काठमाडौं । माओवादी बाग्मती प्रदेशको सोमबारको बैठकमा महरामाथि लागेको आरोपबारे प्रधानमन्त्री प्रचण्डले भने, ‘महरा मात्र होइन, नाम मुछिए मलाई पनि हत्कडी लगाए हुन्छ ।’
उनको भनाइपछि हलमा सहभागी नेता तथा कार्यकर्ताले ताली बजाएर समर्थन गरेका थिए । सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग महरा गम्भीर रूपमा जोडिएको हो कि होइन भनेर आफूले बुझेको, तर गम्भीर नभएको सूचना पाएको प्रचण्डले बैठकमा बताएका थिए । ‘मैले सीआईबीसँग बुझ्दा महराजीको कुरा गम्भीर होइन भन्ने जवाफ आएको छ । तर बाहिर महराजी गम्भीर रूपमा जोडिएको निरन्तर आइरहेको छ,’ उनको भनाइ थियो, ‘यदि गम्भीर हो भने सीआईबीलगायत सम्बन्धित निकायलाई अनुसन्धान गरे हुन्छ भनेको छु ।’
त्यसपछि मंगलबार दाङमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले सुनकाण्डमा अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् । ‘सुन प्रकरणमा मेरो नाम मुछिएपछि म सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु,’ उनले भने, ‘अनुसन्धानका लागि मलाई बोलाउनुस् भनेकै छु । जुनबेला बोलाए पनि जान तयार छु ।’ उनले आरोपितलाई आरोपित चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीको रूपमा चिनेको दाबी गरे ।
मंगलबार साँझ बालुवाटारमा सञ्चारकर्मीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले प्रहरीले तयार पारेको अभियोजनपत्रअनुसार नै महरासँग बयान लिइने बताए । ‘सरकारी अभियोजनमा नाम भएर भए पनि किन मुद्दा नचलाइएको भन्ने विषयमा गृहमन्त्री, प्रहरी प्रमुख, सीआईबी प्रमुखसँग पनि छलफल भयो,’ उनले भने, ‘अभियोजनमा नाम उल्लेख भएपछि कि त त्यो गलत भयो भनेर सार्वजनिक रूपमा प्रस्ट पार्नुस्, नभए उहाँहरूलाई पनि प्रतिवादी बनाएर बयान लिनुस् भनेको छु ।’
प्रधानमन्त्री प्रचण्डले महरालाई समातेर कारबाही गर्न सीआईबीलाई निर्देशन दिएको पनि बताए । ‘महराजी र उहाँको छोराको नाम आइसक्यो । यदि महराजीको ‘कनेक्सन’ छ भने अगाडि बढ्नुस् भनेको छु । संलग्नता छैन भने प्रहरीले नै ‘क्लियर’ गर्नुपर्छ’, उनले भने, ‘दोषी हो भने चाँडो लग्नु भनेको छु । मैले त सार्वजनिक रूपमै म दोषी देखिए पनि समात्नुस्, कारबाही गर्नुस् भनेको छु । सायद एक–दुई दिनमै सीआईबीले यसबारे निर्णय गर्छ होला ।’
विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा महरा र उनका छोरा राहुल संलग्न रहेको सीआईबी र जिल्ला सरकारी वकिल कार्यालयले किटानी गरिसकेका छन् । सुन विमानस्थलमा रोकिएको अवधिमा गिरोहसँग महराले छोरा निर्मलका नाममा रहेको मोबाइलबाट २२ पटक र राहुलले २३४ पटक टेलिफोन संवाद गरेको अनुसन्धानबाट खुलिसकेको छ । तर, प्रधानमन्त्री प्रधानमन्त्रीको भनाइ र सीआईबीले बुझाएको प्रतिवेदनको विवरण बाझिएको छ । त्यसैले पनि महरामाथि कारबाही हुने नहुने भन्ने कुनै टुंगो छैन । सुनकाण्डले माओवादीमा पनि हलचल ल्याएको त छ, तर महरामाथि कारबाही हुनेमा कोही आश्वस्त छैनन् । विगतमा चाइनिजसँग ५० करोडको डिल गर्दा पनि महरामाथि कुनै कारबाही भएन । अनुसन्धानमा पनि तानिएन ।
संसद्कै महिला कर्मचारीसँग यौनकाण्डमा मुछिँदा पनि महरालाई चोख्याइयो । मात्र उनी तीन महिना जेल परे । सभामुख पद गुमाए । तर उनलाई बलात्कार मुद्दामा उन्मुक्ति दिइयो । अहिले माओवादी अध्यक्ष रहेका प्रचण्ड प्रधानमन्त्री र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हाल गृहमन्त्री छन् । त्यसैले महरामाथि प्रचण्डले चाहे भने मात्रै कारबाही हुने, नत्र उन्मुक्ति पाउने सम्भावना प्रबल रहेको माओवादी नेता कार्यकर्ता नै बताउँछन् । एमालेले संसद् जबसम्म अवरोध गरिरहन्छ, तबसम्म प्रचण्डमाथि दबाब परिरहन्छ । सदन खुलेसँगै प्रचण्डलाई दबाब हट्ने भएकाले पनि महरा त्यति चिन्तित देखिएका छैनन् ।




