विचार

होउ यान्छीको झल्को दिँदै चिनियाँ राजदूत छन् सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ विवादमा तानिएका छन् । यसअघिकी राजदूत होउ यान्छीको झल्को दिँदै सोङले छिमेकी देशविरुद्ध अन्टसन्ट बोल्न थालेपछि सार्वभौम संसदमै उनलाई फिर्ता पठाउन आवाज उठेको छ ।गत शनिबार काठमाडौंमा ‘नेपाल–चाइना हिमालय फ्रेन्डसिप’ नामक गैरसरकारी संस्थाको कार्यक्रममा राजदूत सोङले ‘भारतजस्तो छिमेकी मुलुक नेपालले पाउनु दुर्भाग्य’ भन्ने अभिव्यक्ति दिएका थिए । उनले नेपालले एक वर्षमा भारतलाई विद्युत बेचेर १० अर्ब कमाए पनि भारतले १९ अर्ब लगेको भन्दै रोष प्रकट गरेका थिए । भारतकै कारण नेपालले विकासको गति पक्डन नसक्ने अभिव्यक्तिकै कारण सोङ विवादमा तानिएका हुन् ।

राजदूत सोङको सो अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको भन्दै आलोचना हुन थालेको छ । कुनै पनि देशका राजदूतले आफ्नो देशबाहेक मित्रराष्ट्रको विषयमा बोल्न पाइँदैन । तर सोङले सार्वजनिक रूपमै भारतविरुद्ध बोलेपछि त्यसको असर सरकार सञ्चालनमै पर्ने संकेत देखिएको छ ।

विगतमा होउ यान्छी हुँदा चीनको राजनीतिक हस्तक्षेप निकै बढ्ने गरेको थियो । उनले एकैदिन नेपालका प्रमुख दलका शीर्ष नेतालाई भेटेर चीनको चाहनाअनुसार चल्न दबाब दिने गरेकी थिइन् । चाहिने भन्दा बढी भेट्न आउने र दबाब दिन थालेपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले होउ यान्छीका लागि बालुवाटारको गेट बन्द गर्ने चेतावनी दिएका थिए । त्यसपछि यान्छी अलि हच्किएकी थिइन् ।

अहिले फेरि उनको भन्दा एक स्टेप अगाडि बढेर चिनियाँ राजदूत छन् सोङले छिमेकी देशकै विरुद्ध बोल्न थालेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले नेपालको परराष्ट्र नीति निर्धारण गर्ने अधिकार विदेशी मुलुकका राजदूतको नभएको बताए । ‘विदेशी मुलुकको राजदूतले परराष्ट्र नीति निर्धारण गर्ने होइन । नेपालको कस्तो परराष्ट्र नीति राख्ने नेपालले आफैँ निर्धारण गर्ने हो,’ उनले भने ।

चिनियाँ राजदूतको उक्त अभिव्यक्तिका विषयमा तत्काल स्पष्टीकरण सोध्नुपर्नेमा सांसद खानले जोड दिए । ‘चिनियाँ राजदूतलाई परराष्ट्र मन्त्रालयले तुरुन्त स्पष्टीकरण लिनुपर्छ । तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग गर्दछु,’ उनले भने । लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले पनि चिनियाँ राजदूतको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले त्यसबारे परराष्ट्र मन्त्रालयले छिट्टै जवाफ दिनुपर्ने माग गरे । ‘छिमेकी मुलुकको राजदूतको अभिव्यक्तिप्रति घोर आपत्ति गर्न चाहन्छौँ । परराष्ट्र मन्त्रालय जुन किसिमले मौन बसेको छ, नोटिसमा लिने तर नबोल्ने स्थिति उचित होइन,’ उनले भने ।

यसअघि बिहीबार बिहान बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले चीनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धबारेमा बोल्न नमिल्ने बताएका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदूतहरूले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने बताए । उनले कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिन नहुनेमा सबैले ध्यान पु¥याउनुपर्ने बताए ।

एमाले सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनै पनि देशले बोल्नु राम्रो नभएको बताए । उनले चिनियाँ राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्ट पारेपछि मात्रै आफूहरूले थप दृष्टिकोण राख्ने बताए । ‘नेपालको आन्तरिक मामिला र अन्य देशहरूका सन्दर्भमा कुनै पनि पक्षले बोल्नु राम्रो होइन । तर, चिनियाँ राजदूतले के बोल्नुभएको हो, त्यो प्रस्ट बुझेर वा अन्य माध्यमबाट बुझेर हाम्रो परराष्ट्र मन्त्रालयले यससम्बन्धी प्रस्ट पारिदियो भने हाम्रो दृष्टिकोण राखौँला,’ उनले भने ।

माओवादीका सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिन नहुने बताए । उनले अरुको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कूटनीतिको हिसाबले पनि बेठीक भएको बताए । यस विषयमा चिनियाँ राजदूतलाई सतर्क गराउन परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताए ।

‘को–को राजदूतले, कहाँको राजदूतले भन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने या कोही छिमेकसँग वा तेस्रो पक्षसँग नेपालको सम्बन्धका विषयमा अरुले टिप्पणी गर्ने परम्परा बस्नै दिनु हुँदैन । यो बेठीक हो,’ उनले भने । लोसपा अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक भएको टिप्पणी गरे । यो गम्भीर कुरा भएको भन्दै उनले दुई देशको सम्बन्धमा तेस्रो देशले अभिव्यक्ति दिनु शोभनीय नभएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *