देश

कोशी प्रदेशमा सत्ता संकट : ज्येष्ठ सदस्य मण्डल राज्यमन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशमा सत्ता संकट कायमै छ । सभामुख बाबुराम गौतमले राजीनामा दिएर हस्ताक्षर गरेपछि मात्रे कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका थिए । अब उनले विश्वासको मत लिन ४७ मत पुर्याउनै पर्ने बाध्यता छ । सोही कारण प्रदेशमा सभामुखको निर्वाचन नगरी पहिले मन्त्रिपरिषदलाई पूर्णता दिन मुख्यमन्त्री थापा लागिपरेका छन् ।

थापाले कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् । दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री थापाले मण्डललाई राज्यमन्त्री बनाएका हुन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनले तत्कालीन सभामुख गौतमलाई राजीनामा गराएर बहुमत संख्या ४७ पुर्‍याएका मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि मण्डललाई राज्यमन्त्री बनाएका छन् ।

प्रदेश सभाको बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् । सभामुखको राजीनामापछि प्रदेश सभाको बैठक उपसभामुख सृजना दनुवारले सञ्चालन गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

थापालाई प्रदेश सभाबाट विश्वासको मत लिन उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्दा सहज हुन्छ । सरकार निर्माणकै लागि सत्ता गठबन्धनले तत्कालीन सभामुख गौतमलाई पदबाट राजीनामा गराइसकेका कारण एमालेले पनि उपसभामुख दनुवारलाई विश्वासको मत लिने दिन बैठकमा अनुपस्थित गराउनेसम्मको रणनीति बनाइरहेको छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन उपसभामुख दनुवार कुनै कारण देखाएर बैठकमा अनुपस्थित भएमा ज्येष्ठ सदस्य मण्डलले प्रदेश सभाको बैठकको अध्यक्षता गर्नुपर्ने छ । मण्डलले प्रदेश सभाको बैठकको अध्यक्षता गर्ने अवस्थाको अन्त्य गर्नका लागि मुख्यमन्त्री थापाले उनलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *