काठमाडौं । राजनीतिको ठ्याक्कै अनुमान लगाउन कसैले पनि सक्दैन । भोलि के हुँदैछ भनेर कसैले राजनीतिको भविष्यवाणी गर्न सक्ने भए यत्रो माथापच्ची गर्नै पर्दैनथ्यो । हिजो शक्तिकेन्द्रमा बसेका नेता एकै झड्कामा सडकमा पुग्ने गरेका छन् । यस्तै संयोग वा दुर्घटना माओवादी नेता बाबुराम गौतमको जीवनमा देखिएको छ ।
ओखलढुंगामा कांग्रेसको सहयोगमा माओवादीबाट प्रदेश सभा सदस्य जितेर गएका गौतम एमालेको सहयोगमा कोशी प्रदेशका सभामुख निर्वाचित भएका थिए । तर कोशीमा देखिएको सत्ता संकटका कारण उनले सभामुखबाट राजीनामा दिए । र, कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरे ।
सभामुखले पदमा रहँदा मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई सर्वोच्च अदालतले अवैध घोषणा गरिदिएपछि मुख्यमन्त्री थापा पदमुक्त भए । त्यसपछि दोस्रोपटक उनी मुख्यमन्त्रीमा नियुक्त भए । तर, विश्वासको मत लिने बेला सभामुखको भूमिका निभाएका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई मत हालेपछि कोशीमा सरकार ढलेको छ । अब ठूलो दलको हैसियतले एमालेले सरकार बनाउने भएको छ । तर एमाले सरकार पनि एक महिनाभन्दा बढी टिक्ने देखिएको छैन ।
गत पुस २७ मा गौतम एमालेकोसमेत समर्थनमा सर्वसम्मत रुपमा कोशी प्रदेशको सभामुख नियुक्त भएका थिए। एमाले–माओवादी गठबन्धनबाट उनी त्यतिबेला कोशीको सभामुख बनेका थिए। त्यो पदमा उनी साढे ६ महिना रहे। केन्द्रमा भएको सहमतिअनुसार गठबन्धनको सरकार बनाउने योजनासहित एमाले नेतृत्वको सरकारबाट माओवादी बाहिरिएपछि गौतमको सभामुख पद धरापमा परेको थियो।
गौतम सभामुखको पदमा बसिरहँदा गठबन्धनको सरकार बनाउन आवश्यक सांसद संख्या नपुग्ने भयो। त्यसपछि केन्द्रमा शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार उनलाई सभामुखबाट राजीनामा दिन बाध्य पारिएको थियो। पार्टी नेतृत्वको निर्देशनमा उनले गएको साउन १६ गते सभामुखबाट राजीनामा दिएका थिए।
गौतमकोसमेत हस्ताक्षरमा हस्ताक्षरमा बहुमत दाबी गर्दै गत असार २१ गते कांग्रेसका उद्धव थापा कोशीको मुख्यमन्त्री बनेका थिए। तर गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले थापाको नियुक्ति त्यतिबेला पनि २२ दिनमै रद्द गरिदिएको थियो। बिहीबार सर्वोच्चले थापालाई पदमुक्त नै गरेपछि कांग्रेस–माओवादीसहितका दलहरुको गठबन्धन अप्ठ्यारोमा परेको छ। जसको सबैभन्दा ठूलो मार यतिबेला कोशीका पूर्वसभामुख गौतमले व्यहोरिरहेका छन्। कोशी सरकारको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका गौतमको त्यो पद पनि ३७ दिनमै गुमेको छ।
सरकार गठनको लागि गठबन्धनलाई बहुमत जुटाइदिन छँदाखाँदाको सभामुखबाट राजीनामा दिएर राजनीति विकृतिको सुरुवात गरेको आरोप पनि उनले खेपिरहेका छन्। राजनीतिमा लागेको मान्छेलाई यी सबै सामान्य कुरा भएको उनको टिप्पणी छ । ‘राजनीतिमा यस्तो हुन्छ। यो कुनै ठूलो विषय होइन,’ उनले भन्ने गरेका छन् ।




