राजनीति

किन बस्यो कांग्रेस मन्त्रीहरूको छुट्टै बैठक ?

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको पहिलोपटक छुट्टै बैठक बसेको छ । मंगलबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेसका आठ मन्त्री समीक्षा बैठकमा बसेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक सकिएपछि उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीहरूलाई छलफलमा बोलाएका हुन् । पार्टी पदाधिकारी बैठकले सरकारको मूल्यांकन र दृष्टिकोणका साथै आफ्ना मन्त्रीहरूको कार्यशैलीबारे समीक्षा गर्न निर्देशन दिएको थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतबाहेक बैठकमा आठ मन्त्री सहभागी थिए । महत क्यानडा भ्रमणमा छन् । परराष्ट्रमन्त्री एनपी साउदले बैठकमा सरकारका कामलाई प्रभावकारी बनाउने र पार्टीसँग सहकार्यलाई थप बलियो बनाउनेबारे छलफल भएको जानकारी दिए ।

‘कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूबीच सामूहिक रूपमा छलफल भयो । मन्त्रालयबीच परस्पर समन्वय र पार्टीसँग पनि उचित समन्वय गर्नेबारे कुराकानी भयो । सरकारका कामलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रह्यो,’ परराष्ट्रमन्त्री साउदले भने ।

मन्त्रीहरूबीच करिब दुई घन्टा लामो छलफल भएको थियो । कांग्रेसबाट खड्का, महत, साउदका साथै धनराज गुरुङ, रमेश रिजाल, मोहनबहादुर बस्नेत, सीता गुरुङ, डिकबहादुर लिम्बू मन्त्री बनेका छन् ।

बैठकमा सरकार एकलौटी ढंगले अघि बढेको कांग्रेस मन्त्रीहरूको निष्कर्ष थियो । ‘आफैँ सहभागी सरकारबाट भएका निर्णय र काममा पनि फरक–फरक धारणा आउनु उचित हुँदैन । सबैको एकै धारणा बनाउने, कामलाई प्रभावकारी र पारदर्शी बनाउने गरी छलफल भएको छ,’ एक मन्त्रीले भने ।

मंगलबार बिहान देउवा निवासमा बसेको पदाधिकारी बैठकमा सरकारका कार्यशैलीबारे उठेको प्रश्नलाई सम्बोधन गरेर जानुपर्ने नेताहरूले बताएका थिए । २ देखि १० साउनसम्म बसेको बैठकमा पनि केन्द्रीय सदस्यहरूले सरकारमा रहेका मन्त्रीहरूको कार्यशैलीलाई लिएर आलोचना गरेका थिए । उनीहरूले कांग्रेसले सम्हालेका मन्त्रालयमै मन्त्रीहरूबीच समन्वय हुन नसकेको र पार्टीसँग पनि तालमेल हुन नसकेको बताएका थिए ।

कांग्रेसको बलियो सपोर्टमा सरकार गठन भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ मात्र नीति र निर्णयमा हाबी देखिएका छन् । प्रचण्ड र श्रेष्ठको कार्यशैलीप्रति कांग्रेसकै नेताहरूले विरोध गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *