काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शनिबार राति सामाजिक सञ्जालमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएको विषयले अहिले राजनीति तरंगित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई चोरको संज्ञा दिँदै उनले सिंहदरबार जलाउने धम्की दिएका हुन् । शनिबार राति उनले फेसबुकमा लेखेका छन्, ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ बालेनको यो स्टाटस लाइक गर्नेको संख्या साढे तीन लाख पुगिसकेको छ ।
जुन आफैंमा एउटा कीर्तिमान पनि हो । उनको स्टाटसप्रति समर्थन जनाउँदै कमेन्ट लेख्ने र स्टाटस सेयर नै हजारौं छ । यसले बालेनको लोकप्रियता कति रहेछ भन्ने पुष्टि हुन्छ । काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारी दिने घोषणासँगै बालेन एकाएक चर्चामा आएका थिए । पेसाले इन्जिनियर बालेज र्याप गायक पनि हुन् । नेपाली हिपहप संगीतमा उनको बेग्लै स्थान छ । त्यसैले युवा पुस्तामा बालेनको जबर्जस्त क्रेज छ । अझ सामाजिक सञ्जालमा उनको एउटै स्टाटसले तरंग नै सिर्जना गरिदिन्छ । मेयर भएको झन्डै डेढ वर्षको अवधिमा बालेनले राम्रै सम्भावना देखाएका थिए । तर पछिल्लो समय उनको स्टाटसले आफैं ओरालो लाग्ने क्रममा देखिएका छन् ।
एक साताअघि चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै उनले चीनको भ्रमण स्थगित गरेको घोषणा गरे । त्यसअघि उनले भारतले संसदमा राखेको मुगल नक्साको विरोध गर्दै आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राखे । यी दुवै छिमेकी राष्ट्रसँग सम्बन्धित विषय हुन् । यसले छिमेकी देशले आगामी दिनमा नेपालप्रति कस्तो रवैया अपनाउँछन् भन्ने चिन्ता बढेको छ । लोकप्रियता र लोकरिझ्याइँका नाममा बालेनले जसरी आफूलाई प्रस्तुत गरिरहेका छन् त्यसले उनीमाथि नै प्रश्न उठ्न थालेको छ ।
शनिबार रातिको घटनाले त बालेनमाथि एकपछि अर्को प्रश्न उब्जिरहेको छ । बालेन आफैं स्थानीय सरकार प्रमुख हुन् । एउटा सरकार प्रमुखले अर्को सरकार प्रमुखलाई चोर भन्दै देशकै मुख्य प्रशासनिक कार्यालय सिंहदरबार जलाइदिन्छु भनेर भन्न मिल्छ भन्दै उनीमाथि सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ । बालेनकी श्रीमती सविना काफ्ले चढेको गाडी ट्राफिक प्रहरीले रोकेको कारण उनले सिंहदरबार जलाइदिन्छु भनेर आक्रोश पोखेको खुलेको छ । बिदाको दिन सरकारी गाडी तीव्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृत्तको टोलीले रोकेको थियो ।
शनिबार राति करिब ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीले रोकेको र बिदाको दिन सरकारी गाडी चलाउने अनुमति मागिएको थियो । गाडी मेयर बालेनको भएको बताएपछि २–३ मिनेटपछि छोडिएको बुझिएको छ । ट्राफिक प्रहरीले भने नियमित चेकिङकै क्रममा रोकिएको जनाएको छ ।
तर आइतबार बिहानदेखि अर्को प्रचार सुरु भएको छ । बालेनलाई पुत्रीलाभ भएको र शनिबार राति महानगरको गाडीमा उनकी श्रीमतीलाई अस्पताल लैजान लागिएको भनिएको छ । तर बालेन केही दिनअघि नै बाबु बनेको चर्चा चलेको छ । आफ्नी श्रीमती चढेको गाडी रोकेकोमा सिंहदरबार जलाउने बालेनको धम्कीपछि अहिले आमनेपाली जनता ‘मन परेको केटा जेठाजु’ भन्ने उखान सम्झिन थालेका छन् ।




