि नियन्त्रणका लागि महत्पूर्ण भूमिका खेल्नुपर्ने हुन्छ, तर प्रधानमन्त्री प्रचण्डले नै बेलाबेला देशलाई नै द्वन्द्वको अवस्थातिर धकेल्ने अभिव्यक्ति दिने गरेका छन् । देशमा शान्ति स्थापना गर्न र द्वन्द्व न्यूनीकरणका लागि राजनीतिक दलहरूबीच बढेको तिक्तता नियन्त्रण गर्न पार्टीबीच एकता र सहमति हुन आवश्यक छ ।
विशेष गरी नेपालमा भ्रष्टाचार काण्डहरूका पुराना फाइल खुल्न थालेपछि दलहरूबीच द्वन्द्वको अवस्था सिर्जना भएको छ । भ्रष्टाचारमा मुछिएका आ–आफ्नै पार्टीका नेताहरूलाई बचाउने आन्तरिक अभ्यासका कारण दलहरू र जनताबीच द्वन्द्वको अवस्था सिर्जना भएको छ । नेपालमा हिन्दु राज्य घोषणा गर्ने, एमसीसी पासलगायत छिमेकी देशले नेपालको भूभागमाथि हस्तक्षेप गरेको विषयलाई लिएर अहिले जनतामा आक्रोश बढेको छ ।
बुधबार रिपोर्टर्स क्लबको कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरे । खुकुरी प्रहारबाट यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा गहिरो घाउ भई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेपालमा राजनीतिक दलहरूबीचको द्वन्द्व र बाह्य देशको हस्तक्षेपका कारण सार्वजनिक ठाउँमै ज्यान मार्न खुकुरीको प्रहार भयो । यस्तो घटनाले नेपालको सुरक्षा प्रणालीमाथि प्रश्न उठ्नुका साथै देशका सम्पूर्ण नागरिकलाई निर्धक्कका साथ हिँड्न डर भएको छ ।
खुकुरी प्रहारका विषयमा बिहीबार संसद् बैठकमा सांसदहरूले सरकारको जवाफ माग गरेका छन् । यस्तो गुण्डागर्दी शैली र नागरिकमा असुरक्षाको आतंक बढेको भन्दै नेपाली कांग्रेसलगायतका सांसदहरूले घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताए । यो विषयमा गृह मन्त्रालय र प्रधानमन्त्रीले कुनै जवाफ सार्वजनिक गरेका छैनन् । यस्तो संवेदनशील विषयमा सरकारले समाचार सुन्नेवित्तिकै धारणा सार्वजनिक गर्नुपर्ने हो, तर प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ मौन बसेका छन् । कुनै पनि देशलाई समयमै विकासको उच्च विन्दुमा पु¥याउन सर्वप्रथम देशमा शान्ति स्थापना हुनु आवश्यक छ ।
विश्व परिवेश बुझेर नेपालको अवस्था र व्यवस्था परिवर्तन गर्न राजनीतिमा आएका नयाँ दलहरूले पनि आफ्नो दर्शन बिर्सेर बाह्य देशको गुलाम बन्ने रणनीति बनाएका छन् । नेपालको राजनीतिमा उदाएका नयाँ दलहरूले यस्ता समसामयिक विषमाथि पुराना दललाई सहमतिमा ल्याएर देशमा शान्ति स्थापना गर्ने काममा लाग्नु जरुरी छ । संघीयता लागू भएपछि झन् नेपालमा देशमा विभिन्न किसिमका द्वन्द्व बढिरहेका छन् । यसको नियन्त्रणमा पनि नयाँ पुस्ताका दलहरूले पार्टीलाई नयाँ सिद्धान्तमा राख्दै देशलाई शान्ति स्थापना गर्न र देश विकासको मोडालिटी परिवर्तन गर्न मार्गदर्शक बनेर देखाउनुपर्छ ।




