कोशी प्रदेश

कोशी प्रदेश विरुद्ध सर्वोच्चमा परेको रिटकाे भएन पूर्ण सुनुवाई

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्चमा परेको रिटमाथिको पूर्ण सुनुवाई शुक्रबार नहुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको थियाे तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि पूर्ण सुनुवाई नहुने भएको हो ।

कोशी प्रदेशविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई यसअघि खतिवडाको एकल इजलासले नै प्रारम्भिक सुनुवाइ गरेपनि यस पटक गोलाप्रथाबाट पेशी तोक्दा उनकै नाममा परेपछि उनले यस्तो बताएका हुन् ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष समेतको मतले बहुमत पुर्‍याएको भन्दै विपक्षी दलका सांसद हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। कोशीमा गठबन्धनका पक्षमा बहुमत पुर्‍याउन सभामुखले राजीनामा दिएका थिए। सभामुखले राजीनामा दिइसकेपछि उपसभामुखले सभा सञ्चालन गरे । सभामुखकाे अनुपस्थितमा पनि मतदान गरेर सरकार गठन भएपछि एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।

गत भदौ ४ गते विश्वासको मत लिँदा मुख्यमन्त्री थापाले सभाध्यक्ष काँग्रेस सांसद ईस्राईल मन्सुरीलाई पनि विश्वासको मत दिन लगाएर बहुमत पुर्याएका थिए ।यसअघि भदौ ७ मा रिटमाथि अन्तरिम आदेश जारी गर्दै सरकारलाई दिर्घकालीन असर नपर्ने काम नगर्न सर्वोच्चले आदेश दिएको थियो । अदालतले उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न सर्वोच्चले आदेश दिएको थियो भने विपक्षीलाई १३ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश जारी गरिएको थियो ।वर्तमान कोशी प्रदेशका मुख्यमन्त्री थापाले कोशी प्रदेशसरकारमा संविधानअनुसार नै विश्वासको मत लिएको बताउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *