विचार

देउवा बोल्न थालेपछि नारायणकाजीलाई पर्न सक्छ संकट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सामान्यतः कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैनन् । सार्वजनिक रूपमा कसैपति लाञ्छना पनि लगाउँदैनन् । गालीगलौज गर्दैनन् । उनी अधिकांश समय मौन रहन्छन् । मौन रहेरै उनले धेरै ठूल्ठूला निर्णय गर्ने गरेका छन् । नयाँ सरकार गठन गर्दा होस् वा नयाँ गठबन्धन बनाउने बेला होस् देउवाले कहीँ कतै कसैबारे केही बोलेनन् । चुपचाप गठबन्धन गरे । सहयोग गरेर बसे ।

प्रचण्ड सरकार बनेको नौ महिनापछि भने देउवाले बोल्न थालेका छन् । उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाप्रति असन्तुष्ट देखिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्ने भनेर देखाइएको सक्रियता, ललिता निवास जग्गा हिनामिना प्रकरणबारे भइरहेको अनुसन्धान, गौर हत्याकाण्डका पीडितसँग भएको पाँचबुँदे सम्झौतादेखि सुन तस्करी घटनासम्म आइपुग्दा आफ्नै समर्थनमा बनेको सरकारका गृहमन्त्री श्रेष्ठप्रति देउवा बढी सशंकित भएका छन् ।

‘कसैको बयानका आधारमा बालकृष्ण खाणलाई ल्याएर थुन्ने, छानबिन गर्ने ? तर यतिको छापामा आउँदा, सीआईबीको रिपोर्ट, सबैतिर हुँदा पनि महरालाई ल्याएर छानबिन किन नगर्ने ? मैले पार्टीमा जवाफ दिनु पर्दैन ?’ आइतबार प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा देउवाले भने । कसैको बयानका आधारमा पूर्वगृहमन्त्री एवं आफ्नो पार्टीका नेता बालकृष्ण खाणलाई पक्राउ गरिएको भन्दै देउवाले श्रेष्ठमाथि आक्रोश पोखेका थिए ।

आफ्नो पार्टीकै सहयोगमा गृहमन्त्री बनेका श्रेष्ठले कांग्रेसका नेतालाई मात्र आरोप लगाएकै भरमा थुन्ने तर प्रमाणसहित प्रतिवेदन बाहिर आउँदा पनि माओवादीका नेतालाई केही नगरेको भन्दै देउवाले सर्वदलीय बैठकमै आक्रो व्यक्त गरेका हुन् । विमानस्थलबाट ६० केजी सुन बाहिरिँदा प्रहरीको जानकारीमै नहुनुमा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने कि नपर्ने भन्ने प्रश्न पनि देउवाले गरेका थिए ।

एलेक्ट्रिक सिसगरेट ‘भेप’भित्र सुन लुकाएर ल्याउने तस्करसँगको साँठगाँठमा संलग्न हुँदा पनि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा पक्राउ नपरेको भन्दै देउवाले आइतबारको बैठकमा आक्रोश व्यक्त गरेका थिए । सुन तस्करसँग महराको साँठगाँठ रहेको कुरा छापा तथा सीआईबीको रिपोर्टमा आउँदासमेत छानबिन नगरिएको देउवाको भनाइ थियो । सर्वदलीय बैठकमा देउवा जंगिएपछि प्रधानमन्त्री प्रचण्ड मौन बसेका थिए । गृहमन्त्री श्रेष्ठले देउवाले सोधेका जवाफ दिएका थिए ।

श्रेष्ठमाथि आफू निकटका पत्रकार वा सञ्चारमाध्यमलाई कांग्रेस नेताविरुद्ध समाचार र सूचनाहरू दिने गरेको आरोप छ । विशेष गरेर नेपाल प्रहरीमार्फत गृहमन्त्री श्रेष्ठले गराएका कामहरू विवादास्पद छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) मनोज केसी, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सीआईबीले गरेका कामले गठबन्धनका शीर्ष नेताहरू सशंकित बनेका हुन् । बालुवाटार जग्गा प्रकरणमा सीआईबीका कारण गृहमन्त्री श्रेष्ठ समस्यामा परेका छन् । कांग्रेस सभापति देउवा नै असन्तुष्ट बनेपछि माओवादीका केही नेताहरूले गृहमन्त्री श्रेष्ठलाई फिर्ता बोलाउन प्रधानमन्त्री प्रचण्डलाई सल्लाह दिइरहेका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले पनि गृहमन्त्री श्रेष्ठको नियतमाथि आशंका गरेर सुन तस्करी प्रकरणमा उच्चस्तीय छानविन समिति वा आयोग बनाउन माग गरेको छ । गृहमन्त्री श्रेष्ठले माओवादीका नेताहरूलाई उन्मुक्ति दिन्छन् कि भन्ने आशंकाले नै छानविन समितिको माग गरेको हो । एमालेका अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको सार्वजनिक कार्यक्रममै राजीनामा माग गरिसकेका छन् । ६० किलो सुन तस्करीको घटना बाहिर आउँदासमेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेटलाई गृहमन्त्रीले परिवर्तन गरेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *