काठमाडौं । देशको नामको विषयलाई लिएर छिमेकी देश भारतमा सत्तारुढ र विपक्षी दलबीच विवाद देखिएको छ । भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनको अवसरमा भारतीय राष्ट्रपतिको तर्फबाट दिइने रात्रिभोजका लागि छापिने निमन्त्रणा पत्रलाई लिएर विवाद सुरु भएको हो ।
राष्ट्रपतिको तर्फबाट पठाइएको निमन्त्रणा पत्रमा ‘भारत’ को अंग्रेजी नाम ‘इन्डिया’ प्रयोग नगरेपछि विवाद सुरु भएको हो । विपक्षी कंग्रेसले राष्ट्रपति द्रौपदी मुर्मूले पठाएको निमन्त्रणा पत्रबारे सरकारसँग प्रश्न सोधेको छ ।
‘जी–२० सम्मेलनका लागि राष्ट्रपतिद्वारा पाहुनाहरूलाई पठाइएको निमन्त्रणा पत्रमा ‘प्रेसिडेन्ट अफ इन्डिया’ को साटो ‘प्रेसिडेन्ट अफ भारत’ शब्दको प्रयोग गरिएको छ,’ कंग्रेसले प्रश्न गरेको छ, ‘इन्डियासँग यत्रो डर किन ? यो विपक्षीका लागि मोदी सरकारको घृणा हो या डर वा आत्तिएको एक तानाशाहको सनक हो ?’
खासगरी आगामी लोकसभा निर्वाचनको पूर्वतयारीअनुसार विपक्षी दलहरूले ‘इन्डिया’ गठबन्धन बनाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीसहित बिजेपी नेताहरू आक्रोशित भएका छन् । सोही कारण अहिले इन्डियाको सट्टा भारत नाम प्रयोगमा ल्याउन लागिएको आशंका गरिएको छ ।
कांग्रेस महासचिव जयराम रमेशले आफ्नो ट्विटर अकाउन्टमा लेखेका छन्, ‘अब भारतीय संविधानको अनुच्छेद १ पढ्न सक्नुहुन्छ– भारत, जुन इन्डिया हो, राज्यको एक संघ हुनेछ ।’नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
‘यदि भोलि हाम्रो ‘इन्डिया’ गठबन्धनले आफ्नो नाम फेरेर भारत राख्यो भने, के फेरि भाजपाले भारतको नाम पनि बदल्नेछ ? फेरि भारतको नाम बीजेपी राख्नेछ ? यो के मजाक हो ?’ उनले भनेका छन् । विपक्षीको ‘इन्डिया’ गठबन्धन बन्दैमा हजारौँ वर्ष पुरानो देशको नाम बदल्न खोजिएको उनको आरोप छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक कार्यक्रममै विपक्षी दलहरूले इन्डिया गठबन्धन बनाएको आक्रोश व्यक्त गरेका छन् । भारतमा आगामी वर्ष आमनिर्वाचन हुँदैछ । त्यसबेला देशको नाम इन्डिया उच्चारण गरिरहनुपर्ने हुन सक्छ । जसले विपक्षी गठबन्धनलाई फाइदा हुने, उनीहरूको प्रचार हुने भयले बिजेपीको दबाबमा केन्द्र सरकारले भारत शब्द प्रयोगमा ल्याउन खोजेको विपक्षी दलका नेताहरूको आरोप छ ।




