समाचार

एमाले नेतृत्वको विषयले विद्यादेवी भण्डारी र केपी ओलीबीच ‘शीतयुद्ध’

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले सामान्य जीवनमा फर्केकी छन् । सात वर्ष लामो राष्ट्राध्यक्षको कामकाज सम्हालेर उनी सामान्य जीवनमा फर्किएकी हुन् । राष्ट्रपतिबाट निवृत्त भएको ६ महिना नपुग्दै एमालेका केही नेता कार्यकर्ता भण्डारीलाई सक्रिय राजनीतिमा आइदिन भन्दै भेटघाटमा लागेका थिए । भण्डारी भने अब आफू सक्रिय राजनीतिमा नफर्किने मनस्थितिमा थिइन् ।

तर पार्टी अध्यक्ष केपी ओलीको हठकै कारण एमाले दिनप्रतिदिन खुम्चिँदै गएको, नेपालको राजनीतिमा एमालेको भूमिका गौण बन्दै गएको, कम्युनिस्ट पार्टीको नेतृत्व लिन सक्ने अवस्थामा नभएको भन्दै भण्डारीलाई सर्वस्वीकार्य ढंगले नेतृत्व लिइदिन निकै आग्रहपछि उनी सकारात्मक बन्दै गएकी थिइन् । तर तीन दिनअघि ओलीको अभिव्यक्तिले भण्डारी भड्किन पुगेको स्रोतले जनाएको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार २८ साउन आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीसँग एमाले नेतृत्वमा आउन निवर्तमान राष्ट्रपति भण्डारीले गरिरहेको कसरतबारे पत्रकारहरूले प्रश्न सोधे । यस्तो प्रयासलाई उनले ‘एमाले विभाजित गर्ने षडयन्त्र’ को रूपमा चित्रण गरे । ‘पार्टी नेतृत्वमा भण्डारीलाई ल्याउने प्रयास एमाले पंक्तिबाट भएको छैन’ वा ‘भण्डारी स्वयंमा यस्तो चाहना छैन’ भन्न ओलीले सकेनन् । एमाले नेतृत्वमा आउने–ल्याइने प्रयासलाई ‘एमाले विभाजन गर्ने षडयन्त्र’ का रूपमा चित्रण गरेर ओलीले एक हिसाबले भण्डारीविरुद्ध फायर नै खोल्न पुगे ।

ओलीको भनाइको अर्थ ‘भण्डारीलाई आफ्नो विकल्पमा अघि सारेर एमाले विभाजन गर्न खोजिँदैछ वा भण्डारी आफैँले एमालेको नेतृत्व गर्ने महत्वाकांक्षा राखेर विभाजनको रेखा कोर्न खोजेकी छन्’ भन्ने ढंगले विश्लेषण हुन थालेको छ । एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालगायतले पार्टीभित्र मनोवैज्ञानिक एकताका लागि भण्डारीको आवश्यकता रहेको सार्वजनिक रूपमै बताएपछि भित्रभित्रै भइरहेको बहस सतहमा आएको हो । यो विषयमा एमाले महासचिव शंकर पोखरेल पनि भित्रभित्रै लागेको बताइन्छ । आफूलाई पछाडि पारेर विष्णु पौडेलले नेतृत्व हत्याउने हो कि भन्ने आशंका पोखरेललाई छ ।

कार्यकर्ता पंक्तिले पनि ओलीको नेतृत्वमा आगामी निर्वाचनमा एमालेको भविष्य राम्रो देखिरहेको छैन । राजनीतिमा ओलीको जादू चल्दैन भन्ने कुरा ‘मिसन ग्रासरुट’ कै छेकोमा भएको तीन क्षेत्रको उपनिर्वाचनमा एमालेको कमजोर प्रदर्शनले देखाइसकेको छ । उपनिर्वाचन परिणामले पुराना नेताप्रतिको वितृष्णा थप उजागर गरेको छ । तर, नेतृत्व हस्तान्तरण सहज रूपमा होस् भनेर राखिएको ७० वर्षे उमेरहदको प्रावधान हटाउँदै ओली ‘आजीवन अध्यक्ष’ बन्ने बाटोमा लागेपछि भण्डारीको विकल्प अघि सारिएको थियो । भण्डारी नेतृत्वमा आउँदा ओलीलाई आपत्ति नहुने धेरैको बुझाइ थियो । तर ओलीले नै पार्टी विभाजन गर्ने षड्यन्त्र भनेपछि अहिले ‘शीतयुद्ध’ सुरु भएको अनुमान गर्न थालिएको छ ।

देशभर बलियो संगठन एमालेकै हो । तर गत आमनिर्वाचनमा एमाले सिट संख्यामा पहिलो दल बन्न सकेन । तीन क्षेत्रमा भएको उपनिर्वाचनमा त उसले दोस्रो दलको हैसियत समेत जोगाउन सकेन । मिश्रित निर्वाचन प्रणालीका कारण अब पनि कुनै दलले बहुमत प्राप्त गर्नसक्ने स्थिति छैन । २०६४ यता सरकार गठनका लागि आवश्यक बहुमत ०७४ को आमनिर्वाचनमा प्राप्त भयो । तर, त्यो बहुमत एमाले र माओवादीबीचको एकताउन्मुख ‘वाम गठबन्धन’ कारण प्राप्त भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङहरूको लोकप्रियता आगामी निर्वाचनसम्म पनि उस्तै रहे पुराना र ठूला भनिएका दलहरूको भविष्य के हुने भन्ने यसै भन्न सकिन्न । ओली नेतृत्वमा रहुन्जेल एमालेसँग सहकार्य वा गठबन्धन गर्न प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी दुवै तयार देखिन्नन् । एकता वा गठबन्धन नहुने हो भने आगामी निर्वाचनपछि एमाले वा अन्य कुनै वामपन्थी दलको सरकार बन्न असम्भवप्रायः छ । त्यसैले एमाले नेतृत्वमा भण्डारीको खोजी भएको बताइन्छ । तर त्यसलाई ओलीले ‘च्याप्टर क्लोज’ नै गरिदिएका छन् ।

शीर्ष वामपन्थी नेताहरूबीच ओलीको छवि अविश्वासिलो छ । त्यही कारण वामपन्थी एकता चाहने एमाले पंक्तिले भण्डारीलाई विकल्पका रूपमा खोजेको हो । एमाले पंक्तिले प्रचण्ड वा माधव नेपाललाई मुख्य नेतृत्वका रूपमा स्वीकार गर्ने अवस्था नै छैन । ओली, प्रचण्ड र नेपालपछि दोस्रो तहका यस्ता नेताहरूसमेत कुनै पार्टीमा देखिँदैन ।

राष्ट्राध्यक्षको अनुभव, पार्टी विभाजनमा प्रत्यक्ष कारक नरहेकाले भण्डारीलाई माओवादी र एकीकृत समाजवादीका नेता–कार्यकर्ताले पनि अध्यक्षका रूपमा स्वीकार गर्न सक्छन् । उनमा मदन भण्डारीको विरासत पनि रहेको छ । ईश्वर पोखरेल र सुवास नेम्वाङ एकअर्कोलाई प्रतिस्पर्धी ठान्छन् । विष्णु पौडेल र शंकर पोखरेलबीच प्रतिस्पर्धा छँदैछ । त्यसैले अहिले ओलीको उत्तराधिकारी को बन्ने भन्न सकिने अवस्था छैन । भण्डारी अघि सर्दा आइपर्ने चुनौती बुझेरै ओलीले फायर खोलेको अहिले एमालेमा चर्चाको विषय बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *