अर्थ

मिनबहादुर, दुर्गा प्रसाईलगायतले बैंकबाट लिएका अर्बौं ऋण नउठ्ने जोखिम

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा समातिए । उनले भाटभटेनीलाई अर्बौको साम्राज्य बनाएका थिए । हिजो काठमाडौंमा रहेको भाटभटेनी सुपरमार्केटलाई उनले देशका विभिन्न सहरमा विस्तार गरेका छन् ।

भाटभटेनी आफैंमा चल्तीको ब्रान्ड भइसकेको छ । भाटभटेनीको चेन विस्तार गर्ने क्रममा उनले २० अर्बभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थासँग ऋण लिएका छन् । तर, ललिता निवास जग्गा प्रकरणमा जेल पर्नेवित्तिकै उनले लिएको ऋण के हुने भन्ने आशंका उब्जिएको छ । त्यति मात्र होइन, अहिले मानिसहरू भाटभटेनीमा समेत म्याद सकिएको गुणस्तरहीन र कम तौल भएको सामान बेचिने गरेको आरोप लगाउन थालेका छन् । यसले गर्दा भाटभटेनीमा सामान किन्न जानेको संख्यामा निकै कमी आएको छ ।

मेडिकल माफिया दुर्गा प्रसाईँले पनि पाँच अर्बभन्दा बढी ऋण बैंकबाट लिएका छन् । तर उनले आफ्नो व्यापार व्यवसाय विस्तार गर्न लिएको विभिन्न बैंकको ऋण नतिर्न बहानाबाजी बनाइरहेका छन् । झापाको बिर्तामोडमा बी एन्ड सी मेडिकल कलेज सञ्चालन गरेका प्रसाईले बैंकिङ ऋण नतिर्न एउटा समूहसमेत बनाएका छन् । जसकारण बैक तथा वित्तीय संस्था उनको व्यवहारप्रति झस्किन पुगेका छन् । एउटै व्यवसायीलाई अर्बौ ऋण दिन तँछाडमछाड गर्ने बैंक अहिले निराश छन् ।

आफ्नो व्यापार विस्तार गर्न उद्योग व्यवसायी शेखर गोल्छा, पवन गोल्यानलगायतले लिएको ऋणको न साँवा तिरेका छन्, न ब्याज । सोही कारण अहिले आमसर्वसाधारणको भीड बैंकमा पैसा राख्नेभन्दा निकाल्न देखिएको छ । आफ्नो घरजग्गा, गाडी र सेयर धितो राखेर बैंकबाट कर्जा लिएका ऋणीहरूले वर्षौंसम्म साँबाब्याज तिरेका छैनन् । धेरैले ऋण तिर्न सक्दैनौं भनेर हाकाहाकी भनिसकेका छन् ।

बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । तर, उनीहरू आफ्नो लगानी उठाउन नसक्ने अवस्थामा पुगेका छन् । एक वर्षअघि बैंकबाट ऋण लिएका ऋणीहरूले बैंकविरुद्ध आन्दोलन नै चर्काए । उनीहरूले कित्ता तिर्नुपर्ने म्याद बढाउनुपर्ने र ब्याजदर कम गर्नुपर्ने भन्दै आन्दोलन गरेका थिए । तर, बैंकले सुनेन । पछिल्लो समय मुलुकभर दर्तामा रहेका सहकारी संघसंस्थामध्ये आधाभन्दा बढी भागिसकेका छन् । जसोतसो बचेकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । ९९ प्रतिशत मानिसहरूको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । उनीहरू त्यो बेच्न चाहन्छन्, तर किन्ने कोही पाउँदैनन् । अधिकांश बैंक डुबिसकेका छन् ।

नेपालमा रहेका वाणिज्य बैंक र विकास बैंकमा धेरै लगानीकर्ता मारवाडी समुदायका छन् । एक दर्जन वाणिज्य बैंकमा मारवाडी समुदायकै लगानी छ । कोरोनाका बेला धेरै मारवाडी सञ्चालकले पैसा जति विदेश लगेका थिए । अहिले बैंकमा तरलता देखिनुको मुख्य कारण विदेशमा पैसा पठाएकाले पनि हो । त्यसमाथि व्यापार व्यवसाय चौपट हुँदा धेरैको लगानी उठ्न डुब्ने भएकाले पनि बैंकको ऋण जोखिममा परेको हो । व्यापारी व्यवसायीले लिएका एक खर्बभन्दा बढी ऋण जोखिममा परे पनि त्यसले समग्र बैंकिङ क्षेत्रलाई नै असर गर्ने अर्थविद्हरू बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *