देश

एमालेको फेस सेभिङका लागि उच्चस्तरीय छानबिन समिति, पूर्वन्यायाधीश संयोजक रहने

काठमाडौं । झन्डै एक महिनादेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभामा मंगलबार नियमित कार्यसूचीले प्रवेश पाउने भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेको मागप्रति सरकार सहमत भएपछि आजदेखि सदनको अवरोध खुल्ने भएको हो ।

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा गत साउन १० गतेदेखि नै थाती रहेकालगायतका कार्यसूचीले प्रवेश पाउने छन् । संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची छ । घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्नेछन् ।

यसैगरी, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य डा. सुनील शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराइने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिनका लागि सरकार तयार भएपछि आजको बैठकमा एमालेले अवरोध नगर्ने जनाएको छ । सोमबार राति बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठनका लागि मोटामोटी सहमति जुटेको छ । त्यसका लागि तीन सदस्यीय कार्यदल बनेको छ ।

कार्यदलमा एमाले उपनेता सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी प्रमुख सचेतक हितराज पाण्डे सदस्य छन् । कार्यदलले कसको संयोजकत्वमा समिति बनाउने र कति सदस्य रहने भन्ने टुंगो लगाउने छ । सोही कार्यदलले बनाएको प्रतिवेदनललाई आजै तीन दलका शीर्ष नेताले अनुमति दिएपछि सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने भएको छ ।

समितिलाई १५ देखि एक महिनाको समय दिने, तर त्यसले सिआईबीको अनुसन्धानलाई प्रभावित नपार्न निर्देशन दिइने भएको छ । समिति एमालेको फेस सेभिङका लागि बनेको चर्चा सुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *