काठमाडौं । नेपाल राष्ट्र बैंकले केही दिनअघि २०७९ साउनदेखि २०८० असार मसान्तसम्मको अर्थतन्त्रको वितीय विवरण सार्वजनिक गरेको थियो । विवरणअनुसार वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले अर्बौ रकम खर्चेका छन् । नेपाल भ्रमणमा बाह्य देशबाट आएका पर्यटकबाट संकलित रकम बराबरको रकम विद्यार्थीहरूले बाह्य देशमा अध्ययनका लागि जाँदा लगेका छन् ।
एक वर्षको अवधिमा नेपाली विद्यार्थीहरूले अध्ययनका लागि विदेश जानेक्रममा लगभग एक अर्ब बराबरको विदेशी मुद्रा लगेका छन् । नेपालले एक वर्षको अवधिमा शिक्षा क्षेत्रबाट लगभग चार अर्ब रुपैयाँ आर्जन गरेको तथ्यांकले देखाएको छ । यो भन्दा अघिल्लो वर्ष नेपाली विद्यार्थीहरूले विदेश अध्ययनका लागि ६७ अर्ब खर्चेका थिए । पछिल्लो समय महँगीका कारण अझ बढी खर्चनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।
नेपालले वैदेशिक व्यापारका क्रममा पनि घाटा नै बेहोरेको छ । बैंकहरूको खराब कर्जा बढिरहेको छ । खराब कर्जा नियन्त्रण विभिन्न बैंक सीमाबाहिर गएर खराब कर्जालाई असल कर्जामा परिणत गर्नतिर लागेका छन् । अहिले कोभिडबाट खस्केको पर्यटन उद्योग र नेपालको अर्थतन्त्र सुधारका लागि आन्तरिक पर्यटन व्यावसाय फस्टाउँदै गएको छ । आन्तरिक र बाह्य पर्यटनके क्रममा नेपालीहरूले लगभग ४४ अर्ब रुपैयाँ खर्च गरेका छन् । यस वर्ष नेपाल भ्रमणका लागि नेपाल भित्रिएका आठ लाख ६२ हजार विदेशी पर्यटकहरूबाट नेपालले ६१ अर्ब रुपैयाँ आर्जन गरेको छ । यो तथ्यांकलाई आधार मानेर हेर्ने हो भने अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरूले बढी रकम खर्चेका छन् ।
कोभिड पछाडि वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्यामा वृद्धि भएको छ । यस वर्ष करिब पाँच लाख नयाँ कामदार वैदेशिक रोजगारीमा गएका छन् भने थप लगभग तीन लाख पुनः वैदेशिक रोजगारीमा जोडिएका छन् । उनीहरूबाट नेपालमा रेमिट्यान्स १२ खर्ब २० अर्ब रुपैयाँ भित्रिएको छ । मुख्य रूपमा नेपालको अर्थतन्त्र चलायमान राख्न यही रेमिट्यान्सले ठूलो भूमिका खेलेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा रेमिट्यान्स आय १० खर्ब जति थियो । ०७७/७८ मा नेपालमा लगभग नौ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो । यो वर्ष विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । २०८० असार मसान्तसम्म १५ अर्ब ३९ अर्ब रुपैयाँ बराबरका विदेशी मुद्राको भण्डार रहेकोमा करिब २२ प्रतिशत भारतीय मुद्रा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको २०७९ को असार मसान्तमा यो सञ्चिति करिब १२ अर्ब रूपैयाँ बराबरको रहेको थियो ।
नेपालको हालसम्मको कुल ऋण रकम २२ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी छ । यो नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)को ४१.२ प्रतिशत हो । कुल ऋणमध्ये नेपालले १० खर्ब ९३ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ । वैदेशिक ऋण यति धेरै लिएर नेपालले उत्पादन बढाएर उल्लेखीय काम गर्न सकिरहेको छैन । नेपालको आन्तरिक ऋण ११ खर्ब २५ अर्ब छ । नेपाल सरकारले आन्तरिक र बाह्य ऋण लिएर उत्पादनमूलक क्षेत्रमा सही तरिकाले परिचालन गर्न नसक्दा नेपालको अर्थतन्त्र झन् बिग्रँदो अवस्थामा देखिएको छ । यसरी नै नेपालले आन्तरिक तथा बाह्य ऋण लिँदै जाने हो भने नेपालको अर्थतन्त्र संकटमा पर्न जान्छ । त्यसैले सरकारले आन्तरिक र बाह्य ऋण घटाउनेतिर केन्द्रित हुनु आव लिएको ऋणलाई उत्पादन क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता अर्थवद्हिरूले देखेका छन् ।
यस वर्ष नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । नेपालले यो अवधिमा १६ खर्ब ११ अर्ब रुपैयाँको आयात गर्न सकेको छ भने एक खर्ब ५७ अर्बको मात्रै निर्यात गर्नसकेको छ । नेपालको अर्थतन्त्र सुधार्न सरकारले आयातभन्दा निर्यात बढी गर्न सक्नुपर्छ । अनि मात्र व्यापार सन्तुलनमा आउन सक्छ । नेपाल सरकारले अहिलेसम्म आफ्नो देशमा उत्पादन गरेर अन्य देशमा उत्पादित सामान पठाउन सकिरहेको छैन । सधैं अन्य देशको मात्र भर पर्दा नेपालको अर्थतन्त्र शिथिल बन्ने निश्चित छ । १७० भन्दा धेरै देश तथा क्षेत्रहरूसँग व्यापार गर्ने गरेको नेपालले ३७ देश तथा क्षेत्रहरूसँग मात्र व्यापारमा नाफा गर्न सक्नुले नेपालको अर्थतन्त्र गम्भीर रहेको संकेत गर्छ ।
सबैभन्दा नजिकको छिमेकी देश सबभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले करिब नौ खर्ब २१ अर्बको व्यापार घाटा बेहोर्नुपरेको छ । नेपालले यस वर्ष करिब दुई खर्ब ९० अर्ब रुपैयाँको शोधनान्तर बचत हासिल गरेको छ । अघिल्लो वर्ष दुई खर्ब ५५ अर्ब रुपैयाँले शोधनान्तर घाटामा थियो । २०८० असार मसान्तसम्म देशभरिका बैंक तथा वित्तीय संस्थाहरूमा डिपोजिट भएको कुल निक्षेप ५७ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वितीय संस्थाको कुल कर्जा ४८ खर्ब रुपैयाँभन्दा बढी छ । कर्जाको विस्तार साढे तीन प्रतिशले वृद्धि भएको छ भने खराब कर्जाको अनुपात पनि सोही अनुपातमा रहेको छ ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा ‘कर्जा विस्तारमा आएको सुस्तताका कारण यसपालि पुँजी निर्माण, रोजगारीका अवसर, राजश्व संकलनमा असर र कर्जा प्रवाह नियन्त्रित हुँदा आयातमा कमी र विदेशी मुद्रा सञ्चिति भएको बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दा आर्थिक वर्ष ०८०/८१ मा बैंकको ब्याजदर एक अंकमा झार्ने सहमति अर्थमन्त्रीले गरे पनि खराब कर्जालाई असल कर्जामा परिणत गर्न बैंकहरूले आ–आफ्नै तरिकाले व्याजदर बढाएका छन् । यो भनेको मौद्रिक नीतिको विपरीत हो ।
यो वर्ष सरकारको वित्तीय घाटा चार खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । सरकारले उक्त अवधिमा नौ खर्ब ५७ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो भने उसको खर्च १४ खर्बभन्दा धेरै थियो । सरकार आम्दानीले खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । यस वर्ष खाद्यान्नमा मूल्यवृद्धिले नेपालीहरू चिन्तित बनेका छन् । विगतको तुलनामा यस वर्ष खाद्य सामग्रीको मूल्य बढ्दो छ । राष्ट्र बैंकले मुद्रास्फीतिको दर ७ भन्दा कम कायम गर्ने लक्ष्य राखे पनि ७.७४ प्रतिशत कायम भएको छ । जसकारण नेपालमा खाद्य पदार्थको मूल्यवृद्धि १० प्रतिशतभन्दा बढीले भएको छ ।




