काठमाडौं । ६० किलो र नौ किलो सुनकाण्डले सत्तारुढ माओवादी उम्किनै नसक्ने गरी दलदलमा फस्ने सम्भावना बढ्दै गएको छ । माओवादी नेताकै सेटिङमा सुन तस्करी भइरहेको खुल्दै गएपछि वर्तमान सरकारको निरन्तरतामा गम्भीर प्रश्न उब्जेको छ ।
प्रमुख विपक्षी दल एमालेले सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको थियो । उसले झन्डै एक महिनासम्म संघीय संसद् नै सञ्चालन हुन दिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा छानबिन समिति गठन नगर्ने अडान लिइरहे । तर एमाले टसमस नै भएन । त्यसैले बाध्य भएर सरकारले असोज ७ गतेभित्र सुनकाण्ड सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति गरेको छ ।
विभिन्न समयमा भएका सुनकाण्डमा एकपछि अर्को माओवादी नेता मुछिँदै गएका छन् । त्यति मात्र होइन, सुनकाण्डले माओवादीको असली मुखुण्डो उघारिदिएको छ । सत्ता र शक्तिकेन्द्रमा बसेका माओवादी नेताका छोराहरूले कसरी सुन तस्करी गरिरहेका रहेछन् भन्नेसमेत खुलेको छ ।
अहिले सुनकाण्डमा कृष्णबहादुर महरा र उनका दुई छोरा राहुल र निर्मल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, पूर्वमाओवादी नेता एवं हाल एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, वर्षमान पुनका भाइ र दिदीसमेत मुछिएका छन् । उनीहरूले कसरी बाबुको शक्तिको दुरुपयोग गर्दै अपराधकर्म गरिरहेका रहेछन् भन्ने भेउ खुल्दै गएको छ ।
महराका छोरा राहुल माओवादीको युवा संगठन वाइसिएलका उपमहासचिव हुन् भने दीपेश पुन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव हुन् । महराका छोरा राहुललाई गत बुधबार प्रहरीले उनकै निवास खुमलटारबाट पक्राउ गरेको थियो । भेपमा लुकाएर ल्याएको सुन प्रकरणमा उनलाई पक्राउ गरिए पनि राहुलको संलग्नता ६० किलो सुन प्रकरणमा समेत देखिएको सिआइबी स्रोतको भनाइ छ । चिनियाँ समूहले भेपमा लुकाएर ल्याएको नौ किलो सुनबारे बुझ्न राहुलले पटक–पटक विमानस्थलस्थित भन्सार प्रमुखसँग सम्पर्क गरेका थिए ।
नक्कली शरणार्थी प्रकरणमा फरार रहेका बादलका छोरा प्रतीक थापा ६० किलो सुन भित्र्याउने समूहसँग निकट रहेको र यसअघि पनि यी तीन नेतापुत्रहरूले गिरोहसँग मिलेर सुन भित्र्याएको तथ्य सिआइबीले फेला पारेको छ । राहुललाई सिआइबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने पुनले सोमबार सिआइबीमा गएर तीन घन्टा बयान दिएका छन् । पुन यसअघि पनि विभिन्न प्रकरणमा मुछिएका थिए । तर, राजनीतिक संलग्नताको कारण उनीमाथि छानबिन वा कारबाही हुन सकेको थिएन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बादल र टोपबहादुर रायमाझीका बाउछोरा नै मुछिएका छन् । बादल गुप्तबासमा छन् भने छोरा प्रतीक थापा फरार छन् । एमाले उपाध्यक्षको जिम्मेवारीमा रहेका बादलमाथि अनुसन्धान भने हुन सकेको छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भए पनि राजनीतिक दबाबले उनी हालसम्म पनि सुरक्षित देखिन्छन् ।
एमाले सचिवबाट निलम्बनमा परेका पूर्वमाओवादी नेता रायमाझीका बाउछोरा नै पक्राउ परेका छन् । दुवैजना अहिले पुर्पक्षका लागि कारागार छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी पनि प्रतीक र दीपेश पुनका पुराना मित्र हुन् । नेता पुत्रहरुको समूह सत्ताको प्रयोग गर्दै विभिन्न गिरोहसँग निकट देखिन्छ ।
अहिले सुन तस्करी प्रकरण छताछुल्ल हुनुमा छिमेकी देश भारतको दबाब मुख्य रहेको बुझिएको छ । चीनबाट नेपाल सुुन ल्याएर भारतमा तस्करी गर्ने गरेको रहस्य खुलेपछि भारत सरकार आक्रोशित छ । त्यसैले सुनकाण्डले माओवादीको चेहरा उदांगिएको हो । सुन तस्करी गर्ने नेताको पार्टीका अध्यक्ष प्रचण्ड अहिले प्रधानमन्त्री छन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि माओवादी उपाध्यक्ष छन् । सरकार सञ्चालनको हालीमुहाली गर्नेमा प्रचण्ड र श्रेष्ठ भएकाले दुवैलाई हटाउन दबाब बढ्दै गएको छ । यो कुरा गृहमन्त्री श्रेष्ठले समेत स्वीकारेका छन् । त्यसैले एक दुई महिनाभित्रै सरकारको नेतृत्व फेरिने चर्चा परिचर्चा सुरु भएको छ ।




