काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायरमा परेको रिटको सनुवाइ शुक्रबार हुने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा फेरि पनि ईश्वरप्रसाद खतिवडासहितको इजलासमा परेको छ। मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदन सुनुवाइका लागि आज खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको हो। यसअघि भदौ ७ गते पनि उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ खतिवडाकै एकल इजलासमा भएको थियो।
गत भदौ ४ गते विश्वासको मत लिँदा मुख्यमन्त्री थापाले सभाध्यक्ष काँग्रेस सांसद ईस्राईल मन्सुरीलाई पनि विश्वासको मत दिन लगाएर बहुमत पुर्याएका थिए । विरूद्धमा कोशी प्रदेश पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए । यसअघि भदौ ७ मा रिटमाथि अन्तरिम आदेश जारी गर्दै सरकारलाई दिर्घकालीन असर नपर्ने काम नगर्न सर्वोच्चले आदेश दिएको थियो ।
अदालतले उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न सर्वोच्चले आदेश दिएको थियो भने विपक्षीलाई १३ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश जारी गरिएको थियो ।
वर्तमान कोशी प्रदेशका मुख्यमन्त्री थापाले कोशी प्रदेशसरकारमा संविधानअनुसार नै विश्वासको मत लिएको बताउँदै आएका छन् ।




