काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका कारण नेपाली कांग्रेस र एमालेले चौतर्फी बदनामी कमाउन पुगे । शरणार्थी प्रकरणमा मुख्य डिजाइनर माओवादी कार्यकर्ता सानु भण्डारी र सन्देश शर्मा नै हुन् । उनीहरूले कांग्रेस र एमालेका केही नेताको कमजोरी समातेर शरणार्थी काण्ड घटाए ।
माओवादीका ठूला नेताहरू यो प्रकरणमा मुछिएनन् । त्यसैले सरकारको नेतृत्व गरिरहेको माओवादीले कांग्रेस र एमालेलाई यहीबेला हो खुइल्याउने भनेर आरोप लगाएको र नाम मुछेकै भरमा कांग्रेस नेता बालकृष्ण खाँण, आङटावा शेर्पा, एमाले नेता टोपबहादुर रायमाझीलाई जेल हाले । प्रधानमन्त्री र गृहमन्त्री अहिले माओवादीकै नेता छन् । यो काण्डले कांग्रेस र एमालेको लोकप्रियतामा ह्रास आउन पुग्यो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीको जनाधार गुमिरहेका बेला शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणलाई तारण हारको रूपमा लिन पुगे । तर यही कारण सत्तारुढ गठबन्धनमा फुट आउन सुरु भयो । अहिले सत्तारुढ गठबन्धनको बैठक बस्नै छाडिसकेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव त धेरैपटक बैठकमा सहभागी नै भएनन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्री प्रचण्डको रवैयाप्रति असन्तुष्ट छन् ।
यहीबेला ६० किलो र नौ किलो सुन तस्करी प्रकरण सार्वजनिक हुन पुग्यो । सुन तस्करी प्रकरणमा एकपछि अर्को माओवादी नेता मुछिन थालेपछि भने प्रचण्ड सरकार अत्तालिन पुगेको छ । गृहमन्त्री श्रेष्ठले त सार्वजनिक कार्यक्रममा सुन तस्करी छानबिनबारे बोल्नै छाडिसकेका छन् । किनभने माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा नै नौ किलो सुन तस्करी प्रकरणमा जोडिएका छन् ।
अहिले महराका छोरा राहुल सिआईबीको हिरासतमा छन् । चाँडै उनका अर्का छोरा निर्मल महरा पनि पक्राउ पर्ने बुझिएको छ । महरा आफैं पनि अनुसन्धानमा तानिने अवस्था छ । भेपमार्फत भएको भनिएको सुन तस्करीको विषयमा कृष्णबहादुर महराका छोरा राहुल महराले सिआईबीसमक्ष पुगेर बयान दिएका छन् । सुन प्रकरणमा राहुलको चिनियाँ नागरिक वाङसँग पटक–पटक फोन सम्पर्क भएको भेटिएको थियो ।
६० किलो सुन प्रकरणले त माओवादीमा लहरो तान्दा पहरो नै थर्किने देखिएको छ । स्वयं गृहमन्त्री श्रेष्ठ शंकाको घेरामा छन् । सिआईबीले सिनामंगलमा बरामद ६० किलो सुन तस्करी गर्ने गिरोहसँग प्रत्यक्ष/अप्रत्यक्ष सम्पर्क देखिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित करिब एक सयजनासँग केरकार गरेको छ । सुन तस्करसँग साँठगाँठ देखिएको भन्दै महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । अधिकारीको गृहमन्त्री श्रेष्ठसँग सुन तस्करीका विषयमा निरन्तर कुराकानी हुने गरेको भेटिएको छ । त्यसैले अहिले उनी मौन देखिएका हुन् ।
६० किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म २७ जना पक्राउ परिसकेका छन् । पछिल्लोपटक किशोर बस्नेतलाई सिआईबीले भारतबाट पक्राउ गरेको छ । सुन प्रकरणमा धमाधम पक्राउ पर्न थालेपछि फरार रहेका बस्नेतलाई भारतबाट पक्राउ गरिएको बताइएको छ । राजश्व अनुसन्धान विभागले सुन बरामद गर्नासाथ बस्नेत खोजीको सूचीमा थिए । तर उनी भागेर भारत पुगेका थिए । बस्नेतलाई बुधबार पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । यसअघि सीआईबीले भन्सारका कर्मचारी गणेश पौडेललाई पनि पक्राउ गरेको थियो । पौडेल भने काठमाडौंबाटै पक्राउ परेको प्रहरीले बताएको छ ।
पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दबहादुर पुनका छोरा दीपेश पुनले मंगलबार सिआईबी कार्यालय पुगेर तीन घन्टा बयान दिएका छन् । उनको सुन तस्कर दावा छिरिङसँग निकै बसउठ रहेको भेटिएको छ । दीपेश आफैं शक्तिकेन्द्रको नाम लिएर अकूत सम्पत्ति आर्जन गर्ने माओवादी युवा नेता हुन् । उनी अहिले अनेरास्ववियु क्रान्तिकारीका महासचिव छन् । सुनकाण्डमा माओवादी उपमहासचिव वर्षमान पुनको पूरै परिवार नै तानिने सम्भावना देखिएको छ । त्यसैले सुनकाण्डलाई सूक्ष्म ढंगले अनुसन्धान गर्न सरकार डराएको अवस्था छ ।
यदि सिआईबीले सुनकाण्डमा माओवादी नेताहरूलाई उन्मुक्ति दिएमा असोजपछि प्रचण्ड नेतृत्वको सरकार ढल्ने अनुमान गर्न थालिएको छ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको अभिव्यक्ति र एमाले अध्यक्ष केपी ओलीको सक्रियताले सरकार परिवर्तनको खेल सुरु भएको विश्लेषण गर्न थालिएको हो ।




