काठमाडौं । कोशी प्रदेश सरकार विरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई भोली हुने भएको छ । उद्धव थापा नेतृत्वमा गठन भएको कोशी प्रदेश सरकार सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
संविधान विपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनु संविधान विपरित भन्दै कोशी प्रदेश नेकपा एमालेका नेता एवम पूर्वमुख्यमन्त्रीले सर्वोच्च अदालतमा बुधबार दोस्रो पटक रिट दर्ता गरेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएका थिए ।
रिट निवेदनमा गैर–संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गरी ठुलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेतको माग गरिएको छ । कोशी प्रदेशमा ठूलो दलको हैसियतमा सरकार गठन हुनुपर्ने एमालेले माग गर्दै आएको छ ।




