काठमाडौं । आफ्नो भएको सबै सम्पत्ति व्यवसायी प्रदीप रुंगटाले हडपेको भन्दै नेपाली कांग्रेस चितवनका नेता शंकर कँडेलले देहत्याग गरे । अनमोल फिड्सको ८५ प्रतिशत सेयर किनेका रुंगटाले कम्पनीको दायित्वबोध नगरी आफूलाई तनाव दिएको भन्दै पोल्ट्री फर्म व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए ।
आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका व्यवसायी रुंगटा एक दिन पनि जेलमा बसेनन् । कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुंगटालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो ।
घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका रुंगटा अदालतको आदेशपछि पनि जेल गएनन् । विरामी भएको बहानामा अस्पताल भर्ना भएका उनी अहिले पनि चितवन मेडिकल कलेजमै उपचाररत छन् । जिल्ला अदालतको आदेशपछि रुंगटा पक्ष धरौटीमा छाड्न माग गर्दै उच्च अदालत हेटौंडा गएको थियो ।
चितवनको आदेश चित्त नबुझी उच्च अदालत गएका रूंगटाको निवेदनमा उच्च अदालतले पाँच लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश सुनाएको छ । उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले बिहीबार रुंगटालाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । मकवानपुरमा शुक्रबार सार्वजनिक बिदा भएकाले रुंगटा आइतबार धरौटीमा छुट्ने भएका छन् । रुंगटालाई हदैसम्म कारबाहीको माग गर्नुपर्ने आवाज उठे पनि अदालत उनकै पक्षमा देखिएको छ ।




